कविता : जिब्रो

~सरिता तिवारी~Sarita Tiwari

उहिले
थिएन यति लामो जिब्रो

कसरी भयो यो
यति लामो
पातलो
र तिखो ?

छुराजस्तो ?

तपाईंले उर्दी गरिसकेपछि
मौन नै रहनुपर्थ्यो
तपाईंले आज्ञा दिइसकेपछि
बोल्दाबोल्दै पनि अडिनुपर्थ्यो
तर किन चुप लाग्दैन यो ?

तपाईंलाई केही थाहा छ ?

अपलक
तपाईंले रुङ्दारुङ्दै
तपाईंले शासन गर्दागर्दै
किलकिलेदेखि दाँतको फेदसम्मको आयतन नाघेर
पुगिसकेको छ जिब्रो
कचहरीमा
थानामा
अड्डामा

पुगिसकेको छ
संसदमा

जीवविज्ञानीहरू समेत हैरान हुने गरी
फेरिसकेको छ जिब्रोले
रुप
आकार
र ठेगाना

कति फुस्रो भएको तपाईंको अनुहार ?
कहाँ उड्यो गालाको लाली ?
हेर्न लायक छ
तपाईं डराएर बर्बराइरहनुभएको दृश्य !

के तपाईंलाई लागिरहेको छ साँच्चिकै डर
निहत्थो जिब्रोसित ?

तर रहेन जिब्रो अब
केवल एक मौन ज्ञानेन्द्रिय (ज्ञानी इन्द्रिय) !

योचाहिँ सत्य हो ।

(स्रोत : ई-समता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.