~श्रवण मुकारुङ~
पृथ्वीनारायण शाहको सैनिक भएर
युद्ध लडेका जाबर शेख
र उसको सन्तान–
रियाद शेखको अग्लो तर पुरानो घर
र त्यसको भुईंतलाको आधा अँध्यारो छिँडीमा
प्रथम किराती राजा यलम्बरको एक थोपा खुन
कलाकार चन्द्र रानाहँछा
जग्गा दलालको नयाँ गाडीको नम्बरप्लेट
आईएनजीओको साइनबोर्ड
वाईसिएल, युथफोर्स र तरुण दलको ब्यानर
जातीय संस्थाका लोगो
मेनपावरको विज्ञापन
र योगगुरुको कामुक वाणी लेख्दै
यो बागबजारमा–
जीवनको भित्ता रङ्गाइरहेछ ।
उसलाई–
लैनसिं बाङ्देल
दुर्गा बराल
मनुजबाबु मिश्र
वा, किरण मानन्धर
कोही हुनु छैन ।
हुनु छ केवल– रङहरूको शासक
र आकारको श्रमिक ।
त्यसैले,
झुण्ड्याएको छ उसले आफ्नो पसलमा
(जो सजिलै बिक्री हुनेछ)
निरीह हिमालहरू
दुब्ला नदीनाला र जङ्गलहरू
बीपी कोइराला
पुष्पलाल
बाबुराम भट्टराई
र रिबन बेरिएको अतिथिको व्याज ।
चार फिट एघार इन्चको उचाइ
सप्रिएको भोगटेजस्तो टाउको
कवि मोहन कोइरालाको
फर्सीको जराजस्तै जेलिएको उसको विचार तर, स्वयम्भू झै सुन्दर–
मेरो भाइ– चन्द्र रानाहँछा
लाहुरे हुन हाइटले दिएन
सैनिक हुन नाकले दिएन
जनसेना हुन खै केले दिएन !
मजस्तै कवि हुन शायद मैले दिइनँ ।
त्यसैले ऊ भएको छ– कलाकार
जसले–
सबभन्दा धेरै चलाएको रङ हो– रातो
सबभन्दा धेरै खेलाएको विषय हो– दुःख
सबभन्दा भव्य बनाएको चित्र हो– नयाँ नेपालको
जसलाई ऊ चाहन्छ तुरुन्त बेच्न
किनभने–
उसलाई बन्नु छैन महान कलाकार
मात्रै छोड्नु छ– छिटो
जाबर शेखको सन्तानको यो पुरानो घर
र अँध्यारो छिँडी
र कोर्नु छ उसले–
उपत्यकाको कुनै कुनामा सपनाको नक्सा ।
(स्रोत : हिमाल खबर))