~सुरेश बखुन्छें~
उहिले कसैले कसैलाई सराप्नु परेमा वा कसैसँग तगडाको झगडा परेमा गाली गर्नलाई “तेरो घरमा काङ्ग्रेस पसोस्” भन्थे अरे ! तर समय निकै बलवान छ। त्यो भन्दा पनि भीमसेनजस्ता पहलमानका गुरु हनुमानभन्दा तेजवान् छ। उहिलेको कुरा खुइलिई सके। त्यतिबेलाको कुरा यतिबेला कतिपय ठाउँ र परिस्थितिसँग नमिल्न पनि सक्छ। बिहान बोलेको कुरा बेलुकी बोलेकै होइन भनेर पुष्टि गर्ने बेलामा उहिलेको कुरा कहाँ मेल खान्छ र? उदाहरणका रुपमा हाम्रा बौबाजेको समयमा फर्केर हेरौं। त्यसबेला एक रुपैयाँ भए दिनभरलाई पुग्थ्यो अरे ! सय रुपैयाँले एक रोपनी जग्गा आउँथ्यो अरे ! बुढाहरूले त्यसबेला जन्माए पनि हुन्थ्यो नि …..! तर के गर्नु बौबाजेभन्दा अगाडि जन्मिन पनि त भएन ……। जे होस् त्यतिबेलाको सय रुपैयाँ र यतिबेलाको सय रुपैयाँ दाँजेर कहाँ हुन्छ र? यतिबेला हेर्नुस् त सय रुपैयाँले न गाडीभाडा पुग्छ न त इन्धन खर्च नै पुग्छ। यदि पुग्छ भने नर्सरी–एलकेजीतिर पढ्ने छोराछोरीलाई पकेट खर्च, पकेट खर्च नदिए आमाबाबुलाई यसो कड्के आँखा तर्छ। त्यसैले हावादारी होइन दावादारीका साथ भन्न सक्छौं– उहिलेको कुरा खुइले। फेरि आधुनिकताको नाममा अर्धनग्न पहिरन पहिरेर हिंड्न मेनका, उर्वशी, रम्भा अनि अप्सराहरूका अगाडि तथा हिपभन्दा मुनि खिप लगाएर शिवजीलाई पनि भाङ–धतुरी खान सिकाउने आधुनिक भोलेबाबाहरूका अगाडि उहिलेको रडि्डज् कुरा गर्यो भने ढाड सेकिन के बेर? सायद त्यही भएर हिजो आज प्रायःले कसैलाई गाली गर्नु परेमा लोकप्रिय अनि सम्मानजनक (या अपमानजनक?) शब्दको प्रयोग गर्दा हुन्। “तेरो घरमा सहिद जन्मोस्।”
ठूल्ठूला दलले विभिन्न रिसोर्टमा बसेर गर्ने गन्थन जस्तो नगरी सार कुराको मन्थन थालौं। गाँठी कुरो चाहिँ के हो भने हिजो आज वैज्ञानिक भूमिसुधार तथा वैज्ञानिक खेतीको व्यापकता छाएको छ। त्यसैले पनि विभिन्न सङ्गठनदेखि लिएर सङ्घ संस्था तथा भङ्ग भइसकेकोदेखि लिएर अरुलाई लडाएर दङ्ग पर्ने दलहरूले नयाँ खेतीको आविष्कार गरेका छन्। झट्ट हेर्दा खति भएझैं लाग्ने तर वास्तवमा लखपतिदेखि लिएर के–के पति बनाउने रहेछ, यो आधुनिक खेतीले। महादेवले तीननेत्र खोलिरहेको यो वर्तमान अवस्थामा कृषकहरूलेभन्दा व्यापारीले वा भनौं मध्यस्थकर्ताले बढी कुम्ल्याउनु कुनै नौलो कुरा भने पक्कै होइन। त्यसैले पनि सङ्घ सङ्गठहरू होस् या कुनै दल वा पार्टी नै किन नहोस्, यो आधुनिक सहिदको खेती गर्न र गराउन उक्साइरहेका छन्। घरघरमा गई सहिद उत्पादन गर्ने प्रविधिको सूचना दिँदैछन्, आफू मध्यस्थकर्ता बनेर।
हिजो आज सहिद फलाउन त्यति गार्हो पक्कै छैन। तँ आँट म पुर्याउँछ भन्ने उक्ति त छँदैछ। सहिद फलाउन खेतबारीमा गएर मलजल गरेझैं दुःख गर्नुपर्दैन। यसका लागि सबभन्दा पहिले बीउ (शव)लाई नगाडी नजलाई सडकमा लानुपर्छ। त्यसपछि नाराबाजी गर्ने, चक्काजाम गर्ने अनि उपत्यका बन्द गर्ने, नेपाल बन्द गर्ने आदि क्रमशः गर्दै जानुपर्छ। अँ साँच्ची मन्त्री/प्रधानमन्त्रीको राजीनामा माग्न भने भुल्नु हुन्न। अनि त केही दिनमै रु, दसलाखको सहिद उत्पादन भईहाल्छ। यति भएपछि अरु के नै चाहियो र !
आजभन्दा एक/डेढ वर्ष अगाडिको एउटा घटान सुनाउँछ। एकपटक हाम्रा पुर्खा महासङ्घ यानी लोकतान्त्रिक बानर महासङ्घका सभापतिलाई गाडीले किचेछ। क्षणभरमै उनको प्राणपखेरु उडेछ। अनि त्यसपछि संयुक्त बाँदर आन्दोलन सङ्घर्ष समितिले तत्कालै चक्काजामको आह्वान गरेछ। उक्त लोकतान्त्रिक बानर महासङ्घका सभापतिलाई सहिद घोषणाको मागसहित नारा जुलुस गरेछन्। सडक जाम गरेछन्। पुलिसफोर्स लगाएर आन्दोलनकारी बनेकाहरूलाई तितरवितर पार्न खोजेछन् तर आन्दोलन चर्को रुप लिंदै गयो र अन्तमा लोकतान्त्रिक बानर महासङ्घका सभापतिलाई सहिदको ताज पहिराई दिएपछि मात्र आन्दोलन साम्य भएछ।
यो त भयो लोकतान्त्रिक बानर महासङ्घका सहिदको कुरा। हामी त तिनीहरूभन्दा बुद्धिमान छौं। त्यसमा पनि लामालामा दार्ही–जुङ्गा पालेका पूर्व–पश्चिम, उत्तर–दक्षिण चार मोहडा एकनासको फेस भएका चतुर्मुखी ब्रम्हाजीका सृष्टिमध्ये सर्वश्रेष्ठ सृष्टि मर्दा वा मार्दा सहिद घोषणा गराउन दबाब दिन नसके, के मान्छे हुँ भनेर फूर्ति लाउनु ! आखिर मृत्यु त मृत्यु नै हो। त्यसैले सभा जुलुस गरेर हुन्छ या नेपालै बन्द गरेर हुन्छ, सहिद घोषणा त गराउनुपर्छ। कसैगरी सहिदको पगरी ठमाउन आनाकानी गरे दबाबस्वरुप मन्त्रीहरूको पुतला दहन गरौँला, अनि सहिद घोषणाको लगतै आएको भत्ताले बउन्न पत्ता खेल्दै कवाफ खाऔंला। जे जस्तो भए पनि हामी प्राणी जगत्कै सर्वश्रेष्ठ प्राणा पो हौं त गाँठे !
एकपटक मेरा वल्लाघरे कालेका भाइ लालेलाई तिनका बालेे गाली गरेछन्। खाना पस्किन लागेको थाली पालीमा फाली मर्न जान्छु भनी धक्कु लगाउँदै बागमतीमा के फाल हालेका थिए, त्यहीँ सिल्टिमुर खाएछन्। तपार्इंहरू प्रश्न गर्नुहोस्, यो टपरटुइयाँले के नचाहिने गफ खोकेछ भनेर। पानी नै नबग्ने कुलोभन्दा अलिकता ठूलो खोलो भन्न सुहाउने नदीमा डुबेर पनि कोही मान्छे मर्छन्? हो, तपार्इंहरूको कुरा सोर्है आना सही छ। वास्तवमा भएछ के भने, ऊ पानीमा डुबेर मरेको होइन रै छ। पोष्टमार्टमको रिपोर्टअनुसार ऊ त ढलको गन्धले निस्सासिएर पो चिप्लेको रै छ।
त्यसपछि शवयात्रा गर्दै नाराबाजी भयो, चक्काजाम गरियो। आखिरीमा लालेलाई दुर्गन्ध महासङ्घको प्रतिनिधित्व गर्दै सहिद भएका कारण दसलाखको क्षतिपूर्ति दिने घोषणा गरियो। शवयात्रा विजय र्यालीमा परिणत भयो। केही केही बीचबीचमा अड्के पनि फिल्टर पाटो हाल्नुपर्छ या त मन्त्री सांसदहरूले कसैको सात्तो लिएझैं अपहरण गर्न सक्नुुपर्छ। या त ठूल्ठूला आयोग तथा संस्थानका ठूलै हाकिम वा कर्मचारी हुनुपर्छ या त रातोपासपोर्ट बेच्ने सभासद हुनुपर्छ या भ्रष्टाचारी ! परिश्रम गरेर त्यत्रो पैसा जम्मा गर्नु भनेको त सपना मात्रै हो। जे जस्तो भए पनि लालेले रु. दसलाखको गर्हुङ्गो मृत्यु बोकेर गएछ।
त्यस्तै माथ्ला घरे दाउरेको लाहुरो भनाउँदो चाउरे छोरोको कथा पनि उस्तै छ। ऊ प्रायः झ्यालमा बसी बाटोमा हिंड्ने तरुणीहरूलाई देखेर र्याल चुहाउँथ्यो। अनि लुसुक्क स्यालले कुखुरा टिपेझैं ती तरुणीहरू टिपेर लान्थ्यो, कहिले ठमेल त कहिले बम्बई।
एकदिन केटी दलाल सङ्घको बैठक सकाई घर फकृने तरखरमा लाग्दा रकेटको गतिमा आएको दुईपाङ्ग्रे बाहनले हानेर उसलाई माटो सुँघाइदिएछ र बाहन चालक पनि ऊसँगै हिंडेछ। सरकारद्वारा उच्चस्तरीय छानबिन आयोग गठन गरियो। यता केटी दलाल सङ्घ र विनालाइसेन्स सवारी चलाउने ट्वाँके महासङ्घद्वारा चर्को दबाबस्वरुप चरणबद्व आन्दोलनको घोषणा गरियो। सरकारी पक्षले वार्ताको आह्वान गर्यो। अनि त हुनु त्यही थियो ! थप दुईजनाको नाम सहिदहरूको सूचीमा टाँसियो भने कसैको नाम वैकल्पिकको ठाउँमा राखियो। के गर्ने सहिदजस्तो पोष्ट ताक्न त सोर्स–फोर्स लाउनैपर्यो, अलिकति खर्च गर्नैपर्यो। यदि त्यसो नगरिए आवेदन पत्र नै नहराउला भन्न सकिन्न।
उता वैतरणी नदी पारी नन्दनपार्कमा सहिद सम्मेलनको आयोजना गरिएको रै छ। त्यही भएर उक्त सम्मेलनमा सहभागी हुनका लागि कोही भ्रष्टाचारी सङघबाट प्रतिनिधित्व गर्दै टिकट काट्दै थिए, यमपुरको। यसबाहेक देश र जनताको भलाइ र स्वतन्त्रताको लागि हाँसी सहिद भएका सच्चा जनसेवकहरूले पनि सक्रियताका साथ भाग लिन गइरहेका थिए उक्त सम्मेलनमा। यता नेपाल मण्डलबाट कसकसलाई सम्मेलनमा सहभागी हुन पठाउने भनेर छलफल हँुदै गर्दा विना माइन्युटिङ पनि आफूखुशी भाग लिन गइरहेका थिए। त्यतिमध्ये कति त सार्वजनिक सम्पतिलाई आफ्नो पेवा ठानेर धेवा कुम्ल्याएर नन्दनपार्क पुगिसकेका थिए।
ठेलमठेला अनि पेलमपेलाका बावजुद पनि सम्मेलनमा भाग लिइरहेका थिए नेपाल मण्डलका विभिन्न सङ्घ सङ्गठनबाट प्रतिनिधित्व गर्दै गएका सहिद प्रतिनिधिहरू। उक्त सम्मेलन जिम्मा विशेषतः गंगालाल, धर्मभक्त, दशरथचन्द र शुक्रराजले गरेका थिए, जो नेपाल मण्डलमा प्रजातन्त्रको स्थापना गर्न भनी आफ्नो स्वार्थ त्यागेर देश र जनताका लागि सूलीमा चढेका थिए।
उसै त आफ्नो सिंहासन जोगाउन बेलाबखत अनकौँं दाउपेच रच्ने इन्द्रलाई उक्त सम्मेलन असह्य हुँदै गइरहेको थियो। सम्मेलन बिथोल्न अनेक प्रपञ्च रच्न थाले। शान्तिपूर्ण सम्मेलनमा बाधा–अड्चन हालेका कारण इन्द्रले अलकापुरी छोड्नपर्यो। आफ्नो सिंहासन त्याग्नुपर्यो। आफ्नो अर्धाङ्गिनी सची तथा अन्य विश्वासिला पात्रहरूका साथ इन्द्र अन्तै डेरा सर्नथाले।
अलकापुरीलाई गणराज्य घोषणा गरियो। शान्तिपूर्ण तवरले इन्द्रले राजगद्दी त्यागेकामा उनलाई धन्यवाद दिइयो। सम्मेलनले सोच्दै नसोचेको परिणाम निस्किएकोमा सबै हर्षित थिए।
अब गणराज्य सञ्चालन गर्न अध्यक्ष चुनिनुपर्ने भयो। सबैले उक्त पदका लागि आ–आफ्नो दावा गर्नथाले। आफूमात्र योग्य रहेको तर्क राख्नथाले। अगाडिका मित्रहरू एक अर्काका शत्रुका रुपमा प्रस्तुत हुन थाले। साना सङ्घका प्रतिनिधि भनेर ठूला सङ्घवाला सहिदहरूले सानाको कुरालाई बेवास्ता गर्नथाले। नन्दनपार्क क्रन्दनपार्कमा परिणत हुन थाल्यो। उता यी सब कुराको जानकारी इन्द्रले लिइरहेका थिए। इन्द्र त्रिदेवसँग सहयोग र सल्लाह माग्दै हिँड्न थाले। अलकापुरीमा भाँडभैलो मच्चिन थाल्यो। आफैले पारित गरेका नीति–नियमहरूलाई उलङ्घन गर्दै मनपरी गर्न थालियो। बेला बेलामा बैठकमा सहमतीय र आलोपालोको प्रस्ताव पनि पेस गरिए तर हातलागी शून्य। जेजस्तो अध्यक्ष भए पनि आफ्नै नेतृत्वमात्र स्वीकार्य हुने अडान छाडेनन् ठूल्ठूला सङ्घहरूबाट प्रतिनिधित्व गर्दै सहिद भएका प्रतिनिधिहरूले। ती चारजना अगुवा सहिदहरूले एकपटक एकले अर्कोको मुख हेर्न थाले। देश र जनताको सेवा गरेर सहिद भएकाहरूलाई पाखा लगाउँदै विदेशी दलाल तथा भ्रष्टाचारीहरूलाई काखा च्याप्दै आफ्नो मात्र हित र जीत हुने कुरामा मात्र प्रित लगाई गीत गाउँदै हिँड्न थाले ठूला सङ्घका ठूलै सहिद प्रतिनिधिहरूले। अनि त हुनु के थियो ! किरिम दलेर सिलिम बन्दै चिलिम हुन आँटेकी काली सालीकी दिदीले चाँडै उठ्न भनी गाली गरेपछि मन नलागी नलागी मन्त्रीहरूले कुर्सी छोडेझैं ओछ्यान छोडेँ। मनमनै वर्तमान भागवण्डाको राजनीति र यसले जन्माएका नयाँ सहिदहरू र साँच्चैका सहिदहरूको तुलना गर्दै, सहिद भनेको कुनै दल विशेषको नभई राष्ट्रको धरोहर भएको, सहिद भनेको त देश र जनताको भलाइका निम्ति आफ्नो प्राणको आहुति दिने अमर व्यक्ति हुन्, झ्यालमा बसेर मर्ने, बाटो दुर्घटनामा परेर मर्नेहरू त सहिद हुँदै होइनन्, सहिदको सम्मान गर्नुपर्छ, अपमान होइन भन्दै आँखाभरि सहिद खेती र सहिद सम्मेलनको दृश्य राखी भान्सातर्फ गएँ। ग्यासको सिलिण्डर जुरुक्क बोकेर लाइन बस्न भनी खुरुक्क निस्केँ, अनि ग्यासको लाइनको खोजीमा हिंडिरहेँ लुरुलुरु …………….।
(स्रोत : मजदुर दैनिक)