~राजमाया पुतवार~
एकादेशमा एउटी बुढी थिइन् । कुनै बेला उनको नि दिन थियो– लहलहाउँदो बैंस, हरहराउँदो जवानी । बाटोमा जसले देखे नि लोभिन्थे । इस्कुलका केटाकेटीदेखि वृद्धाश्रमका बुढाहरु समेत फिदा थिए उनमा । एक नजर पाउने लोभमा बाटोमा कुरेर बस्थे ।
उनी पनि त्यस्तै थिइन् नि । आँखाले हेरेर आगो बाल्दिन्थिन् । देशलाई कहाँबाट कहाँ पुर्याउँछु भन्थिन् । गरिन् पनि त्यस्तै । उनको आँखाको नचाइ, कुमको घुमाइ र बुढीऔँलाको फिराइको चालमा देशमा कहिल्यै नभएका कुरा भए । देशले कोल्टे फेरेकै थियो ।
तर समय बेइमान । कहाँ समय एकैनास हुन्छ र ! हिजो पुर्ने, आज औँसी । अघि बिहान, अहिले साँझ । बैंस बलेका बेलामा उनले केही केही नकाम गरिन् जानेर वा नजानेरै । मान्छेले ईख राखे । अनि उनको दुर्दिन शुरु भयो । ओरालो लागेपछि ककल्ले खेद्छ हामीलाई थाहा भएकै कुरा हो ।
एक्लै संसार हाँक्छु भन्थिन्, पछि त बिहे नगरी नहुने कुरा भयो । मौका पारेर कल्ले हो कुन्नी, च्यानकुटी च्यानकुटी गरेर लग्यो । कस्ता कस्ता काम गर्छु भन्थिन्, अर्काकी बुढी भएर कुना पसेर रोटी पकाउने बाहेक केही गर्न नसक्ने भइन् । बिचरी ।
आदिवासी, जनजाति, मधेसी, दलितहरुलाई ‘यो दिन्छु त्यो दिन्छु’ भन्दै उचाल्ने उचाल्ने अनि थचार्ने कलामा सिपालु भएकीले उनलाई लोभ्याउनेहरु पनि त्यस्तै थिए । उनीहरु ‘नाच’ भन्ने अनि उनी चैं कम्मर मर्काई मर्काई नाचिदिने । जहाँजहाँ उनी पुग्थिन् त्यहाँत्यहाँ महफिल बस्थ्यो । रातमा दिन हुन्थ्यो, अरु के कुरा गरुँ, उनको डिमान्ड जहाँतहीँ थियो । बैंस ढले पनि कला भने त्यस्तै थियो नि ।
भन्न नहुने कुरा, अरुलाई नभन्नु नि । उनी त साह्रैकी भइछिन् । भन्न पनि लाजको मर्दो । के कुरा भने नि, ओहो, नाइँ भन्दिनँ, मलाई नै लाज लाग्यो । छ्या, अरुले सुने मलाई नै मार्छ । के कुरा भने नि । कसैलाई नभन्नु नि फेरि । उनी त, फेरि अरुतिर नि चहार्ने भइछिन् । तपाईंलाई मात्र भनेको नि सुटुक्क । जहाँ गुलियो, त्यहीँ कुन्नीको जाति भुलियो भनेझैं । उनलाई त नयाँ नयाँ मान्छेसँग भुल्ने रोग पो लागेछ बाबै ।
अब त जसजसले बोलायो उतैतिर सल्किने अनि उनीहरुलाई पुगेपछि फर्काइदिने पो भएछ । मान्छेले आफ्नो लक्ष्य बिर्सेपछि जे पनि गर्छ भन्थे बुढापाकाहरु, उनी पनि त्यस्तै भइछिन् । जसका लागि जे पनि गरिदिने । तर उनको बैंस चाहिएर बोलाएकाहरुले सधैँ के राख्थे र । दुई चार दिन राख्थे, अघाएपछि निहुँ खोजीखोजी फर्काइदिन्थे । उनी पनि चाहिएको पाइहाल्यो भनेर फर्केर आउँथिन् ।
उहिले बाख्रासँग मिलेर ‘धान’ फलाएको नाटक खेलेर ठूलै पुरस्कार पाएकी थिइन् । तर जोरीपारीले धेरै गिल्ला गरेछ, भन्नु नभन्नु भनेछन्. । उनको व्यहोरा नि त्यस्तै भयो, संगत गुणाका फल न हो । मान्छेले सधैँ कहाँ मन पराइराख्छ र ।
एक दिन बुढी फरियाको सप्को टोकेर गम्न थालिन् । एकातिर मान्छेहरुले गन्न छाडेका थिए भने अर्काेतिर बाख्रातिरबाट पनि मन भर्न थालेको थियो । अर्कोतिर आँखा जान थालेको थियो । बानी न हो, कहाँ छुट्थ्यो ।
“लाने हो ?,” उनले सोधिन् ।
“लाने त हो, तर तँलाई पाल्न सक्दिनँ । बिहे गर्ने भए अलि दाइजो लिएर आइज,” नयाँ बुढाले भन्यो ।
अस्ति घुम्दैफिर्दै टुँडिखेलतिर गइन् । नाच्ने गाउने माहौल थियो । एक दुई जनाले माया देखाएपछि त उनी चम्किन् । मौका यही हो, यिनीहरुलाई फेरि फँसाउनु पर्छ भनेर पुरानै इस्टाइलमा कुम हल्लाउँदै फलाक्न थालिन्, “चिन्नुभो मलाई ? म उही क्या त । तपाईंहरुकी प्यारी मैयाँ महारानी छोरी । भुल्नुभयो ? आज माइतिघर आएँ । तपाईंहरुको माया चाहियो अब । अस्तिको बुढा त धेरै माया गर्दैन क्या । मलाई अरुसँग बिहे गर्न मन लागेर यहाँ आएको । अहिलेको बुढा त तगडा छ । उल्लाई अलि दाइजो चाहियो रे । तपाईंकहाँ आएर अलि दाइजो लान पाए त उसले मलाई राख्छु भनेको छ । नाइँ नभन्नु ल ।”
वरिपरि झुम्मेर बसेका मान्छेहरु ट्वाँ परे । यतिसम्म लाज पचेको भइसकिन् भनेर कसैले नसोचेको । जेहोस् माइती भनेर आएकी छिन्, गाली नै गरेर त पठाउन हाम्रो संस्कृतिले पनि दिँदैन । तर लोग्नेको ठेगान नभएको, नौ नौ महिनामा अर्को लोग्ने खोज्ने भइसकेकीलाई माइतीले पनि कहाँ छोरी भनेर माया गर्छ र ! हैन ? आफ्नै समुदायलाई लात मार्नेलाई माइतीले पनि त माया गरेर राख्ने कुरा भएन नि । जहाँसुकै जाओस् भनेर भनिदिए ।
उसैको एकजना भाइले त सुन्ने गरी नै भनिदिए त्यहीँ ‘तैँ त हो नि, हामीलाई ठुल्ठुलो कुरा सुनाएर पोइल गएकी’ भनेर । सुन्नेहरुलाई नै कस्तो लाज लागेको, उनलाई भने पटक्कै लाज लागेको थिएन । अझ जवाफ पो दिइन्, “गुनासाहरु त भइहाल्छ’ रे ल । भो अब ? तै माइतीखलकका मान्छेहरु भलादमी थिए र मात्र, नत्र त्यहीँ जात्रा देखाइदिन्थे उनलाई ।
छेवैमा एकजना गाउँकी हजुरआमा भन्दैथिइन्, “आउनु आइहालिस् । शरण आएकीलाई मरण त नगर्नु भन्छन् । जे भयो भयो, अब आइन्दा धेरै डुल्ने होइन । माइतीको इज्जत राखेस् । फेरि यस्तो उस्तो सुन्नुपर्यो भने राम्रो हुँदैन ।”
(स्रोत : ई-समता डट कम)