~लक्ष्मी प्रसाद देवकोटा~
क.
आ ! फिंजारी घनका भाँक्रा, सगर–सागर गाँसी !
उग्ररुपिणी ! प्रलयसदनि ! वर्षकी वेदनाराशि !
नाश् रे शेष शिशिर, भंडारी ! शोध् रे पृथिवी–वासी !
ख.
सत्ययुगको निद्रा तेरो ! कलिको प्रबोधन–वेला !
विकल–प्राण–पवन–संगमा अश्रुकी जलधिवेला !
अतीत–कारागत सब आत्माहरुको क्रन्दन फोई
नाच् रे खण्डित कृष्ण घनमा, इन्साफ मागेर रोई !
चम्की ! झञ्झकी हे आत्मा !
सुत्छ मनुज अँधेरी रातमा !
भाइ भुल्छ भाइ आज ! विषम थितिमा यो समाज !
चल्दो छ धूलिई, मासी !
ग.
लङ्का सल्क्यो ! सुन्दर विलपी ! रुद्रभृकुटीज्वाला !
क्रान्ति उठ्छ मनुज थिचिंदा, हुरी ! मै विषम–चाला !
जर्जर आडम्बरका विटप खडा छन् अझ रे काला !
छन् अँधेरी–सेज–स्वपित मरेका हृदयवाला !
जाग् रे ! वायुबघिनी ! गर्जी रे ! झञ्झाकी काली !
मानव अझ छ मानवान्ध ! आँखामा डालेर जाली !
सडल जगत् जा बढारी ! जर्जर दलका दल !
मानव दानवहरुका कृतिले, अझ छ बगाउँदो भल !
धूलीदलका छाया–लहर बढार्दै भूतका राशि !
आ ! फिंजारी घनका झाँक्रा सगर सागर गाँसी
घ.
कुपित सृष्टिकार सपना ! दिव्य दण्डकी हावा !
हे बेरोक ! पगली शक्ति ! असत्यको बोल् तँ धावा !
क्या विलासी सुरको भवन प्रलय छायाले छायो !
ङ.
नाची नागिनी बिजुली ! स्वर्गले डसिई, क्रन्दन गायो !
नर–भविष्य बदलीमा छ ! निफन्दे सृष्टिको डाली !
ढुक्क रहेको शोषण–मुटुमा मृत्युको असिना फाली !
ध्वंसिनी ! हे ! तेरा क्रूर गतिमा करुणा हुन्छन् !
सक्रिय शान्त मुटुमा तेरो सुन्दरले स्वपना बुन्छन् !
भोलि हुन्छ धौत गगन, पवन निर्मल सन्त !
ऋतु वसन्त हाँस्छ मधुर, शिशिर हुन्छ अन्त !