संस्मरण : चाइना कम्पनी

~सरुभक्त~Sarubhakta

गीतका अनेक परिभाषा होलान्, तर मलाई विद्यार्थीकालमा पीबी शेलीले ‘अड् टु स्काइलार्क’मा अभिव्यक्त गरेको एउटा परिभाषाजन्य वाक्य साह्रै सुन्दर लाग्थ्यो- आवर स्विटेस्ट संग्स आर दोज् द्याट टेल अफ् स्याडेस्ट थट । यो विक्रमाब्द तीस-चालीस दशकको कुरा थियो, पोखराको पीएन क्याम्पसदेखि कीर्तिपुर क्याम्पससम्म विस्तारित । म सरोजगोपाल, अरुण थापा, किरण थापा, विनोद गौचन, विक्रम गुरुङहरूको संगतमा थिएँ ।

कहिलेकाहीँ नाटकको प्रयोजनका लागि र त्यत्तिकै पनि गीत रच्थेँ । गीतरचना मेरो प्राथमिकतामा थिएन ।
कविता, नाटक र रंगकर्म – मेरो प्राथमिकतामा पर्थे । धेरै व्यस्तताबीच थकाइ मार्नझैं गीत रच्ने भएको हुनाले म आफूलाई मध्यान्तरको गीतकार सम्झन्थेँ । पचासको दशकमा ‘स्पेसटाइम’ पत्रिकाको लागि राजकुमार बानियाँसित वार्ता गर्दा मैले पहिलोपल्ट आफ्नो लागि यी शब्दावली प्रयोग गरेको थिएँ । मलाई लाग्छ, अहिले पनि म ‘मध्यान्तरको गीतकार’ हुँ । म गीत रचना गर्न असाध्य रुचाउँछु तर त्यस महान् विधामा गम्भीर हुन नसक्नु मेरो कमजोरी हो ।

तीसको दशकमा मेरा गीतहरू शेलीले परिभाषित गरेझैं दुःखद् विचारयुक्त हुन्थे । ‘एक युगपछिको तिम्रो स्मृति’, ‘छाती चिरी देखाउन सस्तो सस्तो लाग्छ’, ‘कुरूप अनुहार हो’, ‘अजम्मरी माया गर्छु भन्नेहरू हो’, ‘तिमीलाई भनी साँचेको मालाबाट फूलहरू मुर्झाएर झर्न थालेछन्’ आदि । त्यसबेलाका कति गीतहरू गीतकार, संगीतकार, विक्रम गुरुङको संगीतमा पोखरातिर गाइए, तर रेडियो नेपालसम्म पुग्न सकेनन्, म आफ्नो प्राथमिकताका विधाहरूमा बढी सक्रिय पनि भएँ ।

यहीबीच २०५५ सालमा म विक्रम गुरुङ, तीर्थ श्रेष्ठ र अनील रञ्जितकारका साथ पोखराको निकटवर्ती लेकाली क्षेत्र पञ्चासेको यात्रामा गएँ । मंसिरको महिना, असाध्य चिसो लेकाली परिवेशमा मलाई लोकलयात्मक गीतहरू रचना गर्ने प्रेरणा जाग्यो । मैले केही गीतहरू तातो, कालो चियाको बाफमा मिसाएर खरखर्ती रचेँ अनि साथीहरू र पञ्चासे भन्ज्याङका दिदीबहिनीहरूलाई सुनाएँ ।

त्यसै वर्ष संरक्षण कविता आन्दोलन आरम्भ भयो । संरक्षण कवितायात्रा तीन वर्ष पहिलेदेखि चलिरहेकै थियो । कविताको खोजी गर्न अन्नपूर्ण बेस क्याम्पदेखि मुक्तिनाथसम्मको यात्रा गर्दा लोकजीवनका भाखाहरू टिपिए । गीतहरू थुप्रै रचिए । तर म मध्यान्तरको गीतकार- मध्यान्तरमै अल्मलिरहेँ ।

एकदिन ‘नेपथ्य’का गायक अमृत गुरुङ गीत खोज्दै मकहाँ आए । उनले मेरो कापीका पानाबाट केही गीत टिपे । अर्कैै एकदिन ‘कन्दरा’का गायक विवेक श्रेष्ठ र संगीतकार सुनील थापा गीतको खोजी गर्दै मकहाँ आए । केही गीत टिपेर गए । त्यसैगरी ‘परिवेश’ र ‘ब्रोसिस’ ब्यान्डका भाइहरू पनि आए । मैले मेरा गीतका कापीहरू पल्टाएँ । उनीहरूले इच्छिन गीतहरू टिपे ।

नेपथ्यका अमृत गुरुङले पहिले गाए- ‘सुरुमा रानीको आँसुको कसम सुनी र नीरमाया’, ‘पानी घट्टैमा’, । त्यसपछि उनले ‘लामपाते सुरती’ पनि गाए ।

नेपथ्यले मेरा गीत गाएपछि कन्दराले गायो – ‘हङकङ पोखरा’, ‘रातै बिझायो, दिनै बिझायो’ ।

त्यसपछि ‘परवेश’ले गायो – भोटे ताल्चा । यही क्रममा ब्रोसिस ब्यान्डले गायो – चाइना कम्पनी ।

सौभाग्यले गीतहरू सबै चर्चित भए । पोखराबाहिर केहीले गीतकार भनी मलाई चिन्न थाले । त्यसपछि अरूले पनि मेरा गीतहरू गाउन थाले ।

अब ‘चाइना कम्पनी’का गीतसम्बन्धी कुरा ।

एकदिन पत्रकार यज्ञशले मलाई फोन गरे ।

• दाइ, चाइना कम्पनी गीत कति लोकप्रिय छ, तपाईंलाई थाहा छ ? उनले अचानक झैं सोधे ।
• अहँ, थाहा भएन भाइ । मैले जवाफ दिएँ ।
• यो गीत हामी बारम्बार सुन्छौं । यो गीत हामीलाई नेपाली गीतहरूमा फरक लाग्छ, त्यसैले त्यसबारे कुरा गर्न पोखरा आउँछौं । यज्ञशले बहुवचनमा कुरा गरे ।
• हुन्छ भाइ, आउनोस्- मैले भनेँ अनि आफैं दंग परेँ – के यज्ञशले भनेको सत्य हो ?
यज्ञशका साथ नारायण अमृत आए । मैले चाइना कम्पनी गीत लेख्नुको पृष्ठभूमिहरू सम्झेँ उसलाई उनीहरूले महत्त्वका साथ ब्रोडसिट पत्रिकामा प्रकाशित गरे ।

समयको अन्तराल धेरै भइसक्यो । यज्ञशलेझैं आकस्मिक रूपले केही दिनअघि दीपक सापकोटाले फोन गरी भने – ‘दाइ म चाइना कम्पनी गीतलाई दिनदिनैजस्तो सुन्छु । साह्रै मनपर्छ । यो गीतको अन्तर्कथा लेख्नुपर्‌यो ।’

‘के लेख्नु र भाइ ? ‘ मैले बच्ने बाटो सोचेँ । तर दीपकले छोडेनन् । उनले बारम्बार सम्झाए ।

सम्झँदा – अकस्मात् करिब तीन वर्ष पहिलेको एउटा घटना दिमागको घुक्यो । लेखक-चलचित्र निर्देशक प्रकाश सायमीभाइमार्फत मलाई सुमन खरेलको फोन आयो । उनी त्यसबेला ‘बीबीसी नेपाली’ सेवामा कार्यरत थिए ।

दाइ, हामीले बीबीसीमा ‘एउटा कथा जिन्दगीको’ नाउँमा एउटा गीतिकथावाचान शृंखला सुरु गरेका छौं ।

तपाईंले आगामी एउटा शृंखला लेखिदिनुपर्‌यो ।’ सुमन खरेलले आग्रह गरे ।’

सम्झनु भएकोमा धन्यवाद छ भाइ, तर मैले यस्तो कहिल्यै पनि लेखेको छैन ।’

मैले यथार्थ भनी बच्न चाहेँ ।
‘मेरो अनुरोध छ, अहिले लेखिदिनुहोस् ।’ सुमन खरेलले आग्रह गरे । म सोचमग्न भएँ – के कथा लेख्ने होला । अकस्मात् मलाई चाइना कम्पनी गीतको सम्झना भयो ।

-महिनौंसम्म माओ पोसाक लाएका चिनियाँहरू देख्दा, बेतोडले घुइँकिने ट्रक डम्फरका आवाज सुन्दा, गिट्टीबालुवा ढुंगासित आफ्ना सपना साट्ने मैलाधैला ज्यामी-मजदुरहरू देख्दा एकदिन अनायास मलाई चाइना कम्पनी शब्दवालीको सम्झना आयो ।

मैले यही गीतको परिवेशमा गीतिकथा लेखेँ । सुमन खरेल पोखरा आए । अन्नपूर्ण रेडियोमा यो गीतिकथा स्वाराड्ढन गर्ने कुरा भयो । म गीतिकथा ‘चाइना कम्पनी’ बोकेर अन्नपूर्ण रेडियो स्टेसन पुगेँ ।
‘सुमन भाइ यो गीतिकथा कस्ले भन्ने त ? ‘

मैले यताउती हेरी, कथा भन्लाजस्तो मान्छे कोही नदेखेपछि सोधें ।

‘तपाईंले नै भन्ने दाइ ।’ सुमन खरेलले भने ।

‘होइन मलाई आउँदैन कथा भन्न . . . अभ्यास नै छैन ।’ म आत्तिएँ ।

‘तपाईं भन्न सक्नुहुन्छ । तपाईंले नै भन्नुपर्छ ।’ सुमनले जोड लाए । अब परेन फसाद ! माकुरा आफैं आफ्नो जालमा फसेझैं गीतिकथा लेखेर आफैं परिबन्दमा परेजस्तो मलाई अनुभूति भयो ।

तर भाग्ने बाटो कतै थिएन । मैले लुरुक्क आत्मसमर्पण गरेँ अनि वर्षौं पहिले गरेका रंगकर्महरूलाई सम्झेँ ।
खरर्र गीतिकथा वाचन गरेँ । स्वर लडखडायो । तर सुमन खरेल र साथमा बसेका अन्नपूर्ण रेडियोका स्टेसन मेनेजर दीपेन्द्र श्रेष्ठले ‘राम्रो भयो दाइ’ भनी हौस्याए ।

पछि बीबीसी रेडियोमा आफ्नो एकमात्र गीति कथा आफ्नै आवाजमा सुनेँ । विचित्र तर अविस्मरणीय लाग्यो । अहिले बुझ्ने कोसिस गर्दैछु – गीतिकथा लेख्दा मैले चाइना कम्पनी नै किन रोजेँ ?

मेरो चेतन – अचेतन मनमा चाइना कम्पनी नै किन बस्यो र मैले गीतको परिवेशमा म्याग्दी सिरवाधारादेखि पोखरा, पोखरादेखि तराई रापती किनारासम्मको दुखान्त कथा बुनेः अहिले मलाई महसुस हुँदैछ, मैले भविष्यमा चाइना कम्पनीको सुखान्त गीतिकथा बुन्नु आवश्यक छ, कारण चाइना कम्पनी रचना गर्दा कुनै दुःखान्त कथावस्तु थिएन । मेरो मानसपटलमा ज्यामी काम गर्नेहरूको, मजदुरीको काम गर्नेहरूको एक मौन प्रेमकथा थियो, त्यसैले मैले गीतको आरम्भ आधुनिक-अत्याधुनिक नलाग्ने शब्दहरूमा यसरी गरेको थिएँ:

नबोले नि माया लाग्ने रै’छ सान्ननी
दिलको कसम दिलैमा, नत्र ज्यान जानी
चाइना कम्पनी, चाइना कम्पनी ।
पूर्वदीप्ति

म विद्यार्थीकाल, विशेषगरी क्याम्पसकालमा आधुनिक प्रयोगवादी साहित्यमा बढी रुचिराख्थेँ । म जन्मे-हुर्केको परिवेश ग्रामीण थियो, त्यसैले बाल्यकालदेखि ग्रामीण लवजहरू र लोकजनजीवनका कथा, नाटक र गीतहरूद्वारा आकृष्ट हुन्थेँ । मेरो प्रारम्भिक नाटक ग्रामीण नै थिए । म प्राप्त भएसम्म लोक साहित्यसम्बन्धी ग्रन्थहरू पनि अध्ययन गर्थें । यिनै लोकसाहित्यिक ग्रन्थ अध्ययन गर्ने क्रममा मैले कुनै पुरानो लोकगीतमा ‘चाइना कम्पनी’ शब्दावली प्रयोग भएको पढेको थिएँ ।

मलाई यी शब्दावली याद हुनुको कारण सायद यसको नयाँपन नै थियो । नेपाली लोकगीतहरूमा थेगोको रूपमा प्रयुक्त शब्दावलीभन्दा यी शब्दावली भिन्न थिए । मैले सुनेको थिइनँ । हाम्रा गीत र अन्य साहित्यमा भारततिर मुग्लानीले वा भोटतिर जाने कथा हुन्थे । चीन टाढा लाग्थ्यो ।

समयक्रममा ‘चाइना कम्पनी’ शब्दावली कतै प्रयोग गर्ने मसित कुनै योजना थिएन । पढेका धेरै कुरा बिर्सेझैं मैले यी शब्दावलीलाई पनि बिर्सिदिएँ । तीसको दशक लागेपछि पोखरामा चिनियाँहरूले सेती खोलामा बाँध बाँधी सिँचाइको लागि नहर निकाल्ने भन्ने हल्ला चल्यो । हल्लासँगै सेतीखोलाको चिसो र कमेरोयुक्त पानीले राम्ररी सिँचाई हुनसक्ने÷नसक्ने बहस पनि चल्यो । केही दिनमा एकैनासका चिनियाँ लुगा लगाउने मानिसहरू पनि देखा पर्न थाले । त्यसका साथै पोखराको जौवारी निकट सेतीखोलामा, जहाँ हेम्जानिरबाट याम्दी खोला आई मिसिन्छ, चिनियाँहरूले नहरका लागि बाँध बाँध्ने काम सुरु गरे । त्यही सेतीखोलापारि दीपमा सुरुङ खन्ने काम पनि सुरु गरे ।

चिनियाँहरूले नहर निर्माणको काम थालेपछि पोखरेलीहरूमा उत्सुकताजन्य उत्साहको नहर चल्यो । नहर निर्माणमा चिनियाँहरूका साथ सयौं नेपाली ज्यामी – मजदुरहरू काम गर्थे । कोही गिटी फोडिरहेका हुन्थे, कोही ढुंगा, बालुवा ओसारिरहेका हुन्थे । दिनभर बाटोमा दर्जनौं ट्रक – डम्फरहरू चल्थे ।

मैले आफ्नो आँखाले प्रत्यक्ष देखेको त्यो पहिलो ठूलो भौतिक निर्माणकार्य थियो, त्यसैले त्यसमा मलाई प्रशस्त चासो थियो । निर्माणस्थल मेरो घरको नजिकै थियो । म सयौं अरू पोखरेलीहरूझैं जौवारी पुगी, सेतीखोलाको डिलमा साथीहरूसित गफिई निर्माणकार्यको रमिता हेर्थें । त्यहाँ मेला लागेजस्तै हुन्थ्यो ।

महिनौंसम्म माओ पोसाक लाएका चिनियाँहरू देख्दा, बेतोडले घुइकिने ट्रक डम्फरका आवाज सुन्दा, गिटीबालुवा ढुंगासित आफ्ना सपना साट्ने मैलाधैला ज्यामी-मजदुरहरू देख्दा एकदिन अनायास मलाई चाइना कम्पनी शब्दवलीको सम्झना आयो ।

मैले सोचेँ-ती नेपाली ज्यामी मजदुरका यथार्थ सपना कस्ता होलान् ? तिनका जीवनप्रतिका दृष्टि र भविष्यप्रतिका चिन्तन कस्ता होलान् त ?

ज्यामीका कथा ज्यामी भएरै बुझ्न सकिन्छ । मजदुरका कथा मजदुर भएरै बुझ्न सकिन्छ । मेरो अन्तस्करणमा प्रतिध्वनित भयो । र, एकदिन मैले आँट गरेर कलम समाएँ ।

माया भए डम्फरै चढी जाऊँ
बाँचौं सँगै नभए मरी जाऊँ
मेरो माया भन्दामा कस्तो छ
गिट्टी अनि बालुवा जस्तो छ
चाइना कम्पनी
चाइना कम्पनी

चाइना कम्पनी गीत ब्रोसिका दीपक रानाले गाए । गीत त्यसै समय लोकप्रिय भयो । यज्ञश र दीपक सापकोटाहरूका विश्वासमा यो गीत अझैं लोकप्रिय बन्दै जाने विश्वास गर्न सकिन्छ । मलाई लाग्छ, चाइना कम्पनी नेपालमा सर्वसाधारण जनताको गीत हो । सर्वसाधारणहरूको गीतमा नारा हुनुपर्दैन, सपना भए पुग्छ । यही रूपमा मलाई यो गीत प्रिय छ । अरूलाई प्रिय लाग्नुको कारण पनि यस्तै हुनसक्छ । नेपालमा धेरै महान गीतकारहरूले धेरै महान् गीत रचना गरेका छन् तर सर्वसाधारण जनताका गीत थोरैले मात्र रचना गरेका छन् । जनताका गीतकार भन्नेहरूले पनि आफ्नै लागि धेरै र वास्तविक जनताका लागि थोरै गीत रचना गर्न सकेका छन् ।

यस परिप्र्रेक्ष्यमा म मध्यान्तरको सानो गीतकार- आफूलाई मध्यतिरै कतै सानो ठाउँमा खोज्छु र चाइना कम्पनीजस्ता गीत रचेर खुसी हुन्छु । कति ठूला साहित्यकार र शुभचिन्तकले अक्सर मलाई ‘चाइना कम्पनी’, ‘हङकङ पोखरा’ जस्ता गीत नरच्न सल्लाह दिन्छन् । उनीहरूका शुभचिन्तनमा यस्ता सामान्य गीत रचना गर्न मलाई सुहाउँदैन ।

यस्ता प्रतिक्रिया म मेरा साहित्यका पाठकहरूबाट पनि पाउँछु । एकपल्ट संरक्षण कवितायात्राको क्रममा एउटा गाउँमा पुग्दा एक पाठकले सोधे- ‘के पागल बस्ती र तरुनी खेती उपन्यासका लेखक तपाईं नै हुनुहुन्छ ? ‘
‘हो, . . . म नै हुँ ।’ मैले मुस्कुराउँदै भनेँ ।

‘अनि चाइना कम्पनी र हङकङ पोखरा भन्ने गीत लेख्ने सरुभक्त पनि तपाईं नै हो ? ‘ उनले सोधे ।

‘हो भाइ, म नै हुँ ।’ मैले भने ।

‘मलाई साह्रै खुसी लाग्यो । कसरी तपाईंले यी भिन्न प्रकृतिका कुरा लेख्न सक्नुभयो ? ‘ उनका आँखा श्रद्धा र प्रशंसात्मक भावले विस्तारित भए ।

तर यस्तै एउटा साहित्यिक यात्राको क्रममा एक कविभाइले मलाई एउटा भिन्न संस्मरण सुनाए- ‘दाइ, मलाई एकजना मित्रले पागलबस्ती लेख्ने सरुभक्त र हङकङ पोखरा, चाइना कम्पनी गीत लेख्ने सरुभक्त एकैजना हुन् भन्ने सोधे । मैले एकैजना हुन् र म व्यक्तिगत रूपले चिन्छुभन्दा उनले पत्याएनन् अनि भने – त्यसो भए खत्तम भएछन् । पागल बस्ती लेख्नेले यस्ता सामान्य गीत कसरी लेख्नु सक्छन् । स्तर गिरेछ ।’

कवि भाइले मित्रको कुरा अक्षरशः सुनाएपछि आफूले त्यसरी सोच्न नहुने भनी सम्झाउन चाहेको तर सफल हुन नसकेको कुरा पनि थपे ।

म हाँसेँमात्र । र यसरी म विगत धेरै वर्षदेखि हाँसिरहेको छु । मेरा गीतहरूमा नकारात्मक प्रतिक्रिया दिनेहरूप्रति मेरो कुनै गुनासो छैन । म साँच्चै नै सर्वसाधारण जनताले आफ्नो सम्झने ‘चाइना कम्पनी’, ‘हङकङ पोखरा’ जस्ता गीतहरू रचेर खुसी अनुभव गरिरहेको छु ।

सन्दर्भ ‘चाइना कम्पनी’को छ । मलाई सम्झना भयो । यो गीतका शब्दहरू सारेपछि ब्रोसिसका एकजना भाइले संकोचपूर्वक भने – ‘दाइ, यो गीतका एक हरफ कस्तो कस्तो लाग्यो, फेर्र्न पाए हुन्थ्यो ।

‘कुन हरफ भाइ ? ‘ मैले सोधेँ ।

‘गिट्टी अनि बालुवाजस्तो छ भन्ने ।’ गीतमा गिट्टी-बालुवाको कुरा कस्तो कस्तो लाग्यो ।’ उनले भने ।
‘यो गिट्टी र बालुवासित काम गर्नेहरूको कथा हो त्यसैले फेर्न मिल्दैन भाइ । यो गीतको विशेषता यसैमा छ । गिट्टी र बालुवाभन्दा मान्छेहरूलाई सामान्य कुरा गरेजस्तो लाग्छ तर यी बिना कुनै बलिया भवन र संरचना बन्न सक्दैनन् । त्यसैले देशको आधार सर्वसाधारण जनता भएझैं निर्माणका आधार गिट्टी र बालुवा हुन् ।’

मैले केही विस्तारपूर्वक बुझाउने कोसिस गरेँ । भाइले बुझेजस्तो गरी टाउको हल्लाए तर त्यत्ति सन्तुष्ट देखिएनन् । मलाई थाहा थियो त्यस भाइले पूरै ब्रोसिसको मनोभाव व्यक्त गरिरहेका थिए ।

गीत बजारमा आएपछि भाइहरू सधन्यवाद मलाई भेट्न आए अनि भने- ‘दाइ हामीले गिट्टी र बालुवाको अर्थ राम्ररी बुझेका थिएनौं, अहिले बुझ्यौं ।’

भाइहरूका आत्मस्वीकारले मलाई सन्तोष लाग्यो ।

जोन किट्सले ‘अड् टु ग्रेसियन अर्व’ मा अभिव्यक्त गरेका थिए- हर्ड मेलोडिज् आर स्विट बट दोज् अनहर्ड आर स्विटर ।

चाइना कम्पनीको सर्जक भएको नाताले मलाई सर्वसाधारण जनताका लागि अहिलेसम्म नसुनिएका नरचिएका अरु धुनमुक्त गीतहरू रचना गर्ने चाहना छ ।

बाटो राम्रो छेवैको ढलले
माया ला’को होइन छलले
जूनै राम्रो जूनैको किरण
चिर्ने भए यै छाती चिर न
चाइना कम्पनी
चाइना कम्पनी ।
०००

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.