~अभागी कान्छा गाउँले~
तलब आएको पहिलो शुक्रबार को बिहानी,
करिब ७ बजे मोबाइल बज्यो
आँखा चिम्सो पार्दै हेरें-
उनैको थ्यो !
‘उनी’ अर्थात ‘फूलमाया’
एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी
स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें
”सुतिराख्या हो ?
सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे,
८ बजे सम्म मा पुगिन्छ होला
छिट्टो उठेर आउनुस है…”
हतार हतार उठेर नुहाइधुवाइ गर्न थालें
कुनै टुंगो हुदैन उनीहरुको,
कैले सफारी, कैले लुलु कैले क्यरिफोर, कैले कहाँ,
हप्तामा १ पटक ‘सपिङ्ग’ गर्न लैजान्छन उनीहरुलाई
त्यहीं हो भेट्ने
निर्धारित समय मा ‘सफारी मल’ पुगें,
एउटा पुरानो TATA को बस बाट एक हुल महिला उत्रिए,
हरेक का कोइ न कोइ म जस्तै पर्खेर बसेका थिए,
कोइ हात समातेर ‘मल’ भित्र पसे,
कसैले आफ्नो गाडीमा बसाएर लागे
रित्तो बस फर्कियो भरे ४ घण्टापछि लिन फर्किने शर्तमा
म आफुसँग गाडी नहुने मध्यको परें,
उनीसंगै जोडिएर ‘मल’ भित्र छिरियो !
एउटा ठुलो ‘ट्रली’ तान्दै-ठेल्दै म उनको पछि पछि लागें,
उनि आफुलाई चाहिएको समान/कपडा हेर्दै छान्दै ट्रली मा राख्थिन,
म उनको पछि पछि ट्रली गुडाउदै हिड्छु !
हामी कुराकानी पनि गर्छौ,
यहाँका, कम्पनीका, साथीभाइका, घर परिवारका,
भबिस्यका, माया ‘पिरिम’ का पनि कुरा गर्छौं,
भबिस्यका योजना नि बुनिन्छ्न् कैलेकाहीँ
मल गज्जबको छ, म दङ्ग छु, साथमा उनी छिन्,
भित्रै रेष्टुरेन्ट छ,
खाजा नास्ता खान्छौ हामी,
अरुको आँखा छलेर यता उता चोर नजर डुलाउँदै,
म उनको हात समाउँछु,
उनी लजाए झैँ गर्छिन्
यस्तै मा समय बित्छ,
उनले गाडी आउने बेला भाको जनाउ दिन्छिन,
म फेरि ट्रली गुडाउँछु, उनी अघि अघि लम्किन्छिन्
ट्रली लिएर म काउन्टरमा लाइन बस्छु,
उनी बाहिर निस्केर साथीहरुलाई फोन गर्छिन्,
म उनको सपिङ्ग को ‘बिल’ चुक्ता गरेर बाहिर निस्किन्छु
उनका सामानलाई झोला भरि प्याक गरेर आफै बोकेर गाडीसम्म पुर्याई दिन्छु,
उनी लाग्छिन् आफ्नै गन्तब्यमा,
म फर्किन्छु कोठा तिर
टेक्सी चढ्नेसम्म पैसा बाँकी नहुँदा लुरुलुरु हिँडेरै फर्किन्छु कोठासम्म
साँझ उनको म्यासेज आउँछ ! लब यु, मिस यु ….यस्तै यस्तै
दिन भरि काम मा साँझ मा उनको याद मा, कैले कहीं फोन मा,
दिन यत्ति कै बित्छ !
प्रायः दिन बिराई बिराई उनको फोन आउँछ,
‘सुन्नु न, मोबाइल मा ब्यालेन्स, छैन, यहाँ नजिकै किन्न पाइदैन,
लु न केहि गर्दिनु ..’
कैले रिचार्ज कार्डको नम्बर दिन्छु, कैले ब्यालेन्स ट्रान्सफर
दिन हप्ता यसरी नै बित्छन
फेरि एक दिन बिहीबारे साँझ, उनको मिसकल आउँछ
म कलब्याक गर्छु,
‘सुन्नु न,
भोलि हाम्रो छुट्टी हुदैन, ओभर टाइम चल्छ, भोलि भेट्न नपाइने भयो..’
‘ठिकै छ नि, अर्को हप्ता भेट्ने नि,
काम परेको बेला काम गर न..’ म सम्झाउछु उनलाई
फोन मै माया पिरिम शुरु हुन्छ अनि खत्तम पनि
मेरो बारेमा सप्पै बुझ्छिन बिचरी,
मैले मात्र हो ढिलो बुझ्ने भनेको
मेरो तलब त एकै हप्ता मा सक्कियो,
अर्को हप्ता अर्कै को तलब आउँछ,
मैले सफारी मा उनको ट्रली गुडाएं,
अर्को ले क्यरिफोर मा ट्रली गुडाउदैथ्यो,
जब जब उनको ‘ओभरटाइम’ चल्छ,
तब तब अर्कै ले ‘ट्रली’ गुडाउछ
तोपगाछी, झापा
हाल: दोहा – कतार