~डा. हेमनाथ घिमिरे~
शीतको थोपा
गुलाफको फूलमा
मेरी प्रेयशी ।
सधैँ हँसिली
लालुपाते फूलेझैँ
मेरी संगिनी ।
लाली गुराँस
सिउरेर हाँसेकी
मेरी मायालु ।
गोधूली साँझ
सप्तरंगी इन्द्रेणी
तिम्रो मुहार ।
वसन्त ऋतु
बैशालु उपवन
तिम्रा नयन ।
तिम्रो प्यारको
अविरल बन्धन
मेरो जीवन ।
आफ्नै हातले
आफ्नै अंग काटेर
रक्त पिपासु ।
बन्दुक राखेर
परेवाको गुँडमा
शान्तिको खोज –
कापी कलम
खोसेर जबर्जस्ति
बन्दुक दियौ ।
देशको नाममा
रगत बगाउँछौ
देश रेटेर ।
बुद्धको देश
काटमार चल्दैछ
भाइ भाइमा ।
डा. हेमनाथ घिमिरे
बाहुन डाँडा ५, लमजुङ् ।
हाल : मैमना, अफगानिस्तान
(स्रोत : उजागर मासिक, २०६० भदौ)