पत्र कथा : हजुरआमाको चिट्ठी

~सुजाता ढुङ्गेल~

मिती: अक्टोबर १७, २०१४
लेखिएको स्थान: केरी, नर्थ क्यारोलिना
प्यारो बाबु नबिन शूभाशिर्बाद!

हामी यहाँ सञ्चै छौ। त्यहां तिमीहरुलाई कस्तो छ? आशा छ, तिमीहरु सबैलाई आरामै छ। बुवाले चिट्ठी लेख्ने भए लेख म फोटो खिचेर कम्प्युटर बाट आजै पठाइदिन्छु भन्नु भएकोले यो चिट्ठी हतारमा लेख्दैछु। तिमीसँग भोली शनिबार फोनमा कुरा गरौंला।
यो चिट्ठी वास्तवमा मैले तिमीलाई भन्दा पनि निर्वाणलाई लेखेकी हुँ। म अङ्रेजिमा लेख्न नजान्ने उस्ले नेपालीमा लेखेको नबुझ्ने भएकोले तिमीले पुरै चिट्ठी पढेर सुनाइदिनु उस्लाई अनी आबस्यक परेका ठाउंमा अङ्रेजिमा उल्था पनि गरिदिनु है।

-तिम्रो सदा भलो चाहने,
आमा
—————————-
प्यारो बाबु निर्वाण,
धेरै धेरै आशिर्बाद!

हामी यहाँ सञ्चै छौ। त्यहां तिमीहरुलाई कस्तो छ? आशा छ, तिमीहरु सबैलाई आरामै छ। चारवटा प्लेन चढेपछी बल्ल हिंजो बिहान काठमाडौं अइपुगियो। थकाई ज्यादै लागेको छ शायद एक दुई दिनमा ठीक हुन्छ होला। त्यहाबाट हिंडेदेखिनै तिम्रो अनुहार आँखा भरी आइरह्यो। खै किन हो कत्ती कुरा भन्न मन लागेको थियो, लागेको थियो तिमीसँग तर प्राय: सबै मनमै अड्किरह्यो। कहिले र कसरी मनका कुरा तिमीसँग बांडौ भनी सोच्दा यो कागजमा लेखेर पठाउने निर्णय गरे बाबा।

मेरो बाबु, तिमी अमेरिका जानु अघी तिमी म संगै मेरो खाटमा सुत्ने गर्थ्यौ । मैले भनेका कथा सुन्दै निदाउथ्यौ । तिम्री ममीले भात खुवाउंदा खांदैन थियौ र भन्ने गर्थ्यौ ” हजुरआमाले खुवाए मात्र खान्छु”। अनी दौडदै मेरो कोठामा आउंथ्यौ । हरेक शनिबार पशुपति नाथ गएर आउँदा तिमीलाई मनपर्ने जेरी स्वारी ल्याउंथे गौशाला चोकको मिठाइ पसलबाट। अनी आगनमा गएर आफ्ना साथीहरुलाई सुनाउने गर्थ्यौ, “मलाई मेरो आमा कत्ती धेरै मन पर्छ।” तिमी मसँगै टिभी हेर्थ्यौ, खेल्थ्यौ अनी ममी ड्याडिले ल्याइदिएको चकलेट मलाई नबांडी खांदैन थियौ । मेरो बाबु! तिम्रो सातौ जन्मदिन मनाएपछी भोली पल्टै तिमी ममी ड्याडी सँग अमेरिका गयौ। जाने बेलामा आमा पनि हिंड्नुस्न भन्दैथ्यौ। म भने तिमीसंगको बिछोड सहन नसकी मुन्टो फर्काएर रुंदै थिएं। मैले म अल्ली पछी आउंछु बाबा तिमी जादै गर अहिले भनेको थिएं।

तिमीहरु गएपछी घर सारै शुन्य भयो निर्वाण। कहिले अमेरिका गएर तिमीहरुलाई भेटौ जस्तै भयो। कहिले तिमीलाई काखमा राखौ जस्तै हुन्थ्यो। तिमीलाई भेट्न दिन गन्दै-गन्दै चार बर्ष कटाएं। चार बर्ष पछी म पनि अमेरिका आउन पाउने भएं। अनी दंग परे। मेरो निर्वाणलाई भेट्न, मेरो नातिलाई भेट्न। मलाई अमेरिकाका ठुला ठुला घर, अनी मोटर गाडी हेर्ने रहर थिएन। मलाई त पहिला नेपालमा हुंदा जस्तै मेरो नातीसँग घुल्मिल गरेर बस्ने रहर थियो। तर सबै कुरा सोचे जस्तो कहाँ हुंदोरहेछ र? तिमी हुर्केर ठुलो एघार बर्षको भएछौ। स्कुलबाट आएपछी “आमा खाजा खान्छु भोक लाग्यो” भनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो तर तिमी नबोली आँफै फ्रिज र प्यान्ट्रीबाट खाजा झिकेर खांदै धेरै जसो कम्पुटरमा खेली बस्थ्यौ भने कहिले कांही टिभी हेर्न बस्थ्यौ। न कहिल्यै “आमा कस्तो लागिराख्याछ हजुरलाई अमेरिका भनेर नै सोध्यौ न कहिल्यै आमा कथा सुनाउनुस् न नै भन्यौ। उमेरको फरकले गर्दा यस्तो भएको हो भनौ भने पल्लो घरमा तिमी संगैको तिम्रो साथी रवि अहिले पनि हजुरबा हजुरआमाकोसंगै लुटुपुटु भएर बसेको देखिन्छ।

त्यहां, तिम्रा ड्याडी ममिको मिहेनत र परिश्रमले जिबनस्तर उकासिएको देखेर मनमा शान्ती त लाग्यो तर कहिले काही तिमीले अङ्रेजी उच्चाहरणमा बोलेका टुटे फुटेका वाक्य ले मनमा काउकुती लगाइरहन्थे। तिनै काउकुतीसँग भएपनी तिमी नजिकिएको आभास त गर्दथें। तिमीले बोलेको सुन्नै गार्हो, त्यसमाथी अङ्रेजिमा बोलिदिदा त कुरै बुझ्दिन थिए। त्यती बेला मलाई अमेरिका बोझ हुन्थ्यो। घांटिमा केही अड्किए झैं हुन्थ्यो। श्वास फेर्न गाह्रो भए झैं हुन्थ्यो। मेरो नाती मसँग टाढा भए झैं हुन्थ्यो। नेपाल र अमेरिका बिचको पुल कहिले नजोडीने भयो भने जस्तै लाग्थ्यो। म दुई चार अक्षर सम्म चिनेकी, ६-७ कक्षा सम्म मात्र पढेकी, मान्छेले कसरी तिम्रा कुरा बुझौं? कसरी मेरो नातिको मनको भाब बुझौं? कसरी मेरा मनका कुरा बांडौ?

बाबु निर्वाण, मैले सुन्ने गरेको थिए, त्यहां नेपाली पढाईन्छ रे कता हो कुन्नी। तिमीलाई पढ्न मन नलागे पनि मलाई सम्झेर नेपाली पढिदेउ छोरा। जहाँ तिम्री हजुरआमा हजुरबुवा बसेका छन् त्यस ठाउंको बारेमा, त्यहां बोलिने भाषा र रहन सहन को कुरा पढाईन्छ अरे त्यस कक्षामा। आशा छ तिम्रा कर्तब्यनिश्ठ ड्याडी ममिले यस बिषयलाई अरु कुरा जत्तिकै प्राथमिकता दिएर मेरो बाबुलाई सहयोग गर्नेछन। अनी म अब दुई बर्षपछी आउंदा मेरो नाती मसंग नेपालीमा कुरा गर्नेछ। टिभीमा आएका कुरालाई नेपालीमा मलाई बुझाईदिने छ। छिमेकिले अङ्रेजिमा बोलेका कुरा मलाई नेपालीमा बुझाईदिने छ। अनी म मेरो मुटुको टुक्रा जस्तो नातिलाई आफ्ना संस्कार सम्बन्धी कथा फेरी सुनाउन पाउनेछु। मेरो नाती मसँग पहिले जस्तै घुल्मिल गर्नेछ।

उही,
तिमीलाई धेरै माया गर्ने हजुरआमा,
सुजाता

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा, पत्र साहित्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.