कविता : आत्मकथा

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

कन्दरा संझेर
विगतलाई जोख्दिन,
सहारा खोजेर
शिखर म चढ्दीन,
सयपत्री छटाको
म एक थुँगा फूल।
**
जवानीले मदहोश
ईर्ष्या केही साँच्दिन,
स्वार्थ बीच भुलेर
द्वेष म छर्दिन,
विशुध्द बान्कीको
म एक थुँगा फूल।
**
वैंशमा दाँजिदा
उपमा देख्दिन,
आभामा मस्किंदा
गति म रोज्दिन,
अस्तित्व यौवनको
म एक थुँगा फूल।
**
थालनी कार्यको
म अग्र-सारथी,
प्रेम र विछोडमा
म बोल्छु आरती,
अब्बल यो चिनोको
म एक थुँगा फूल।
**
पारखी बनेर
गन्तव्य खोज्दिन,
बिदाईमा बोकिंदा
नीरस म पर्दिन,
फक्रिँदो गौरवको
म एक थुँगा फूल।
**
द्वारमा सजिंदा
म नीच पर्दिन,
शिरमा लगाउँदा
म नशा छर्दिन,
सौन्दर्य साँच्चीको
म एक थुँगा फूल।
**
आशालाई छेकेर
मोहनी भर्दिन,
कल्पना साँचेर
म भर पर्दिन,
अतुल्य बासनाको
म एक थुँगा फूल।
**
प्रकृति जितेर
भरोसा म बोक्दिन,
वैंश नझरोस्
कामना म गर्दिन,
अनुपम कलाको
म एक थुँगा फूल।
**
नियति मिचेर
इच्छा म बाँच्दिन,
ओइलिन नपरोस्
विनय म गर्दिन,
भमरा-भुल्दैको
म एक थुँगा फूल।
**
भइदियोस् रोजेको
श्रृङ्गार भर्दिन,
झुल्कियोस् सोचेको
निखार खोज्दिन,
षोडशी आशाको
म एक थुँगा फूल।
‌‌‍‍** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.