~अज्ञात कवी~
अधिकार ल्याउँछु भनी हिंडेका बा
फर्कदै फर्केनन कहिल्यै
आमा पनि हिँडिन खै कता
अलिकती भएको श्रीसम्पती
साहुले खोस्यो, किन कसरी पत्तै भएन ।
आईपुगे म पनि तिम्रै छिँडिमा
अब म पनि तिमी जस्तै
घाम खाँदै, झरी खाँदै
दुई चार बोतल लाउने भाको छु
शहिदज्यु हजुर पनि एक प्याक तान्ने कि
आज त जर्किन नै बोकी आकोछु ।
कसैले भन्छन
मेरा बालाई गोली लागेको
कसैले भन्छन
मेरा बालाई डोरिको फासी लागेको
तिम्रो नाममा कतिले पद जमाए
बाको नाममा कतिले दाम कमाए
तिमीलाई पनि कसैले पुज्दैनन
शहिदको छोरो भनी
मलाई पनि कसैले पुच्दैनन
त्यसैले मन भुलाउन
आज टुन्न लोकल ठर्रा लाको छु
शहिदज्यु एक घुटको लाउने कि
आज त जर्किन नै बोकी आको छु ।
मेरै कोटामा
खै को डाक्टर बनी आयो रे
मेरै बाको नाममा पैसो निकालेर
खै कसले कती खायो रे
तिमी पनि बिच सडकमा दिन कटाउदै छौ
म पनि सडक छेउमा रात कताउदै छु
म पनि तिमी जस्तै जिउदो शहीद भाको छु
आज शहिद दिवस भएर हो की
सधैं भोको भए पनि
आज पेट भरी पाको छु
त्यसैले
टुन्न पेवोर लोकल लाको छु
शहिदज्यू हजुर पनि
एक प्याक तान्ने कि
आज त जर्किन नै बोकी आको छु ।
(स्रोत : एभरेष्ट दैनिक डट कम)