~जीवन क्षेत्री~
युवती विधवाको बाँझो सिउँदो
कमिला हिँडेको खहरेको बगर
कोराले बेरिएको विधवाको शरीर
नभत्केको घरको भग्नावशेष
पुस्तौंदेखिका अपराधीहरू
धर्मका तथाकथित ठेकेदारहरू
तिम्रो अपराधशास्त्रको कुरुप न्यायालयमा
नैतिकताका विभत्स दृष्यहरू
ती निमुखा आमाहरू, जो तिमीलाई जन्म दिन्छन्
ज्युँदै जलायौ ‘सती’का नाममा
फेरि लेख्दै हिँड्यौ– नैतिकताका पोथाहरू
फैलाउँदै गयौ पाखण्डको नग्न जीजिविसाहरू
ती दिदीहरू, जो तिम्रो दीर्घायूका लागि पूजा गर्छन्
वञ्चित ग-यौ पैतृक सम्पत्तिको स्वामित्वबाट
दैलोबाट धकेल्दै भन्यौ– ‘मारे पाप पाले पुण्य’
ती बुहारीहरू, जो भनेजति दाइजो ल्याउन सक्दैनन्
भीरबाट घचेडिदियो र भन्यो– दुर्घटना
ए निर्लज्ज पाखण्डीहरू ∕
अझ आराधना गर्छौ देवीको, बोको बली चढाउँछौ
कान टट्याउने प्रशंसा गर्छौ मातृभक्तिको
आजीवन आधा पेट खाने आमाहरूलाई
कहिल्यै सोध्यो मनमा कुन इच्छा थियो ?
उल्टै घिसार्दै लग्यौ बाबुको शवमा
हात काट्ने गरी चुरा फोडिदियौ र विधवा घोषित ग¥यौ
स्वघोषित युवा विद्वानहरू ∕
हुरुक्क हुन्छौ कथित परम्परा बचाउन
मृत संवेदना र मुर्छित मानवताको बीचबाट
महिमा गाउँछौ संस्कृतिका कुरुप छटाहरूको
आमाहरूलाई पोल्ने, दिदीहरूलाई पाल्नेले कति पुण्य कमाए
यसको लेखाजोखा गर्दै गर
अमानवीय कर्मकाण्डको मोसोले
दानवीय देखिएको तिम्रो विरुप अनुहारमा
एक लिटर पेट्रोल छर्केर जलाइदिन सके
आमाहरूको आत्माले शान्ति पाउँथे
एक नवी युगको सुरुआत हुन्थ्यो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)