निबन्ध : याे सहर माकुराकाे जालाे

~गाेकर्ण भट्ट~Gokarna Bhatta

‘ल हेर्नु त मानिसहरु’ उनी भन्दै थिए, ‘तछाडमछाड छ, भागेका छन, दौडेका छन, कोहि सङ्ग फुर्सद छैन । कुरा गर्दा सबै बेरोजगार छन ।’

‘यो शहर हो नि दाइ । शहर मा नभागेर कहा दौडिएलान र मान्छेहरु’ मैले भने ।

‘खै के हो के हो, दिक्क लागी सक्यो, यो ठाउँ छोडेर कतै जाम भन्ने सोच्छु ।’

‘तर तपाइ सक्नु हुन्न शहरबाट भाग्न पनि । यो एउटा माकुरो को जालो हो, पासो’ मैले भने ।

तेस्तै रहेछ, केहि गरम्ला भनेर १५ वर्षअघि यहाँ छिरेको, आज होला, भोली होला भन्दाभन्दै बुढो पो भएछु’ उनको मुखमा बिरक्ती झल्किदै थियो ।

‘दिनभरी शहरमा भागदौड, सुत्नुअगाडि भोलीको योजना, उठेपछि फेरि उहि अर्थहीन व्यस्तता । शहर भनेकै यही त हो दाइ’ मलार्इ दर्शन छाट्न मन लागिरहेको थियो ।

हामी पुल्चोकबाट अनामनगर आइरहेका थियौ ट्याक्सीमा, उनी ट्याक्सी चलाउदै थिए । थापाथली पुलको जामले शहरको आलोचना गर्ने वातावरण जन्माएको थियो ।

थापाथली पुल, शहरको ब्यस्ततामा एकछिन फुर्सद पाएर झर्किने अवसर पाइने ठाउँ । पूर्वतिरको सुकुम्वासी बस्तीले जिस्क्याइरहेको सहर । एक सेकेन्ड पनि धैर्यता राख्न नसको लेन मिच्दा त ट्राफिकको फन्दामा पर्ने नियती । सोचेँ यो लेन मिच्नु पनि त शहर कै विशेषता हो नि । गाउँमा केको लेन मिच्नु । त्यसो त यो शहर एउटा सुपरमार्केट जस्तै हो, लिफ्ट चढ्ने रहरमा छिरेको मान्छेलाई केही न केही खर्च गर्नै पर्ने बनाइदिने ।

आकर्षक प्याकेजको पत्यून (डोटेली भाषामा गाइभैसीलार्इ दूध निकाल्दा हालिने घासबस्तु) मा उपभोक्तालाई कमसल सामान भिडाउन खप्पिस । त्यहा मोलतोल हुन्न, यान्त्रिक सम्बन्ध ।

जाम खुल्यो र हाम्रा कुरा बन्द भए ।

माइतीघरमा फ़ेरि जाम । माइक्रो बसले जेब्रा क्रसमा हिडिरहेका यात्रुलार्इ ठोकेछ । यो पनि सहरकै विशेषता भनौ, माइक्रोले नकुदाउने हो भने अर्कै माइक्रोले प्यासेन्जर लुछिदिन्छ । बिचरा जेब्रा क्रस । अस्पतालको पिढीमा खर्च नभएर पल्टिएको बिरामी जस्तै । छन त छ, तर अस्तित्व छैन । पैदल यात्रुहरुका लागि बनाएको हो भने जेब्रामा हिडेकै बेला किन कुल्चिइन्छन् उनीहरु ?

‘के पाउन यसरी यस्तो भाग्दौड होला है भाइ ?’ शहरका नियम निर्माण गर्ने सिंहदरबारको पर्खाल साक्षी राखेर उनले सोधे ।

‘खै दाइ, मर्दा त तै पशुपति न हो सबै जाने, लाशमा कसैले बढी फूल राख्लान, कसैले एक्लै काधमा लैजालान, तर चितामा जो पनि नाङ्गो नै सुत्ने हो’ मलाई
पनि विरक्तिले घेरी सकेको थियो ।

उनि केहि बोलेनन् । हामी हनुमानस्थान पुगिसकेका थियौ ।

‘जति लुछेपनी, एकमाथी अर्कोले टेकेर जति दौडिएपनि, सम्पत्ति, मान, हैसियतको जति धाक लगाएपनि आखिर अन्तिममा त्यही चितानै सत्य हो दाइ’ मैले फेरि भने ।

लाग्यो– कम्तीमा चिताका लागि भने सहरका नियम लागु नहुने रहेछ ।
पूर्वीगेट आइसकेको थियो ।

(स्रोत : एभरेष्ट दैनिक डट कम)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.