~रश्मिला कवाङ~
पैसामा बिक्दैछौ अचेल तिमी
इमानदारिताको बाटो पहिल्याउँदै
हिजो हिंडिरहेका थियौ
धनी थियौ मनको, मानवताको
माया अनि स्नेहको सौन्दर्य थियो
तिमीमा सौन्दर्यकी खानी थियौ
तर,
युग विस्तारै बदलिरहेको छ
र त बदलिरहेकी छौं तिमी पनि
तिम्रा ती सत्यताका प्रतीकहरू
हिजोअस्ति नै सायद मरिसकेका छन्
जीवित छन्, त केवल आडम्बर र रीस
आफ्नो महानताको राग बयान गर्दैछौ
यो मूकदर्शक भएर उभिएको समाजको अघि
अनि चिच्याई चिच्याई तिमी बोल्दैछौ
तिम्रो अटुट लाग्ने ‘बाचाबन्धनहरू।
सदियौंकालमा सौन्दर्यकै प्रतिमा थियौ
साधारण थियौ तर राम्री थियौ
वर्तमानमा त्यो सौन्दर्य रहेन अब
हरेक कोणबाट मात्र कृत्रिमता चियाइरहेको छ
पातली, दुब्ली र अग्ली थियौ तिमी
शान्तिले भरिएको चमकता थियो
शालीनताको पहिरण थियो
लज्जा थियो तिमीभित्रको मुस्कानमा
तर आज, सुन्दर बन्ने होडमा झुम्मियौ तिमी
रक्सीका प्यालाले भरिएका छन् आँखाहरू
आधुनिक छौ, निकै छाँटकाँटले हिंड्छौ
तैपनि तिमी सुन्दर कतैबाट देखिएन
मैले तिमीलाई आकर्षक देखिनँ
आधुनिकताभित्र डुबेर पनि गँवार देखिन्छ
आफैलाई लाज लाग्छ कहिलेकाहीं
तिम्रा ती खोक्रा सुन्दरताको ताज देखेर
चम्काउँदै जुन आफ्नो शिरमा पहिरिएकी छौ
अनि बडो शानले चम्काएका छौ !!!
मुलढोका-४, भक्तपुर
(स्रोत : मजदुर दैनिक)
