कथा : बादल

~कृष्ण प्रसाई~krishna prasai_1

हामी मुन्तिर बादलका गाढा पहाडहरू तेर्सिएका थिए । भरखरै मात्र बर्माकी सहयात्री मुमुले बादलका प्रकारहरूको व्याख्या गरेर आकाशमा छरिएर रहने बादलका विशेषताहरूका सम्बन्धमा न्यानो अनुभव छरेकी थिई । उसको भनाइमा कति सत्यता भरिएको थियो त्यो मलाई थाहा थिएन, तर धर्तीबाट आकाशमा हेर्दा देखिने बादलको एउटै अनुहारमा मैले अनुभव गर्ने गरेको मेरो मानसिकताभित्र उसले नयाँ कुरो थोपरिदिएकी थिई । कपास जस्तो बादल, पत्रदार बादल र तित्रापंखी बादलका भिन्दा-भिन्दै तीन नाम र कामहरूको बर्णनमा म उसँग उडिरहेको थिएँ । यतिखेर हामी मुन्तिर देखिने बादल उसको भनाईमा कपास जस्तो बादल थियो र त्यो बादलको विशेषता धर्तीबाट पानीका थोपाहरूलाई टिपेर आकाशको उचाइमा ल्याइपुर्‍याए पछि पुनः ती थोपाहरुलाई धर्तीकै लागि मान्छेलाई छरिदिनुमा थियो । बादल माथिबाट उड्दा यस्तो महसूस हुन्थ्यो मानौं हामी मुनिको धर्ती अब माटो, ढुंगा र पानीको होइन केवल बादलबाट बनेको छ । बादलभित्रको यात्रा गर्ने जो कोहीलाई यही अनुभवले समेटेको हुन्छ ।

धर्तीबाट माथि उडेपछि हाम्रो यात्राले भर्रखरै कपास जस्तो बादललाई समानान्तर दिशातिर बाटो समातेको थियो । धेरै गाढा देखिने कपास जस्तो बादलका सन्ततिहरुमाथि हामी थियौं र हामीभन्दा माथि पत्रदार बादलका धब्बाहरु देखिन्थे भने त्योभन्दा पनि माथि तित्रापंखी बादलहरू आफ्ना पखेटा फिजाएर पंक्तिबद्ध रहेका थिए । हामी बादलको संसारमा विचरण गरिरहेका थियौं र धर्तीबाट हराइसकेको सूर्यलाई हामीले आकाशको यात्रामा केही मधुरो र बुढो अबस्थामा क्षीण किरणहरूसँगको मलिन अनुहारमा पश्चिमतिर देखेका थियौं ।

बडो आकर्ष र मनमोहक लाग्ने यी सबै दृश्यहरू आँखाभरि सँगालेर हामी उडान छरिरहेका थियौं । केही क्षणअघि चाँदीको दरबार बनेका बादलका सन्तानहरू केही बेरमै सूर्को बुढ्यौती प्रकाश पाएर सुनौला रंगहरूमा अन्मिएका हुन्थे । उनीहरूको आकृति एउटा सिद्धान्तहीन तरिकाले क्षण-क्षणमै फेरिएर जान्थ्यो । कहिले पहाड जस्ता भएर अग्लिने यी उडाउ आकारहरू क्षणभरमै हनुमानजस्ता देखिएर फेरि घोडाको अमूर्त आकारमा ओर्लन्थे । जुन दृश्य हेर्न असाध्यै मज्जा र आनन्द लाग्दथ्योे । हामीहरू हाम्रो यात्रामा यही रमाइलो अनुभूति समेटेर उडिरहेका थियौं ।

म्यानमारकी मुमु उनीहरुको राजधानी शहर याँगुन भन्दा पचास किलोमिटर उत्तरपूर्वी भागमा अवस्थित एउटा अस्पतालमा काम गर्ने पेशाले चिकित्सक हो । तेत्तिस वर्षो उमेरमा पनि सत्र वर्षझै देखिने ऊ चौधवर्ष छोरीकी आमा पनि हो । भरखरै मात्र चिठ्ठामा कार प्राप्त गरेकी मुमुको वानी बेहोरा आफ्नै किसिमको छ । आफ्ना साथीलाई एक बोतल भन्दा ज्यादा वियर खाएको मन नपराउने ऊ कडा खाले रक्सी र चूरोट लाई पटक्कै मन पराउदिन । श्रीमानसंग चूरोटकै कारणले सम्बन्ध धमिलिएको कुरा उस्ले आफ्नो पहिलो भेटमै मलाई सुनाएकी थिई । पेशाले अभियन्ता श्रीमान्को चूरोट र रक्सी बढी पिउने लत्ले कहिलेकाँही पारिवारिक जीवनमा तनाव आएको मात्र होइन व्यवहार पनि चिसिएको बताउने ऊ परंपरागत ढाचाका चिनीया खाना मन पराउछे । सधै सफा सुघ्घर बस्न मन पराउने उ दिनमा दुई पटक सम्म आफ्नो लुगा फेर्ने गर्छे । जोकजकार्ताको बोडोबुद्धको मन्दिर होस वा त्यहाँबाट पारी हेर्दा देखिने लमतन्न सुतेको बुद्धको जस्तै आकृति बोकेको पहाड होस् उनका लागि दुबै शान्तिका प्रतीक थिए । आस्था र भरोसाका वस्तु थिए । यसो हुनुमा बुर्द्धधर्म प्रतिको उसको अगाध बिश्वासले काम गरेको हुनुपर्छ ।

एक दिनको साँभ, असहले जस्तौ बुढो भएर सूर्य ढल्नलागेको दृश्यले उस्लाई सारै आक्रान्त पारको मैले देखेको थिए । बाली प्रायःदीपको पश्चिमतिर अस्ताउनै लागेको सूर्यलाई हेरेर उनले धेरै आसु खसालेकी थिई । सूर्य अस्ताएको दृश्यले साह्रै आक्रान्त हुने कुरा यस अघिपनि उस्ले सुनाएकै हो । प्रकृतिका तमाम दृश्य र अवस्था संग जीवनको दर्शनलाई आत्मासात गर्दै आफ्नै निक्र्योल निकाल्ने विशेषता मैले बुझदा सम्मको उस्को स्वभावभित्र पर्दथ्यो । साँझ पर्दा ताका समुद्री किनारामा भेटिने अर्धनग्न पश्चिमेली पयर्टकहरू भने उस्का लागि स्वतन्त्रताको पराकाष्टा छिचोल्ने परिदृष्यहरू थिए रे । एक साँझ वाँसको टाटीले बेरेर बनाएको रेष्टुरेन्टमा पलेटीकसेर चाउचाउ खादै उस्ले भनेकी थिई ।

हवाइजहाज एक्कासी आफ्नो अवस्था बाट तल झर्यो । विचारको तन्द्राबाट म झसङ्ग भए । मौसम को खराबीले जहाज केही हल्लिएको हुनसक्छ तर परिचारिकाबाट त्यस्तो कुनै सन्देश जहाज भित्र सुनाइएन । यतिकैमा मेरो आफ्नो सोचाइको मौनतालाई चिर्दै ऊ फेरि भन्न थाली ूबुझयौ नेपाल, १ जीवन भनेको यही हो । जीवन भनेको यात्रा हो, एउटा सिद्धान्तहीन यात्रा । यात्रा कहिल्यै सिद्धान्तनिष्ठ हुनै सक्दैन । बाटाहरू जता घुमे हामीले नचाहँदा नचाहँदै पनि बाटाले हिंडाएको ठाउँ भएर हिंडनु पर्छ र उसकै अनुसरण गर्नुपर्छ । भन त यसमा हाम्रो के आफ्नो अस्मिता र अस्तित्व हुन्छ – पलपलमा फेरिइरहने बादले आकृतिलाई आत्मसात गरेर होला सुश्री बर्माले वडो नमिठो उच्छ्वास छोडेर मलाई प्रश्न गरी । प्रकृति र वातावरणले हामीलाई एउटा दार्शनिक दिशातिर मोडिरहेको थियो । आफ्नो सिद्धान्तमा सधैं एकाकार रहने र आफ्नै पनको वकालत आफ्नो जीवनमा सधैं भरिरहने मान्छे कहिले प्रकृतिको सामिप्यमा बाच्न सक्दैन । यो एउटा आफ्नै पनको लिंडे प्रतिनिधित्व गर्ने एक कठोर वकालत हो । कठोर कानुन हो बुझयौ-तिमी आफै भन त,यी बादलहरु कति कोमल र नरम छन् र नै प्रकृतिको यो छातीमा अटाएर आफ्नो खुलापन सम्पूर्ण धर्तीभरि छरिरहेछन् । के हामी मान्छेहरू यस्तै छौ त – कदापि छैनौ । र नै हामी कठोर सिद्धान्तनिष्ठताको वकालत गरेर मूर्ख समुदायहरूलाइ ठगिरहेकाछाै ताकि ठगिनेहरू हामीबाट रत्तिभर पनि ठगिएको आभास पाउन्नन् । हाम्रो सत्ता सधैंभरि जोगाउनुमा र जिउँदो रहेर हाम्रो अस्तित्वको बनावटी र्ढरा छर्नुमा यही ठूलो दर्शनले भूमिका खेलेको छ । र म यो पनि तिमीलाई भन्दछु कठोरपनको बनावटी स्वांङ्ले हामीहरूले मानव समुदायको लिगलाई अर्कै ठाउँ छोडेर कृत्रिम र तल्लो दर्जाको बाटो समातेका छाै मलाई यो थाहा छ, हामीले हिंड्ने लिगले मान्छेको सास्वत् मर्मलाई कुठाराघात गरेको छ । हामीले अरु सबैलाई ठग्नसकेर पनि आफैलाई छलछाम् गर्न र ठग्न सकिरहेका छैनाै । यो बौद्धिकता बोक्नेहरूको सबैभन्दा ठूलो समस्या र पश्चातापको विषय हो ।

सबै कुरा उसले एकै सासमा भनेर सिद्धर्याई । मानौं म उसको विचार र दर्शन पोख्ने र पचाउने भाडो हुँ । म केवल उसैको कुरा सुनिरहेको थिएँ । उसैका मर्महरु आफुभित्र गमिरहेको थिएँ । उसले जे भन्दै थिर्इ, एउटा बादल बोलिरहेको मलाई आभास भइरहेको थियो । वास्तवमा म पनि एउटा बादलकै पर्याय थिएँ र ऊ पनि एउटै बादलको पर्याय थिई । हामी दुवै एउटै पर्याय थियौं । बादल जो कहिल्यै कठोर भएर एउटा सिद्धान्तनिष्ठको झुठो स्वांङ् रचेर चोखो धर्तीलाई ठग्न सकिरहेको थिएन । ऊ एउटा क्षण-क्षणमै बदलिरहने विविध आकृति बोकेको अस्तित्वहीन बिचार थियो ।

अहिले म आफुलाई बादल झै सोच्न थालिसकेको छु । म मुनिको बादलले मेरो विचारको कदर गरेर हिंडिरहेको छ ।

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.