~डा. कपिलदेव लामिछाने~
रुरी कामले सरकारी कार्यालय पुगेँ । फाइल पेस गरेँ । भोलि आउनुहोस् भन्ने जबाफ पाएँ । उही भानुभक्तकै पालाको शैलीमा ।
भोलिपल्ट जाँदा थाहा भयो– फाइल त्यहाँबाट हिँडेको छ, तर चक्कर काटेर आइपुगेको छैन । विज्ञान पढेको याद आयो र त्यसको उपयोग गर्दै झट्ट सोधेँ– पृथ्वीलाई सूर्यको एक चक्कर लगाउन चौबीस घन्टा लाग्छ भने एउटा फाइललाई फाँट–फाँटको चक्कर लगाएर आउन कति घन्टा लाग्छ ?
फाँटवाला अप्ठेरोमा परे जस्तो देखियो, घोरियो र आयोग पास गरेर आएको दक्षता देखाउँदै बोल्यो– हेर्नुस्, पृथ्वीको निश्चित गति र अक्ष हुन्छ र अक्षमा घुम्छ, तर तपाईंको फाइलको कुनै गति पनि छैन, कुनै अक्ष पनि छैन । त्यसैले कति घन्टा लाग्छ त्यो कुनै विज्ञानले अहिलेसम्म भन्न सकेको छैन । छ भन्ने भन्नुस् !
अब म आफैँ अप्ठेरोमा परेँ । सोचेँ– अब यहाँ चक्करको टक्करले हुँदैन । काम बनाउनु छ । अनि नम्र भएर अज्ञानी झैँ भएर झुकेर भनेँ– मलाई विज्ञानसिज्ञान आउँदैन । माफ गर्नुहोस् । उपाय बताउनु होस् ।
उनले कानमा फुस्फुसाउँदै भने– यसको पनि विज्ञान छ । मनोविज्ञान । मनोविज्ञान बुझेर काम गर्नु होस् । तपाईंको फाइल पृथ्वीभन्दा छिट्टै घुम्न सक्छ । नमिलेको भए मिल्न सक्छ । अक्ष नभए अक्ष भेटिन्छ ।
डा. कपिल लामिछाने,
भैरहवा ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )