~सञ्जु शिल्पकार~
‘लू’ नयनराज पाण्डेद्वारा लिखित उपन्यास साहित्य साहित्यकै निम्ति लेख्नेहरूको भीडमा ‘लू’ एउटा पृथक परिचय बोकेको उपन्यासभन्दा फरक नपर्ला।
पात्रहरूको सजीव चित्रण र पाठकसँगको भावनाको साइनो जोड्ने कार्यमा लेखक सफल भएका छन्। अभावले चेतना र बुझाइमा तुवाँलोको पर्दा लगाइदिन्छ भन्दा अतिशयोक्ति नहोला। बजरङ्गी त्यस्तै एउटा पात्रको रुपमा पाठकको आँखामा आउँछ। अभाव, गरिबीको भुमरीले मान्छेलाई गलत कार्य गर्न उक्साउन त उक्साउँछ तर गरिबको मन सबैभन्दा बढी विद्रोही पनि हुन्छ। आफ्नो गल्तीलाई महसुस गरेर बजरङ्गीले ‘दिर्जीकामा जान्छु, कट्टु सिलाउन’ भनेको छ। देशलाई माया गर्ने प्रत्येक नेपालीले भारतीय हस्तक्षेपको विरुद्ध बोलिएका यी शब्दहरूलाई अवश्य नै आत्मसात गर्छन्। भारतको निम्ति उसको झण्डा उसको सान मान्नेले नेपालको अस्तित्वमा कुल्चिने आँट गरेको छ। हाम्रो अस्मितालाई नस्वीकार्ने भारतको पाखण्डलाई यस उपन्यासले उजागर गरेको छ।
नेपालीलाई नेपालकै सीमाभित्र, आफ्नै माटोमा एसएसबीका जवानले पिट्छ भन्दा आलीसान महलमा बस्नेहरूले त्यो पीडाबोध गर्न कहाँ पो सक्लान् र? जुत्ता लगाउनेलाई थाहा हुन्छ जुत्ताले कहाँ पोल्छ? बजरङ्गीको कट्टु लगाएको अवस्था पढ्दै गर्दा सोचाइमा प्रश्न मडारिरहेथ्यो ‘त्यो दिन भारतलाई सह्य होला? जुन दिन प्रत्येक देशभक्त नेपालीले तिनको झण्डाको कट्टु बनाउँछन्।
‘लु’ मात्र सीमा नजिकका नेपालीहरूको पीडा समेटेको उपन्यास भनेर विचारको साँगुरो दायरामा सीमित गर्नु सम्पूर्ण देशभक्त नेपालीहरूको अनादर गर्नुसरह हुन्छ। चाहे हिमाल होस् या पहाड या तराई देशलाई दुख्दा सबैको मन दुख्नुपर्छ। तराईको पीडा शीतल पार्न हिमाल झुक्नुपर्दा पहाड जुट्नुपर्छ।
हिमाल कठ्याङ्ग्रिदा तराई उठ्नुपर्छ !
शरीरको कुनै अङ्गमा चिमोट्दा पूरा शरीरलाई दुख्छ। हो, देश पनि एक ठाउँमा दुख्दा पूरा देश दुख्छ।
हामी अझै पनि चुप छांै। मौन छौं। आजको मितिमा पनि अरु धेरै नुसरतहरूको अस्मिता लुटिंदै छर पनि हामी मौन छौं। नुसरतमात्र एउटी पात्र होइनन् नेपाल आमाकै प्रतिनिधित्व गरेकी छिन्। हाम्री आमालाई दिनदहाडै भारतीय फौज लुट्दै छन् र पनि देश हाँक्नेहरू आनन्दको निद्रामा छन्। छि ! …….. कस्तो विवेकशून्य प्राणीहरू !
नेपालीहरू आफ्नै आँगनमा त्रसित भएर बाँच्न विवस भएको विवशताको चित्रण एकदम मार्मिक छ र लेखक प्रत्येक पाठकको मनमा आक्रोश र प्रतिशोधको भावना पैदा गर्न पनि सफल भएका छन्। बजरङ्गीलाई कठालो समाएर ‘भारत माताकी जयभन्न लाउँदा उसको लाचार ‘जय ………’ शब्दको प्रतिध्वनि कतै आफ्नै कानमा ठोक्किएर हाम्रो देशभक्तिमा भद्दा व्यङ्ग्य गरेझैं लाग्छ।
प्रकृतिको ‘लू’ भन्दा पनि असह्य दनदनी बलिरहेको अपमान र आफ्नै माटोमा प्रवासी हुनुको पीडाको ‘लू’ शासक वर्गलाई किन लाग्दैन?
नेपाली–नेपालीबीचको भावनामा आघात पुर्याउने काम नेपालीबीचको सामाजिक सद्भाव खलबल्याउने काम भारत गर्न चाहन्छ र गरिरहेको छ। बाघचाल खेल्दैछ भारत प्रत्येक नेपालीहरूको जीवनमा। यद्यपि अघिसम्म आफ्ना बन्दागोभी बाख्राले खाएको झोंकमा शिवकुमारी रजियामाथि जाइलागे पनि उनका यी शब्दहरू रजियालाई मात्र जोगाइरहेका थिएनन्। यिनमा हामी नेपालीहरूको आपसको आत्मीयता असरल्ल छचल्किन्छ। तिनका शब्द थिए, ‘मुसलमान भए पनि यिनीहरू खराब छैनन्। यिनीहरू खराब काम गर्दैनन्। यसलाई केही नगर। अझै पनि नेपालीबीचको एकता यसरी कायम गर्नु छ।
भारतीय गुण्डाहरूको आतङ्ककै बीचमा कट्टर भनिएका टुटे पण्डित मुसलमान छिमेकीहरू जोगाउन तल्लीन रहेन ‘लू’ को घटना भारतीय विस्तारवादलाई झापड ठहर्याउँदा अतिरञ्जना अवश्य हुन्न।
प्रत्येक पाठकको मन चसस्क बिझाउँछ र बिझाउनुपर्छ। टुटे पण्डितले गाउँ छाड्दै गरेको छिमेकीलाई बिदाइ गर्दा गुनेका शब्दहरूले गाउँ उधि्रदै छ। विस्तारै विस्तारै ………..पुरानो स्वीटरजस्तै।
तर होइन ‘हामी नेपालीले हाम्रो देश र हामीबीचको सद्भावलाई उध्रन दिनुछैन।
रेडियोलाल, शम्भुराम अमरपाल सिंहजस्ता पात्रहरू हाम्रो देशका शासनमा बसेका मध्ये हुन् भन्ने कुरा जानकार सबैले बुझेकै कुरा हो।
यथार्थपरक ‘लू’ ले नेपाली साहित्याकासमा आफ्नो विशिष्ट स्थान बनाएको छ।
अभाव, गरिबी, भोकमरीले ग्रस्त पत्थरपुरवाका जनतामाझ व्याप्त अन्धविश्वासमाथि पनि लेखकले न्याय गरेका छन्। उल्लु कराउनु, चमेराको सपना देख्नु, जेठमा पाँचवटा आइतबार पर्नु अन्धविश्वासको प्रतीकमात्र नभई सटिक भारतीय विस्तारवादलाई जनाउने प्रतीकजस्तो पनि लाग्छ।
यस्तै अमानवीय, आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसितको युगौंदेखिको सङ्घर्षबीच पनि इलैया, बजरङ्गी, बृजलालको मित्रता चुलिएको छ। नुसरत र अनवरको सुकोमल प्रेमलाई जस्तै साम्प्रदायिक स्थितिमा एकगठ भएको सामाजिक सद्भावले बचाएको छ।
एकाध र घटनामा व्यक्त भएका शब्दहरू अश्लीलताभन्दा पनि घटनालाई स्पष्ट पार्न आवश्यक परिस्थितिजन्य कुराभन्दा फरक नपर्ला।
तर ‘लू’ काठमाडौं खाल्डोलाई मात्र साहित्य र साहित्यिक विषय केन्द्र भन्ने कथित ठूला लेखकहरूको निम्ति गतिलो उत्तर हुनसक्छ।
साहित्यले ठूलाको, हुनेखानेको स्तुतीगान भजाउने समयमा लेखक नयनराज पाण्डेले अभाव र सङ्घर्षको कथा उन्नुभएकोमा धेरै धेरै साधुवाद !
(स्रोत : मजदुर दैनिक)