~डा. कपिलदेव लामिछाने~
२०४८-२०४९ तिर
“हजुर मलाई जसरी पनि जागिर चाहियो ।”
“पैसा लाग्छ ।”
“कति ?”
“देऊ दुई लाख ।”
“दुई लाख ?”
“के त ? एक महिनाको कमाइ त हो नि !”
“कोई बात छैन ।”
२०६०-२०६१ तिर
“हजुर, मेरो राजिनामा स्वीकृत गरिदिनु पर्यो ।”
“देशलाई खाँचो परेको बेलामा, हुन्न ।”
“जीवनको सवाल छ सर ! स्वीकृत गरिदिनै पर्यो ।”
“पैसा लाग्छ ।”
“कति ?”
“दस लाख ।”
“दस लाख ?”
“के त जीवनभन्दा बढी छैन क्यारे !”
“हस सर, कोई बात छैन ।”
२०६३ वैशाख पछि
“हजुर, मलाई पुनः बहाली गरिदिनु पर्यो ।”
“तिमीले राजिनामा दिएका थियौ ! काँ हुन्छ ?”
“पुनः बहालीको जमाना छ सर ! सबै कुराको पुनः बहाली भइरा’छ । मैले आफ्नो खुसीले छाडेको हुँ र ?”
“तिमी भगौडा हौ ! हुन्न । देशघाती ! पुनः बहाली गर्नै मिल्दैन ।”
“… लिन्या दिन्या दुबै देशघाती हुन् रे सर !…म धेरै जान्दिन । मलाई पुनः बहाली चाहियो ।”
“ल ल धेरै बकबक गर्ने होइन । एउटा निवेदन दिएर जानुहोस् । म हेरौँला ।
डा. कपिल लामिछाने,
भैरहवा ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )