कविता : आदिम मान्छे र डुलुवा ख्याँक

~नरेश सुनुवार~naresh-sunuwar

आदिम मान्छे र डुलुवा ख्याँक
को होला त्यो ?
त्यो को होला ?
जो सदियौं देखिको डुलुवा ख्याँक जस्तै
डुल्दैडुल्दै
चिह्याउँदै-चिह्याउँदै
लुत्त पस्दछ भित्र सियो बनेर
भास्सिदै भास्सिदै भित्र, झन् भित्र
जति भेट्टाउँछ कमलो र मलिलो
बुताले भ्याएसम्म फैलाउँदै एजेरु
चौतर्फी धूर्त जरा फिजाउँछ
चुसेर, सोसेर, चिथोरेर मलिलो रस
रुखो, पत्रु, कुरूप बनाउँछ उर्वरभूमि
र, अतिक्रमण गरेर एकछत्र
साम्राज्य जमाउन खोज्दछ,

त्यो को होला ?
को होला त्यो ?
सप्पैले निगरानी राख्नु पर्ने भएको छ
सप्पैले चिन्नै पर्ने भएको छ,

जोगीको भेषमा
एउटा हातमा चिम्टा
अर्को हातमा कमण्डलु
निधारमा विगौत घसेर
गाउँबस्ती चहार्छ
चर्को छदम् स्वरमा
ईश्वरको भक्ति गाउँदै
कथित ईश्वरको त्यो छदम् पूजारी
तर्साउदै आदिम मान्छेलाई
आफ्नो कमण्डलु र झोली भर्दछ,

त्यो को होला ?
को होला त्यो ?
सप्पैले निगरानी राख्नु पर्ने भएको छ
सप्पैले चिन्नै पर्ने भएको छ,

हो त्यो…
कहिले मगन्ते
कहिले सुकुम्बासी शरणार्थी
कहिले दुःखी गरीब र पिडित
अनेक रूप धारण गरेर
खेतमा आइपुग्छ
बारीमा आइपुग्छ
गोठमा आइपुग्छ
र, आइपुग्दछ घर दैलामा
मसार्दै पर्सादै खुनी हात
अनुनय विनयको भङ्गीमा
अनेक अभिनय गर्दछ
र, टाँसिन्छ जुकाजस्तै,

त्यो को होला ?
को होला त्यो ?
सप्पैले निगरानी राख्नु पर्ने भएको छ
सप्पैले चिन्नै पर्ने भएको छ,

कतै साइनो गाँसेर ज्वाईंको
कतै बुहारीको
कतै साइनो मित-मितिनी
कतै प्रेमी प्रेमिका, हितैषी साथी
कतै भरिया, गोठाला-खेतला
अनेक रूप बदलेर चटके साइनो
अनेक रङ्ग फेरेर छेपारोजस्तो
साइनोका फेरमा झुन्डिएर
प्रवेश गर्दछ आदिम घर
फुटाएर परिवार
फुटाएर समाज
तहसनहस पारेर कमजोर बनाउँछ
र, त्यो आदिम घरको
ऊ मालिक वन्ने कुचेष्टा गर्दछ,

त्यो को होला ?
को होला त्यो ?
सप्पैले निगरानी राख्नु पर्ने भएको छ
सप्पैले चिन्नै पर्ने भएको छ,

गाउँ, टोल, क्षेत्र, ईलाका
सिङ्गो देशमा ऊ पसेको छ
विभेदकारी गोप्य मन्त्र फुकेर
आदिम मान्छेलाई विस्थापित बनाउँदै
आफ्नो किल्ला जमाउन तम्सेको छ
गाउँ गयो उतै छ
शहर आयो यतै छ
राम नाम जप्दै मुखले
च्यापेर बगलीमा धारिलो छुरा
जो प्रहार गर्नको निम्ति दाउ साँधेर
जहाँ गयो तेही छायाँजस्तै
ऊ सँगसँगै पच्छ्याई रहेछ,

त्यो को होला ?
को होला त्यो ?
सप्पैले निगरानी राख्नु पर्ने भएको छ
सप्पैले चिन्नै पर्ने भएको छ,

गोठ कब्जा गर्यो तेसले
घर कब्जा गर्‍यो तेसले
गाउँ बस्ती कब्जा गर्‍यो तेसले
शहर र सिङ्गो देश कब्जा गर्‍यो तेसैले
र, पलायन बनायो आदिम मान्छेलाई
खुन चुस्न पल्केको डुलुवा ख्याँक
चुस्नकै निम्ति
ऊ पनि पलायन भएको छ अभिनय गरेर
र, पिठ्युमा टाँसिएको किर्ना जस्तै
जताजता आदिम मान्छे जान्छ
तेतै पुच्छर झुन्डिएर अवतरण भएको छ
र, तम्सी रहेछ पुच्छरले शरीर हल्लाउन
तम्सी रहेछ बटुवाले घरपटी धपाउन,

त्यो को होला ?
को होला त्यो ?
सप्पैले निगरानी राख्नु पर्ने भएको छ
सप्पैले चिन्नै पर्ने भएको छ,

तनले मानव मनले दानव
विष्णुले जस्तै छल्दै हिँड्ने
पशुपतिको योगीजस्तै भोगी
आवरण हेर्‍यो सोझो छ
स्वभाव हेर्‍यो धूर्त छ
सदियौदेखिको अर्धपरिचित डुलुवा ख्याँक
यमराजको शैलीमा परिचालित दूत जस्तै
जता पाइला टेक्यो
उतै लम्कन्छ
जे गर्न खोज्यो
उसै गर्न तम्सिन्छ
र, झेपालो थापिरहन्छ प्रत्येक पाईलामा
र, शिकार बनाएर चुस्दै चुस्दै खुन पसिना
ऊ नै ठालु बनेर
हैकम जमाउन खोज्दछ आदिम मान्छेमा,

त्यो को होला ?
को होला त्यो ?
सप्पैले चिन्नै पर्ने भएको छ
र, चिनेर ठेगान लगाउनका निम्ति
मन्सेर चोखा टाङमुनिबाट फाल्नु परेको छ
बाचेर हिँड्नु को निम्ति
प्रतिपल होस्को मदिरा पिउँनु पर्ने भएको छ ।

(स्रोत : Sunuwarsamajhk.Org )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.