कथा : मास्टर काका

~आर. खर्बुजा~

त्यतिखेर नगरभित्र रहेका प्रत्येक घरधुरीहरुमा अनिवार्य शौचालय निर्माण गर्नैपर्ने नियम थियो। पारित नियम नगरवासीहरुले उत्साहपूर्वक कार्यान्वयन गररुन् भन्ने हेतुले शौचालय निर्माण कार्य सम्पन्न हुने बित्तिकै नगरपालिकामा जानकारी दिने नगरवासीलाई रु १,२००/– आर्थिक अनुदान दिने सूचनासमेत प्रकाशित गरेको थियो सूचनापश्चात् मास्टर काकाले पनि आफ्नो घरमा शौचालय बनाउनु भएको रहेछ। त्यसैले अब नपासँग रु. ७०० भए पनि सहयोग लिनुपर्छ भन्ने सोचेर एउटा निवेदन तयार गरी वडा समितिको कार्यालयमा पुग्नुभएछ।

वडाअध्यक्ष कार्यकक्षमै थियो। आफ्नै भतिजो भएकोले कार्यकक्षमा प्रवेश गर्न मास्टर काकालाई कुनै सङ्कोच लागेन। सिधै गएर लौ भतिजा मैले शौचालय बनाइसकें, अब ७ सय रुपैयाँ पाउनुपर्‍यो। निवेदन पनि ल्याएको छु। वडाअध्यक्षलाई सजिलै भयो। बस्नुस्सम्म पनि भनिरहनु परेन। उहाँ यस अगाडि नै एउटा मेचमा थचक्क बसिसक्नुभएछ। मास्टर काका तपाईंको त्यति ठूलो परिवार छ, कमसेकम एउटा शौचालय त बनाउनु पर्‍र्यो नि भन्दा भन्दै थाकेका वडाअध्यक्ष खुसी नहुने त कुरै भएन। आफ्नो मास्टर काकालाई शौचालय बनाएकोमा धन्यवाद दिंदै निवेदन आफ्नो हातमा लियो र पढ्न थाल्यो।

त्यस्ता हजारौं निवेदनहरु पढ्ने, मागअनुसार तोक आदेश र सिफारिस दिने वडाअध्यक्षले मास्टर काकाको निवेदन पढ्ने कोसिस त गरे, तर बुझ्नै सकेन र आफ्नो मास्टर काकालाई भनिहाल्यो। हत्तेरिका काका, एउटा निवेदन पनि आफै नलेखी किन बच्चाहरुलाई लेखाउनुहुन्छ, मैले त बुझ्नै सकिनँ। लौ तपार्इं आफै लेख्नुस् कागज यही छ भनेर एउटा फुलिस्केप पनि मास्टर काकालाई दियो। मास्टर काका पनि अचम्म मान्दै क्या फसादको भतिजो, यो कहाँ बच्चाहरुले लेखेको हो र म आफैले कति मिहिनेत गरेर लेखेको निवेदनलाई बच्चाहरुले लेखेको भनेर त्यतिकै आरोप लगाउँछ। कस्तो वडाध्यक्ष बा, आफनै भतिजो भएर पनि त्यस्तो भन्न हुन्छ?

वडाध्यक्षलाई पर्‍यो फसाद। एकछिन त अलमलियोे पनि। अनि विस्तारै आफ्नो मास्टर काकासँग सोध्यो – काका तपार्इं मास्टर भएको कति वर्ष भयो रे, भयो नि अब १५ नाघेर १६ मा पुग्दैछु, ३/४ वर्ष पछि रिटायर हुने भयो, के गर्ने? मास्टर काकाको जवाफ सुनेर वडाध्यक्षलाई त्वाँ नपरी सुखै भएन र पनि अर्को प्रश्न गरिहाले, अनि मास्टर काका तपार्इं स्कूलमा के विषय पढाउनुहुन्छ? प्रश्न भुइँमा परेको थिएन मास्टर काका न हो जवाफ आइहाल्यो नेपाली हो, म नेपाली पढाउँछु। वडाध्यक्षलाई लाग्यो मास्टर काकासँग अब कुनै दिन बसेर नै कुराकानी गर्नुपर्छ।

मास्टर काका र वडाध्यक्ष नजिककै आफन्त भएकोले घर अलि टाढा रहे पनि खेत भने जोडिएकै थियो। मास्टर काका कसरी मिलाउँछ कुन्नि खेतमा नभएको कुनै दिनै हुन्न। वडाध्यक्ष पनि शनिबार वा अन्य कुनै बिदाको दिन भएपछि खेतको काममा परिवारलाई सघाउने गर्थ्यो। त्यसै क्रममा एकदिन मास्टर काका र वडाध्यक्ष भतिजा दिनभरि नै खेतमा सँगै काम गर्ने अवसर जुर्यो। मास्टर काकासँग कुनै दिन कुरा गर्ने पर्खाइमा रहेका वडाध्यक्षले पनि अवसरलाई किन खेर जान दिन्थ्यो र, काका भतिजाको भलाकुसारी सुरु भइहाल्यो।

काका तपाईं मास्टर, गुण्डू गाविससम्म पुग्नुपर्छ भन्नुहुन्छ, बिहान ९/१० बजेसम्म र दिउँसो १२–१ बजेपछि हरेक दिन खेतमै देखिने गर्नुहुन्छ, कसरी मिलाउनुहुन्छ समय? मलाई त आश्चर्य लाग्छ। हेर भतिजा, म त्यतिकै ठूलो पार्टीमा लागेको हैन नि, कुरा बुझन। मैले पढाउनैपर्छ भन्ने छैन के, हाजिर गर्ने, ताप कस्ने, बस सकिगो। काकाको सहज जवाफ थियो।

मास्टर काकाको जवाफ सुनेर अक्कमक्कमा परेर त्वाँ परिरहेको बेला मास्टर काकाकी जेठी बुहारीले भनिहालिन् – कहाँ दाइ हाम्रो बा स्कूल जानुहुँदा हर्लिक्स सिसीमा भ्यावर (एक प्रकारको बाक्लो जाँड) राखेर गोरखापत्रले बेर्नुहुन्छ र झोलामा राखी हिंड्नुहुन्छ। तर वडाध्यक्ष भतिजालाई बुहारीको कुरामा त्यतिबेलासम्म विश्वास लागेको थिएन, उसलाई लागेको थियो स्कूलमा पनि कहीं जाँड लिएर जान्छ र? तर त्यो विश्वास एकैछिनपछि तब भङ्ग भयो जब मास्टर काकाले आफ्नो बुहारीलाई नकरा आफ्नो ससुराको बेइज्जत गर्छस् भनेर गाली गर्‍यो। अनि त वडाध्यक्षलाई मास्टर काका जाँड लिएर पनि स्कूल पुग्दोरहेछ भन्ने कुरा नपत्याई सुखै भएन। वडा अध्यक्षले मन मनै सोचे, काकाले अफिस वा कक्षा कोठामै सिसी त लाँदैन होला, आखिर कहाँ राख्छ होला त्यो जाँडले भरिएको बोतल १ हैन काका, लौ जाँड लिएर स्कूल त जानुभयो अनि स्कूल पुगेपछि कहाँ राख्नुहुन्छ र कहिले खानुहुन्छ? काकाको जवाफ थियो, गाउँको स्कूल हो, वरिपरि सबैतिर बाँसको झाङ छ, त्यही छोड्ने र समय मिलाएर खाने नि, कसलाई के थाहा!

कल्पनाभन्दा कहाँ हो कहाँको यथार्थ सुन्दा कसलाई पो आश्चर्य नलाग्ला। मास्टर काकालाई अर्को एउटा प्रस्ताव राखिहालौं भन्ने वडाध्यक्ष भतिजोलाई लागेछ। काका तपार्इं त नमुना मास्टर हुनुहुँदोरहेछ अब तपार्इंको उमेर पनि बढिसक्यो दैनिक त्यहाँसम्म जाउ, फर्क, बरु महिनाको एकचोटि हाजिर गरेर घरमै तलब पुग्ने व्यवस्था भयो भने सजिलो होला है यहाँलाई।

मास्टर काका एकक्षण मौन बस्नुभयो। मुखाकृतिबाट मनमा केही खलबल भइरहेको भान स्पष्ट देखिन्थ्यो। मानौं गहन रुपमा सोचिरहेको थियो। अनि पल्याकपुलुक यताउति हेर्दै भतिजोको नजिक आउँदै– हैन भतिजो कहींकतै यसो भनसुन गरेर हुने भए गरौं न प्रयास, म त्यतिकै काङ्ग्रेस भएको हैन के? यही मास्टर जागिरकै लागि त हो नि नत्र को बन्छ काङ्ग्रेस। लौन भतिजो काकाको लागि भतिजोले त्यति कष्ट गरिदिएमा पक्का तिमै्र पक्षमा लौ। काकाको प्रस्ताव सुनेपछि वडाध्यक्ष भतिजो अल्मलियो र सोच्यो– क्या गजबको मास्टर काका।

एकाबिहानै मास्टर काका वडाध्यक्ष भतिजो भेट्न घरमै पुगे। के छ भतिजो तिमीसँग एउटा प्रस्ताव राखेको थिएँ, ३ महिना बित्यो खोइ जवाफ पनि आएका होइन, मलाई त अब सरुवा गर्ने भयो नि, त्यो पनि सिपाडोलमा, के गर्ने होला खै? किन र काका जहाँसुकै गएनि कुरो त उही हो, होइन र? के पो फरक पर्छ र त्यस्तो चिन्ता लिनुहुन्छ।

होइन भतिजो त्यहाँको हेडसर साह्रै कडा छन् रे, हुन त त्यो तिमै्र साथी हो, त्यसैले यसो एकपटक कुरा गर्नुपर्ला भन्न आएको के? ठिक्कै छ तपाई त्यहाँ जानुस्, हेडसरसँग भेट्नुस् र कति गतेदेखि हाजिर हुने हो बुझ्नुस्, अनि मैले के सहयोग गर्नुपर्ला गरौंला। नभए फोनमा कुरा गर्नु म नम्बर दिउँला। हुन्छ भन्दै मास्टर काका फोन नम्बर लिएर निस्के।

२/३ दिनपछि वडाध्यक्षको फोनमा घण्टी बज्यो। हेलो नमस्ते को बोल्नुभयो? जवाफ आयो, ए वडाध्यक्षज्यू म सिपाडोलको हेडसर, एउटा कुरा बुझौं भनेर फोन गरेको, कुरा के छ भने नि, तपार्इंको काकारे, गुण्डूबाट मकहाँ सरुवा गरेछ, वडाअध्यक्ष मेरो आफ्नै भतिजो र गुण्डूमा नेपाली पढाउने भन्नुहुन्छ, के छ भनेर बुझ्न खोजेको। ए ठिक्कै छ तपार्इंले राम्रै कुरा बुझ्न खोज्नु भएको रहेछ। पक्कै पनि उहाँ मेरो नजिक नाताकै काका हुनुहुन्छ, नेपाली विषय पढाउँदा पढाउँदै अब १/२ वर्षमै अवकास पनि पाउने भयो। १६/१७ वर्षदेखि शिक्षण पेसामा लाग्नुभएको हो। अब आफ्नै काकाको विषयमा म अरु थप के भनौं र खै। उहाँसँग लामो परीक्षा लिइरहनु पर्दैन, बरु जुन दिन तपाईंको विद्यालयमा हाजिर हुनको लागि पहिलो दिन पुग्नुहुन्छ नि, बस त्यस दिन बिहान घरदेखि स्कूलसम्म पुग्दाको एउटा सानो विवरण, दैनिकीजस्तो के, लेखाउनुस्, त्यसपछि तपाई आफैले बुझ्नुहुनेछ कि मेरो मास्टर काका कति योग्य र सक्षम हुनुहुन्छ। त्यसपछिको मूल्याङ्कन तपार्इंलाई नै जिम्मा दिन्छु, अरु कसैलाई दुःख दिनुपर्दैन। है त हेडसर लौ नमस्ते।

अचेल मास्टर काका सधैं हँसिलो मुद्रामा रहनुहुन्छ। चाँडै फर्के पनि स्कूल चाहिं दैनिक जानु हुँदारहेछन्। भेटघाटमा पनि के छ भतिजो भनेर निर्धक्क कुराकानी गर्नुहुन्छ। मानौं कि मास्टर काकाको लागि गुण्डूको भन्दा पनि सिपाडोलको स्कूलमा कता हो कता हाइसञ्चो छ। फापेको छ। तर वडाध्यक्षको मनमा भने सधैं खुल्दुली भइरहन्छ। आखिर मास्टर काकाले सिपाडोलमा के चमत्कार देखाए होला?

एकदिन एउटा कार्यक्रममा सिपाडोलका हेडसर र वडाअध्यक्षको भेटघाट भयो। हैन हेडसर मास्टर काका तपार्इंको स्कूलमा आएदेखि सधैं हाँसमुख देखिनुहुन्छ, के जादु छ तपार्इंसँग? कि मास्टर काकालाई ठीक पार्नुभयो? हेडसरको जवाफ थियो–हेर्नुस वडाध्यक्षज्यू तपार्इंको प्रश्न ठिक्कै छ, तर उत्तर नदिऊँ किनभने त्यस उत्तरले मास्टर पेशाकै अपमान हुन्छ। बरु तपाई आफ्नै काकासँग प्रतिकृया लिनुस्, के भन्नुहुँदोरहेछ।

हेडसरको कुराबाट वडाध्यक्षको खुल्दुली झन् बढ्न थाल्यो। लाग्यो काकाको प्रतिक्रिया बुझ्न बेर नलगाऔं। मङ्गलबारको दिन दिउँसो १२ बजिसकेको थियो। पक्कै पनि यतिबेला काका खेतमा हुनुपर्छ भन्ने लागेर वडाध्यक्ष खेततिर लागे, काका गोडमेल गर्दै थियो। हैन काका आज स्कूल बिदा हो कि क्या हो? के को बिदा हुनु भतिजो, हाजिर भएर आएको हो। ए, हो र तर काका अगाडी त तपार्इंले सिपाडोलको हेडसर कडा छ भन्नुभाथ्यो त। हरे भतिजो मैले त्यस्तो सुनेको थिएँ तर वास्तवमा उहाँ राम्रै हेडसर हुनुहुँदोरहेछ। मेरो अलिअलि तलब कताएर नेपाली पढाउने अर्कै एकजना मास्टर राखेछ। त्यसैले आजभोलि त्यहाँ मैले पढाउनुपर्दैन के, यसो चिठी पत्रहरु पुर्याउन जाने, टिफिनको लागि तरकारी किन्न जाने, पकाउने खुवाउने कहिलेकाहीं पियन दिदी नआउने बेलामा सरसफाइ र यसो ताकतुक काम गरे पुग्छ। त्यही भएर मलाई हाइसञ्चो छ। वडाध्यक्ष भएर पनि खै कुरा बुझेको यो भतिजोले ………………लाटा।

(स्रोत : मजदुर दैनिक)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.