~सुनिता लामा~
विद्यालयको पढाई शुरु गर्ने उमेरमा रोगले ग्रस्त बनाएपछि चार पाँच वर्षको अन्जान बालक पीडित त हुने नै भयो त्यसमाथि घर परिवारको अन्धविश्वासका कारण नौ वर्षको उमेरसम्म उनले पीडाबाट मुक्ति पाउन सकेनन्। चार वर्षसम्म गाउँकै धामी झाँक्रीबाट झारफुक गराउँदा पनि रोग कम नभएपछि परिवारले उनलाई काठमाडौंमा थप उपचारको लागि ल्याउँदा पत्थरी भएको र तुरुन्त शल्यक्रिया गर्नुपर्ने भनेपछि मात्र रोग लागेको चार वर्षपछि उनको शल्यक्रिया भयो र वर्षौदेखिको रोगबाट मुक्ति पाए उनले।
बाल्यकाल, जुन समय खेल्ने, खाने, प्राथमिक शिक्षा लिने उमेर तर ईश्वर किरण सुनुवार (अतित मुखिया) को बाल्यकाल भने रोगसँंग लड्दै आफ्नो जीवन बचाउका अनेकन उपाय र उपचारहरू अवलम्बन गर्दै वित्यो। ओखलढुंगास्थित रगनी गाविस(४ मा बुवा चन्द्रबहादुर सुनुवार तथा आमा नन्दकुमारी सुनुवारका काइँलो छोराका रुपमा वि.सं. २०१२ असार २ गते जन्मनुभएका ईश्वर (अतित) ले २०१७ सालदेखि लागेको रोगको उपचार २०२१ सालमा मात्र गर्न पाउनुभयो। रोगको उपचारपश्चात् गाउँं फर्केर दुई वर्ष औपचारिक शिक्षा लिएपछि २०२३ सालदेखि ठूलोदाइ चम्पक सुनुवार त्रिचन्द्र क्याम्पसमा पढ्दै रहनुभएकोले काठमाडौंकै डिल्लीबजारस्थित विजय मेमोरियल विद्यालयमा कक्षा आठसम्म अध्ययन गर्नुभयो ईश्वरले। कक्षा नौ र दश कीर्तिपुरस्थित लेबोरेटरी मा.वि.मा पढ्नु भई एस.एल.सी.को लागि भने उहाँ केन्द्र परिवर्तन गरी ओखलढुंगा जानु भयो र सगरमाथा पब्लिक हाई स्कुलबाट २०२८ सालमा एस.एल.सी उत्तीर्ण गर्नुभयो।
साहित्यकार, अधिवक्ता, समाजसेवी र रेडियो नेपालका कार्यक्रम प्रस्तोता, व्यक्ति एक व्यक्तित्व अनेक रुपमा परिचित ईश्वर (अतित) आफ्नो व्यक्तित्वलाई अत्यन्त सामान्य रुपमा प्रस्तुत गर्न रुचाउनु हुन्छ। सामान्य पहिरन, नम्रबोली, भद्र व्यवहार र शालिन व्यक्तित्व नै उहाको वास्तविक परिचय हो। नौ कक्षा पढ्दादेखि नै साहित्य र कलामा रुचि भएका अतितले अन्ततः २०२७ सालको अन्तर हाइस्कूल कविता प्रतियोगितामा सत्र–अठार विद्यालयले सहभागिता जनाएकोमा उहाँले दोस्रो स्थान प्राप्त गर्नु भई साहित्यको शुरुवात गर्नुभयो।
कुनै पनि कुराको शुरुवात आफूभित्रको अन्तईच्छा र मेहनतबाट हुने गर्छ। आफ्नो साहित्ययात्राको आकर्षण सम्बन्धमा अतित भन्नुहुन्छ, त्यसपछि मेरो आफ्नै दाजु पाण्डव सुनुवार पनि उत्तिकै रुचि राख्नु हुन्थ्यो संगीत र साहित्यमा। पाण्डव दाइले शंकरदेव क्याम्पसमा अन्तर कलेज कविता प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्नु हँुंदा म पनि विद्यालयस्तरको प्रतियोगितामा दोस्रो भएको थिएँ। नौ र दश कक्षामा पढ्दादेखि नै मैले विभिन्न साप्ताहिक पत्र पत्रिकामा कविताहरू प्रकाशित गरिसकेको थिएँ । बुबा आमाले छोरा डाक्टर बनोस् भन्ने चाहना राख्नुहुन्थ्यो तर मेरो मन भने साहित्य र कलाप्रति नै बढि मोह थियो। खरीको ढुंगामा मूर्ति कुद्ने, रेडियो नेपालको बाल कार्यक्रममा सहभागी हुने, गीत, कविता लेख्ने जस्ता कार्यतिर मात्र मेरो ध्यानकेन्द्रित हुन्थ्यो। तर, आमा बुबाको इच्छा अनुरुप डाक्टर नै बन्छु भनेर एस.एल.सी.पश्चात् विज्ञान विषय लिई महाराजगन्जस्थित मेडिसिन क्याम्पसमा ल्याब टेक्निसियनको दुई वर्षे अध्ययन पनि गरें तर इच्छा नै नभए पछि सफलता कहाँ पाइँदो रहेछ र? क्याम्पसका कार्यक्रमहरूमा जनवादी गीत प्रस्तुत गर्दै अखिलसँंग सम्बन्ध गाँसिन पुग्यो र काठमाडौंमा क्याम्पसहरूमा कार्यक्रम प्रस्तुत गर्न जाने क्रममा मैले अन्तिम परीक्षा दिन पाइन र मेरो उक्त पढाई अधूरो रहन पुग्यो। आफ्नो साहित्यप्रतिको रुचि र झुकाव बताउंदै अतित भन्नुहुन्छ, ‘विज्ञानमा असफल भएपछि नेपाल ल क्याम्पसमा आइ.एल.मा भर्ना भएँं र त्यहिंबाट क्रमश बि.एल. उत्तीर्णपश्चात् त्यसको पनि अन्तिम कार्यपत्र (थेसिस) बुझाउन बाँंकी रहँंदै लोकसेवाअन्तर्गत नासुको पदमा नाम निकाल्न सफल भएँ र २०३८ सालमा वीरगन्ज गई तहसिलदार नासुको जागिर खान थालें।’
जब नासुको पदभार सम्हाल्नुभयो त्यस समयदेखि उहाँको कला साहित्य सबै निष्त्रि्कय हुन पुगे। तर, २०४७ सालमा बुबाको स्वर्गारोहणपश्चात् आमालाई पक्षघात च्यापेपछि २०४८ सालमा नासुको जागीरबाट राजीनामा दिई उहाँ काठमाडौं फर्कनुभयो। त्यसपश्चात् उहाँले फेरि आफूभित्रको कलालाई जिवित पार्ने क्रम सुचारु गर्नुभयो। काठमाडौंको बसाइसँंगै अन्य दुई जना साथीहरू मिलेर माइतीघरमा ूआदर्श कानुनी सदनू नामक ल फर्म संचालन गरी वकालत गर्न थाल्नुभयो। २०३८ सालदेखि २०४८ सम्म दश वर्षको समय मैले सरकारी जागीर खाएरै पनि राजनीतिशास्त्रमा स्नात्तकोत्तर पनि पढें तर पनि यो दश वर्षलाई म मेरो जीवनकै सबैभन्दा अध्याँरो पक्ष हो भन्न रुचाउंँछु। किनकि यहि समयमा मेरो बुबाको स्वर्गारोहण हुनु, आमालाई रोगले च्याप्नु र स्नातकोत्तरको अध्ययन अधुरो रहनुका साथै दश वर्षसम्म म भित्रको कलाकारिताको अवसान हुनु जस्ता कुराहरूले गर्दा अहिले पनि मलाई त्यो दश वर्ष सम्झँदा आत्मग्लानी हुन्छ। उहाँ पश्चातापका साथ आफ्नो अतितका सर्घषमयी यात्राहरू खोतल्नु हुन्छ। सामाजिक कार्यमा पनि मलाई उत्तिकै रुचि थियो। त्यति नै बेला २०४५ सालदेखि दर्ता भएको ूनेपाल सुनुवार सेवा समाजू मार्फत् आफूलाई सामाजिक कार्यकर्ताको रुपमा पनि उभ्याइसकेको थिएँ। मेरो काम र विचारको सम्मान गर्दै २०४९ सालमा साथीहरूको सर्वसम्मतबाट नेपाल सुनुवार सेवा समाजको अध्यक्षता गर्ने मौका प्राप्त गरें। यस संस्थाले स्थापना कालदेखि नै आफ्नो जातित्व माथि लागेको पानी नचल्ने जात भन्ने भ्रमलाई सदाको निम्ति हटाउने र आफ्नो जातिको छुट्टै अस्तित्व र पहिचान छ भन्ने कुरालाई सबै सामु छर्लङ्ग पार्नु थियो। सुनुवार जातलाई ूसुनारू (पानी नचल्ने जात) भन्ने गलत मानसिकताको अन्त्यको निम्ति यो समाजको गठन भएको थियो। अहिले समयक्रमसंँगै उक्त गलत विचारधारको अन्त्य भएको छ र नेपाल सुनुवार सेवा समाजले आफ्नो किराँतको छुट्टै अस्तित्व र पहिचानलाई स्थापित गर्दै वल्लो किराँत राज्यको मागलाई समेत अघि बढाइरहेको छ।
२०४९ देखि २०५१ सालसम्मको अतित मुखियाको अध्यक्षतामा नेपाल सुनुवार सेवा समाजले विशुद्ध समाज सेवामार्फत् नै आफ्नै भवन निर्माणको निम्ति ६ आना जग्गा खरिद गर्न सफल हुनुभयो। वर्तमान अवस्थामा सोही जग्गामा निर्मित आफ्नै भवनबाट आफ्ना रणनीतिक कार्यक्रमहरू तथा विभिन्न समाजसेवाका कार्यहरूमा सक्रिय रहनु भएका ईश्वर (अतित) नेपाल सुनुवार सेवा समाजको कानुनी सल्लाहकारका रुपमा कार्यरत हुनुहुन्छ भने क्युँइतवु (किरात भाषा) कल्याण कोषका साथै वल्लो किराँत राज्य, दालमान अक्षयकोष र कुलदीप स्मृती कोषमा समेत कानुनी सल्लाहकारका रुपमा सक्रिय हुनुहुन्छ।
अभिशप्त आशिष (गजल संग्रह) आवर्तन र परावर्तन (लघु कविता संग्रह) अन्तर्आवेग (कविता संग्रह– सुनुवार तथा खस दुवै भाषामा प्रकाशित), आभाष मिलनको क्यानभाष जीवनको –कविता संग्रह), कोइँच पारम्परिक कानुन (अनुसन्धान), स्याँदरपिदार (सुनुवारको मुंग्दुम) अनुसन्धान, अनावरित आवरण (श्रव्य, दृव्य कविता संग्रह) लगायत दर्जनांै साहित्यिक कृतिहरू प्रकाशित गरिसक्नु भएका ईश्वर (अतित) मुखियाका अस्पष्ट आकृती (गजल संग्रह), हाईकु सं्रग्रह, अनकित अस्तित्व (कथा संग्रह), अनुबन्धित आस्था (कविता संग्रह) आँलसेल आँनकली (सुनुवार बालगीत संग्रह), तथा अचानो र आहत (रेखा काव्य) प्रकाशोन्मुख कृतिका रुपमा रहेका छन्।
यतिका धेरै कृतिहरू प्रकाशित र प्रकाशोन्मुख हँुंदा पनि तपाईं किन ओझेलमा? प्रश्नप्रति गम्भीरता छाउँछ, नेपालमा साहित्य र स्रस्टाको सम्मान साँचो अर्थमा कहिल्यै भएको छैन र हँुंदैन पनि किनकि साहित्यले न त राजनीतिकरणलाई विषय वस्तु बनाउँछ न त सत्तालिप्साप्रति नै आकर्षित हुन्छ साहित्य। त्यसैले विज्ञापनको भजन गाउनुभन्दा आत्मसन्तुष्टीको गीत गुन्गुनाउनु ठूलो कुरो हो। अत्यन्त यथार्थता भरिएको जवाफ दिनु हुन्छ अतित। कुन समय र कस्तो स्थानमा बढी साहित्य लेख्ने गर्नु हुन्छ? अर्को प्रश्नले पनि गम्भीर तुल्याउँछ उहाँलाई बाटोमा हिंड्दा हिंड्दै कुनै घटना, क्षण वा वस्तुले मन आकर्षित गरेमा पनि मेरो साहित्य फुर्ने गर्छ। टेलिभिजन हेर्दा होस् या कुनै काम गरिरहँंदा जहाँसुकै जस्तोसुकै अवस्थामा पनि त्यहाँको वातावरण, घटना, परि घटना तथा आकर्षित वस्तुहरूले मेरो साहित्यलाई व्युझाँंइ दिन्छ। सरल जवाफ दिनु हुन्छ मुखिया।
उहाँको प्रतिभा र कार्यक्षमताको आभाष भएरै हुन सक्छ रेडियो नेपालमा कार्यरत दाजु पाण्डव सुनुवारले रेडियो नेपालबाटै ूदिदी बहिनीू कार्यक्रमको निर्माण तथा संचालन गर्ने मौका प्रदान गर्नु भयो। पन्ध्र मिनेटको उक्त कार्यक्रम नितान्त महिला शिक्षासंँग सम्वन्धित थियो। उक्त कार्यक्रमको सफलतापश्चात् साताको एक पटक कार्यक्रम संचालन गर्ने अतित मुखियाले अर्को एक ूझरना र झंकारू (साहित्यिक कार्यक्रम) पनि संचालन गर्नु भयो। यसरी आफूलाई अनेकन प्रतिभा र कार्य दक्षता तथा क्षमताबाट पाठक तथा दर्शकश्रोता सामु आफ्नो बेग्लै पहिचान बनाइ सक्नुभएका अतितले कुनै पनि काम र जिम्मेवारी सहज र सरलताका साथ निर्वाह गर्नुहुन्थ्यो।
जीवनको करिब आधा उमेर गइसक्दा पनि उत्तिकै सक्रिय र जुझारु रुपमा रहनुभएका अतितले सरकारी जागीरदेखि वकालत, कला, साहित्य र समाजसेवामा आफ्नो जीवनका उमेरहरू विताउँंदा सबैभन्दा आत्मसन्तुष्टको पक्ष भने उहि कला साहित्य नै लाग्छ भन्नु हुन्छ। किनकि यसमा मेरो मानसिक, शारिरीकका साथै भौतिक आनन्द जोडिएको छ। म साहित्यमा नै मेरो जीवनको सम्पूर्ण अर्थ भेटाउन सक्छु। त्यसैले मबाट साहित्य र साहित्य मबाट कहिल्यै अलग हुन सक्दैन। सरकारी जागीर केवल समय व्यतित गर्ने माध्यम हो भने जति नै सत्यको वकालत गरेता पनि फैसलाको कार्यान्वयन कहिल्यै हुन नसक्ने नेपालमा न्याय र कानुन केवल किताबमा मात्र सीमित छन्। पहँुचवालाको निम्ति कानुन छ तर गरिबको लागि कुनै कानुन छैन यहाँ। खुला विचार राख्नु हुन्छ अतित। जीवनलाई गतिवान बनाउने क्रममा साहित्य रचनाका अलवा अर्को कला, काष्ठकला तथा चित्रकलासँग पनि गहिरो सम्बन्ध राख्छन् अतित मुखिया। विभिन्न आकारका काठ तथा बाँसका जराहरुबाट आकर्षक आकृतिहरु बनाउनु तथा आफ्नो साहित्य सृजनाका सार खिचेर क्यानभास रंगाउन पनि अतितको अर्को सौख हो। गहिरो अभिव्यक्ति बोकेका काष्ठकलाका साथै साधारणदेखि उत्तराधुनिक शैलीका चित्रकलाहरुको एउटा सानो संग्राहलय जस्तै छ अतितको निवासस्थान।
गतिवान जीवित अस्तित्व हो जीवन। जब यसको गति रोकिन्छ मान्छे जीवित भए पनि मृत समान हुन्छ। त्यसैले सम्पत्ति आर्जनकै निम्ति मात्र बाँच्नु पनि गति विनाको जीवन हो र त्यो मृतशैलीको जीवन हो। जीवनको उत्कृष्ट परिभाषा दिनुहुने अतित २०३८ सालमा चित्रकुमारी राई (प्राप्ति सुनुवार –आफूले राखि दिएको नाम) सँंग परम्परागत विवाह गर्नुभयो भने उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ। हाल हङकङका चर्चित नेपाली व्याण्ड “समिबु” का युवा कलाकार संयोग सुनुवार, सृष्टि सुनुवार तथा सम्यम् सुनुवार हुन्। जो आफ्नै पौरखमा हङकङ युनिभरसिटीमा समेत अध्ययनरत छन्। विज्ञानले जतिसुकै विकास गरेता पनि प्रकृतिलाई जित्न सक्दैन त्यसैले सामाजिक परम्परा निर्वाह गर्ने बन्धन हो विवाह। यो प्राकृतिक नियम हो यसविरुद्ध कोहि जान सक्दैन अन्यथा यसले विनाश निम्त्याउंँछ भन्नु हुने ईश्वर (अतित) २०५८ सालमा आमाको स्वर्गारोहण भएको क्षण जीवनकै अत्यन्त दुःखद क्षण र वीरगन्जमा कार्यरत रहँंदा फैसला भएको वि.सं. वर्षसम्म पनि कार्यान्वयन नभएको एक आफ्नो आमा सरह एकल महिलाको अंशमुद्दा आफूले फैसला कार्यान्वयन गरिदिंदा उक्त महिलाले आफूलाई भगवान सम्झी सम्मान दिएको क्षण जीवनकै सुखद र अविस्मरणीय क्षण मान्नु हुन्छ।
प्रेमको कुनै परिभाषा हुंँदैन। एउटा आत्माको अर्को आत्मासँंगको स्थापित सम्बन्ध नै प्रेम हो। प्रेमको सरल परिभाषासहित जीवनको ५६ औं वर्षमा आइपुग्दा पनि आफूभित्रको प्रेमकै कारण हरेक कार्यमा सक्रियतापूर्वक लाग्न प्रेरणा मिलेको बताउनु हुन्छ उहाँ। अन्त्यमा जातीय संघ संगठन भित्र पनि आफ्नो जातको अस्तित्व, पहिचान र हकहितको निम्ति भन्दा पनि राजनीतिकरण गरी जातीय संघ संगठनलाई नै दिग्भ्रमित तुल्याउने र उनीहरूको आन्दोलनलाई राजनैतिक पार्टीको पिछलग्गु बनाउने काम भइरहेकोमा उहाँ अत्यन्त दुःख व्यक्त गर्नु हुन्छ। कुनै पनि संघ संस्था चाहे त्यो जातीय होस् या अन्य आफ्नो लक्ष्य अनुरुप दिग्भ्रमित नभई कुनै पनि राजनीतिकरण हुन नदिई अघि बढ्ने हो भने प्रत्येक संघ संस्थाले आफ्नो हकहित र अधिकारको निम्ति लडिरहेको लडाई सफल हुनेछ र जुन तरिकाले सामाजिक कार्य गरेता पनि समाजमा चेतना फैलाएर सामाजिक प्राणीका हकहितका कार्यहरू गर्नु नै सामाजिक काम हो भन्ने आत्मविश्वास राख्नु हुने अतित बेचिएको चेलीबेटी फर्काउनुभन्दा बेचिनबाट रोक्नुसक्नु नै ठूलो समाज सेवा र सामाजिक कार्य हो भन्नु हुन्छ।
– सुनिता लामा
(स्रोत : नयाँ विमर्श साप्ताहिक)