व्यङ्ग्य निबन्ध : अब बिदेश जाँदैजान्न

~बिश्व बिनोद~bishwa-binod

के छक्क परेर अक्क न पक्कहुनु भा’को हँ-म अब बिदेश नजाने नै भा’को हुँ, स्बदेशमै सबैथोक हुने भएपछि किन बिदेश जानुपर्यो र – कुन देश बाँकि छ र घुम्नलाई – पार्टिको काममा , देशको नाममा बिभिन्न ठाम् ठाम्मा घुम्न गएपछि मलाई बिदेश प्रतिको मृगतृष्णा हृवात्तै घटेर गा’को छ । आखिर घुम्नु पर्ने देश नै कुन बाँकि छ र?

बरु देशै नघुमि संघियताको नारा हाम्रो पार्टिमा सबैभन्दा बढि लगाउनेमा मै पो रहेछु । अब देशै घुम्नु पर्ला । के छैन यहाँ सोझा जनता छन्, सोझा गाउँले छन्, एक छाक भात कुकुरलाई त दिन्छन् भने हामि नेतालाई त भत्तुवा लाएकै भरमा दिन्लान् नि गाँठे । हुन त बन्दुक नदेखाई भात नदिने जनता पनि यहि देशमा हाम्रै पार्टिहरुले बनाएका हुन् । म भूमिगत हुँदाका रुकुम, रोल्पाका डाँडा काँडाका घर घरमा ति घरले के भनेका होलान् , हाम्रा महान् युद्द पछि ति घरले पनि नियास्रो मानेका होलान्, निन्याउरो भएका होलान् । तिन्का नियास्रो मेट्नु छ । अझ भात मागेर खाने बानि बिर्सन्छ कि भनेर नबिकरण गर्नको लागि गाँउ गाउँ जानै पर्ने भो कहाँ बिदेश गएर बिदेश भ्रमण गरेर समय बर्बाद गर्नु –

हामि अलिक भत्तुवा भएछौं, मै पनि भत्तुवा छु, तपाई पनि त्यस्तै त होला नि हैन- सोझै काम गरेर कमाएको भन्दा बसि बसि खान पाएकोमा हामिलाई गर्व छ, मागेर खानुमा ३६५ दिने बाह्रमासे पर्व छ । देशलाई माग्ने बनाए पछि जनता पनि माग्ने अबस्थामा पुर्याएका छौं अनि म जान्न चाहन्छु कि हाम्रो महान् क्रान्ति पछि गाउँ नगा’को यत्रा बर्षपछि अझ जनता कति गरिब भए हेर्ने धोको छ ।बिदेश गएर आखिर हुने नै के रहेछ र – दुइ चार बोत्तल वाइन लडाएर डिनर पार्टिमा रम्नु भन्दा बिदेश भ्रमणको उपलब्धि के रह्यो र- म तनावमा छु कि न सिंगापुर हामिले घुमेर देश त्यस्तो न स्विट्जरल्याण्ड घुमेर देश त्यस्तो भो । यति धेरै नेताले गरेको बिदेश भ्रमणको खर्च बटुल बुटुल पार्न पा’को भए देशको लागि एक बर्षो लागि बजेट बन्थ्यो होला ।

गरिबसँग प्रधानमन्त्रि भन्ने कार्यक्रमले जनतासँग जान निक्कै मजा त हुन्थ्यो तर म यसो सोच्छु कुनै युरोपेली देशको राष्ट्रप्रमुखले म सँग डिनर खाँदा गरिब देश सँग खाएको सोच्छन् होला है । हो त्यसैले मलाई बिदेश भ्रमण प्रति बितृष्णा भो । बिदेश जानु पर्दैन अब मलाई किनकी हामिले गाउँका युवालाई बिस्थापित गरेर बिदेशमा स्थापित गराएका छौं । उनिहरुले देशको अर्थतन्त्र धानेको बेला गाउँमा कति युवा बिदेशिएछन् भनेर गाउँ जानु मेरो लक्ष्य रहेको छ ।

टन्न बैंकमा ब्यालेन्स छँदै छ, दो चार घडेरी शहरमा कमाएकै छु , एक दर्जन घर बिभिन्न शहरमा ठड्याएकै छु । अनि किन जानु पर्यो र बिदेश- हो म बिदेश जाँदै जान्न । जनयुद्दमा जनताका छोराछोरीलाईले पढ्न नपाए पनि मेरा छोरा छोरीले बिदेश गएर पढेकै छन् अनि किन जानु पर्यो बिदेश – घरैमा बसेर अन्तराष्ट्रिय स्तरको सुबिधा पाएकै छु अनि किन जानु बिदेश-सोझा जनता छन्, सोेझ पार्टि कार्यकर्ता छन्, सुधो गाईको जस्तो लुरुक्क भनेको मान्ने उनिहरु हुँदा हुँदै बिदेश जानु महापाप हो । हो म अब बिदेश जाँदै जान्न ।

बिना काम राज्यले सुबिधा दिने यस्तो महान् र्स्वर्ग समान् देश छाडेर बिदेश भ्रमण किन जानु, अहँ मेरो लागि यो देश त जननी जन्म भूमिश्चः स्वर्गादपि गरियसी भनेझैं भा’को हो । यहाँ भनेको पुर्याउनु पर्दैन, पुर्याउनै सकिने कुरा गर्नै पर्दैन , यस्तो रामराज्य देश नघुमेर बिदेश किन घुम्नु हँ – बिदेशी हाम्रो देशमा घुम्न आउँदा हामि बिदेश किन घुम्न जानु र -उनिहरु हामिलाई ढुंगे युगका मानिस भनेर हेन आउने रहेछन्, यी ढुंगे युगिन् सभ्यतालाई पन्छाएर पर जान नसकिँदा म बिदेश घुम्दै घुम्दिन । बिदेशले कुन कुन देशमा कहाँ कहाँ सैनिक अखडा छन् भनेर एक एक गनिरहँदा म कहाँ कहाँ मानिसले चर्पि बनाए भनेर मग्न भएको बेला यसैमा बिदेशले अनुदान दिएका छन् उस्लाई भूँडिसुधारको लागि परिचालन गर्न पाए पछि किन बिदेश जाने हँ – म अब बिदेश जाँदै जान्न । जदौ

-सहायक प्राध्यापक,म.ब.क्याम्पस, बेसिशहर ,लमजुङ

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.