कविता : हिउँको जाडो

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

हिउँद यो सारेर सर्दैन
चिसो यो टारेर टर्दैन
नजाती उही छाउँदो पो छ
श्वेत-शैतान यो हिउँको जाडो।
**
चिनीसरी बर्षा झर्छ
जादू-दृष्य जस्तै लाग्छ
बिर्सुं भन्दा झनै गाढा
बेचैनीको विशाल यो हिउँको जाडो।
**
थोरै पर्दा खुशी छर्छ
धेरै हुँदा तनाव भर्छ
हट्ला भन्दा बढ्दो पो छ
अभिशाप यो हिउँको जाडो।
**
कुईरीमण्डल क्षणमै गर्छ
ईञ्चको नाप त्यो फुटमा सर्छ
चिसोको त साम्राज्य हो
हैरानी यो हिउँको जाडो।
**
एक दिन पर्यो साता बस्छ
मुटु छेंड्दै जाडो पस्छ
उपमा नि के दिउँ म खै
बैगुनी यो हिउँको जाडो।
**
बरफ जम्दा बाटोघाटो
यसले काढ्छ सबको सातो
आउँदैन कि बसन्त झैं
न्यास्रो पाल्ने यो हिउँको जाडो।
**
धेरै ठूलो छाडौं कुरा
के खालान् ती कीरा-भुरा
चहलपहल ठप्प पो छ
नचाहेरै स्वीकार्य यो हिउँको जाडो।
**
लर्तरो यो लुगाले धान्दैन
कमसल त्यो जुत्ताले मान्दैन
शक्तिशाली जिउँदो पो छ
निष्ठुरी यो हिउँको जाडो।
** **

03/06/2009

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.