~नीलम कार्की निहारिका~
२०५६ साल, मध्यरात भएको हुँदो हो । बाहिर ठूलो होहल्ला सुनियो । जुलुस नै आएजस्तो हिँडाइ । झ्यालढोका लगाएर सुतेकाहरू पनि राम्ररी निदाउन नसक्ने असुरक्षित समय थियो । कारण भूमिगत युद्धमा थियो देश । हाम्रो घर बर्दियाको सिताला बजारमा थियो । केही अघिसम्म अलि भित्री गाउँमा थियो । हामी बजारमा सरेको धेरै भएको थिएन । घरमा तलका दुई कोठा र त्यसमाथिका दुई कोठामात्र उभिएको थियो ।
सायद सुरक्षाकै कारण तलका कोठा बनाइनसकी सुत्नका निम्ति बाबाले माथिका कोठा बनाउनुभएको थियो । दाजु देवेन्द्र नेपालगन्ज अस्पतालमा चिकित्सक हुनुहुन्थ्यो, त्यहीँ बस्नुहुन्थ्यो । दिदीको विवाह भइसकेको थियो । उहाँ आफ्नो गृहस्थ जीवनमा हुनुहुन्थ्यो । म काठमाडौं बस्थेँ । रेडियोको करार जागिरे अनि मेडिकल कलेजमा स्टाफ नर्स । एमएडको विद्यार्थी पनि । चाडपर्व र विशेष समयमा मात्र पुग्ने गर्थें बर्दिया । त्यस वर्ष दसैं मनाउनका निम्ति घर गएकी थिएँ ।
रातको समय ठूलो होहल्ला अनि लडिया हिँडेको आवाज ! हामी भित्री, बाहिरी दुई कोठामा छरिएर सुतेका थियौं तर तत्काल एकै कोठामा भयौं । त्रासमा सबैको मुटुको धड्कन एकअर्काले सुन्न सक्ने गरी धड्किएको थियो । अड्कलेर सास फेरिरहेका थियौं । हल्ला हाम्रै घरअघि आएर रोकियो । मैले दाइको पाखुरा समाएँ ।
दाइले आफ्नो हात मेरो टाउकोमा राखेर धैर्य गर्न भन्नुभयो । आमा त्यसै त डराएर, कहालिएर चिच्याउनुहुन्थ्यो । दाइले आमालाई आवाज ननिकाल्न र शान्त बस्न भन्नुभयो । भूमिगत युद्धको समय, यसै पनि गाउँघरका रात त्रासमा बित्थ्यो । झन् दुई दिनअघि मात्रै बजारमा पर्चा छरिएको हल्ला चलेको थियो । त्यसले पनि त्रास थपिदियो ।
केही मान्छे मूल बाटो छाडेर हाम्रै घरतर्फ आएको स्पष्ट भयो । बुवामा उच्च रक्तचाप हुनाले लामो समयदेखि ओखतीमा हुनुहुन्थ्यो । उहाँलाई बढी तनाव हुनु खतरनाक हुनसक्थ्यो । उहाँ जहिल्यै मुटु हान्यो भन्नुहुन्थ्यो । त्यही समय कसैले हाम्रो ढोका हान्न थाल्यो ।
‘माटसाब ! डाक्टर साहब’, आवाज उच्च थियो ।
बुवाले भन्नुभयो- यी थारू हुन् । पर्दा उघारेर हेर्नुभयो, मैले पनि देखेँ लडियाहरू हाम्रो घरअघिको बाटोमा लस्करै थिए, मान्छे नै मान्छे । सबैका हातमा एक एक लौरा ।
फेरि पनि ढोका हाने । ‘जल्दी ढोका खोली हो, मरिज ल्याइल ।’
मलाई लाग्यो, यो ढोका खुलाउने बहाना हो । दाइ जान खोज्नुभयो । बुवाले रोकेर भन्नुभयो- म जान्छु । सुन्दै आएकी थिएँ, जनयुद्धमा डाक्टर र नर्सलाई पनि माओवादीले भिडन्तका बेला उपचारका निम्ति सँगै लिएर जान्छन् । सोचेँ- आज दाजुबहिनीलाई नै लिएर जाने भए ।
त्यही बेला बुवाले तलबाट बोलाउनुभयो- बाबु-नीलम तल आओ । लाग्यो बुवालाई माथि आउन पनि दिएनछन्, अब बुवालाई पनि सँगै लाने भए । आमामा पनि त्यही त्रास थियो । उहाँ त रुन लाग्नुभयो- नजा बाबु जाने होइन । मैले भनेँ, ‘जानु त पर्छ नत्र उनीहरू यहीँ आउँछन् । हजुरलाई पनि लिएर जान्छन् ।’
‘बाबु छिटो झर न’, बुवाले फेरि बोलाउनुभयो । हामी दाजुबहिनी एकअर्काको हात समातेर झर्यौं । सिँढी झर्दा लगलगी काँपिरहेका थिए खुट्टा ।
‘पल्लो गाउँमा डाँका लागेछ । डाँकाले काटेछ । सीमापारिबाट आएका डाँका र गाउँलेको भिडन्त भएछ… सटर खोल्नुपर्यो’, बुवाले भन्नुभयो ।
हाम्रो घरको तल एक कोठामा क्लिनिक थियो । एक सीएमए भाइले चलाउँथे । दाइ हप्तामा दुईपटक गाउँको बिरामी जाँच्न नेपालगन्जबाट आउनुहुन्थ्यो । क्लिनिक सुरु भएको पनि धेरै भएको थिएन । सटरको चाबी हामीकहाँ नै हुन्थ्यो । ढोका खोलियो । अर्को कोठा खाली थियो, त्यो पनि खोलियो ।
त्यो खाली कोठा र आँगन घाइतेले भरिए । लडियामात्र होइन खटियामा पनि बोकेर ल्याइएको रहेछ बिरामी । प्राथमिक उपचारसम्म नगरी अन्त लौजाऊ भन्न मिल्ने अवस्था पनि थिएन । तर, राखेर उपचार गर्नु सहज पनि थिएन । हामीले लडियामै गएर बिरामी हेर्यौं । सर्सती जाँचेपछि प्राथमिकताका आधारमा दाजुबहिनीले घाउमा टाँका लाउन थाल्यौं । बुवाले क्लिनिकको भाइलाई पनि लिन पठाउनुभएछ । बिजुली थिएन । लाल्टिन र मैनबत्तीको उज्यालोमा रातभरि घाइतेको उपचारमा तल्लीन भयौं ।
त्यो खाली कोठा र आँगन घाइतेले भरिए । लडियामात्र होइन खटियामा पनि बोकेर ल्याइएको रहेछ बिरामी । प्राथमिक उपचारसम्म नगरी अन्त लौजाऊ भन्न मिल्ने अवस्था पनि थिएन । तर, राखेर उपचार गर्न सहज पनि थिएन ।
बिहान भयो । दाजुले अस्पतालमा भर्ना गर्नुपर्नेजस्ता बिरामीलाई अस्पताल लैजान भन्नुभयो । मानिसहरू भन्न थाले, ‘डाक्टर साहेब नै यहीँ हुनुहुन्छ… क्या करी अस्पताल जाके ? ‘ तर पनि सम्झाएर दुईजनालाई नेपालगन्ज लैजानका लागि मनाइयो । यसै पनि फाट्टफुट्ट बस चल्ने सडकमा दसैंको दिन त झन् बस चल्ने कुरै थिएन । सजिलो थिएन बिरामी लैजान । लडियामा लैजान निकै समय लाग्थ्यो ।
दसैंको दिन । होटलहरू बन्द थिए । हामी दाजुबहिनी बिरामीको स्याहारमै व्यस्त थियौं । बुवा भने सबैको खानाको बन्दोबस्ततिर लाग्नुभयो । बिरामीहरू हाम्रा लागि अपरिचित भए पनि उहाँहरू बुवाको परिचित हुनुहुन्थ्यो । त्यस हिसाबले खानाको बन्दोबस्त गर्नु बुवाको कर्तव्य थियो । करेसाबारीमा चुलो बन्यो । भान्छे भने स्वयं घाइते लिएर आउने मानिसहरू भए ।
आमाले टीका लाउने सामान ठिक्क पार्नुभएको थियो । हामी हतारहतार टीका थाप्न बस्यांै । आफूले टीका लाइदिने बेला दाइले भन्नुभयो, ‘तँ अब एमएड सक्नासाथ यतै आइज । काठमाडौं नबस । सँगै अस्पतालमा काम गरूँला । शुक्रबार शनिबार गाउँगाउँमा गएर स्वास्थ्य शिविर चलाऊँला । हेर् गाउँको सेवामा कति आनन्द छ ।’ उहाँले जिल्लाका केही स्थानमा त्यसरी काम गर्न सुरु गरिसक्नुभएको पनि थियो । डा. देवेन्द्र कार्की भनेपछि नेपालगन्ज बर्दियामा छोटो समयमै अति प्रिय डाक्टर भइसक्नुभएको थियो ।
दाजु अति राम्रो चिकित्सक हुनुहुन्थ्यो । उहाँ विदेशमा काम गर्ने अफर अस्वीकार गर्दै नेपाल आमाको सेवा गर्छु भन्दै नेपाल फर्कनुभएको थियो । उहाँले गर्नुभएको रिसर्चको सिलसिलामा छापिएको अन्तर्वार्तामा यो कुरा पनि थियो ।
दाजुको प्रस्तावमा स्वीकृति जनाएँ । स्वीकृतिमात्र जनाइनँ, मनमा निश्चय नै गरेँ, गाउँ आएर मानिसहरूको सेवा गर्छु ।
पूर्णिमाको भोलिपल्ट काठमाडौं गएकी थिएँ । तिहारमा घर जान काम गर्ने अस्पतालबाट मलाई बिदा मिलेन । सदाका लागि दाजुसँगै काम गर्न जान्छु भनी काम गर्ने अस्पतालमा राजीनामा दिएँ । एमएड दोस्रो वर्षको परीक्षासम्मको मात्र प्रतीक्षा थियो । तर, दाइले मेरो प्रतीक्षा गर्नुभएन । सँगै काम गर्ने त्यो इच्छा पूरा हुन सकेन । त्यही वर्ष पुसको महिना दाजुले यो संसार नै छाडेर जानुभयो ।
मोटर दुर्घटनाले दाजुसँगै बुवालाई पनि लिएर गयो ।
दसैँमा बिरामी सुताएको आँगनमा दाजु र बुवालाई सुताइएको थियो । ठूलो भीड थियो । दुई महिनाअघि हामीले उपचार गरेकाहरू छाती पिटी पिटी रोइरहेका थिए ।
त्यही सटरमा किरिया बसेँ ।
काठमाडौं फर्केपछि गाउँ फर्किन सकिनँ । सेतो एप्रोन देख्न सक्थिनँ, अस्पताल टेक्न सक्थिनँ, नर्सिङ पेसा पुनः अँगाल्न सकिनँ । दाजुसँग जोडिएका यादबाट भाग्दैभाग्दै हिँडेँ । हो, बाँच्ने आआफ्नै तरिका हुन्छन् । म अति प्रियको वियोगमा यादसँग भागेर बाँचे ।
दाजु र बुवाबाट टीका आशीष ग्रहण गरेको अन्तिम दसैं थियो त्यो । त्यसपछिका दसैं भन्नु फगत रातो टीका र पहेँलो जमरा भएको छ ।
शनिवार, असोज १५, २०७३
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)