~बसन्त गौतम~
अस्तित्वहीनझैं लाग्छ-
डराएर लुकेजस्तो
कसैको कर्कश आदेशमा
लत्रिएर झुकेजस्तो
चारै सूरमा लहर लागेर
विपत्ति र पिडाले ढुकेजस्तो
अन्धकारको भारले थिचिएर
पाईलाहरु रुकेजस्तो,
यो बिजुली निभेको रात
मलाई अचेत बनाउन
सघन हुँदै सोहोरिएका छन्
यो बस्तीका सम्पूर्ण पिडाहरु,
र म
थुप्रिएका पिडाहरुबाट फुत्किन
कहिले रोगी जूनमुनि कठ्याङ्ग्रिँदै
कहिले मलीन ताराहरुसंग गुँडुल्किँदै
आफूलाई दौडाईरहेछु
यो बस्तीको शिर-पुछार,
किन यस्तरी कान्तिहीन छ बस्ती?
कहिल्यै बैंश नआउने गरी
जन्मिँदै आत्मा सुकेजस्तो
किन यस्तरी झोक्राएको छ यो बस्ती?
अक्षता हान्दै कसैले
कालो मन्तर फुकेजस्तो
किन हरबखत सन्त्रस्त छ बस्ती?
कसैले अविराम कानमा
घोर आतंक भुकेजस्तो।
(माघ १, २०६७; राती ११:३५ बजे; पोखरा)
(स्रोत : Sajha)