कविता : मलाई पर्खेको होला

~पुरुशोतम सुबेदी~Purushotam Subedi

पाखा बारीको ऐसेलु र मौवाको टपरीले मलाई पर्खेको होला
अर्ध कांचो हाडे काफलगेडी अझै पनि म तर्फै फर्केको होला
जनक दाईको बारीको पाकेको आलुबखडाले मेरै बाटो कुरेको होला

पारी बनको कालनिउरी टिप्दा हराएको बाख्री अझै फेला परेन
चैतमासको तिरतिरे धारो अंधेरीखोलाको चिसो पानी तै प्यास मरेन

गाह्रो भारी उकालीमा छोटो नाम्लो मेरो निष्ठूरी जुठेले मलाई पर्खेन
फाल्गुनमै उकाली लागेको लहरेचरीले मलाई बिर्सेंछ क्यार खै अझै फर्केन

अक्ष तिर्तियाको गुलियो जौको सातु – पन्ध्र असारको झिनुवाको खाजा
बल्लवी दिदिको बिहेमा खाएको सारो न सारो गुलियो क्या मिठो कसार

भदौरे झरी गुए गौंडीका कांक्रा होली पुर्णिमाको रङले मलाई पर्खेको होला
जोरभैंसी लैना भदौरेमहिना तिजमा दिदीले पकाएको खिरले मलाई पर्खेको होला

सक्रान्तीको मेला उसिनेको तरुल र देउसी भैलोको रोटीले मलाई पर्खेकै होला
परिवर्तनको नाउँमा बिचरा गोरे जुठे मारिए अबत देशले कोल्टो फर्केकै होला ……

पुरुशोतम सुबेदी
बेल्जियम

(स्रोत : ईलम्जुङ् डट काम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.