कविता : जीवन यात्रा

~निर्मला अवस्थी~Nirmala Awasthi_1

तिमी बिहान उठेर मर्निङवाक जाउ
मैले त घर कसेर सकेर पूजा गर्नु पर्छ
तिमी पर्केपछि चिया दिएर खाना बनाउनु पर्छ
छोराछोरी तयार गरी स्कूल पठाउनु पर्छ।

खाना खाएर तिमी एकैछिन पर्ख
मैले घरधन्दा सिद्याउनु पर्छ
राखन धरन गरेर आफु तयार हुनुपर्छ
हतार भै सक्यो हेर न अब अफिस जानु पर्छ।

सांझ तिमी विस्तारै आउंदै गर म छिट्टै घर पुग्नु पर्छ
अलिकति तरकारी र अरु केही किनमेल गर्नु पर्छ
छोराछोरी आत्तिए होलान् तिनलाई फकाउनु पर्छ
उनीहरुको मनका कुरा अलिकति सुनिदिनु पर्छ।

तिमी आयौ ? एकैछिन पत्रिका पढेर बस
मैले खाजा बनाउनु पर्छ
बेलुकाको जोरजाम गरेर भोलिलाई पनि सोंच्नु पर्छ
छोराछोरीको होमवर्क हेरेर लुगा मिलाइदिनु पर्छ।

तिमी एकैछिन समाचार हेर
मैले अरु पनि काम सिध्याउनु पर्छ
अलिकति लुगा धुनु पर्छ, कोठा मिलाउनु पर्छ
ऐले सबै नगरे भोलि फेरि हतार हुन्छ।

तिमी एकैछिन आराम गर
मैले छोराछोरी सुताउनु पर्छ
टाउको दुखेको छ भन्छे छोरी अलिकति मलहम लगाइदिनु पर्छ
निदाउनै लाग्यो छोरा एकैछिन् सुमसम्याइदिनु पर्छ।

आऊ अब फुर्सद भयो तिमी र म बस्नु पर्छ
तिम्रो सामिप्यले मेरो सबै थकाई मर्छ
एकैछिन मनका कुरा साटासाट गर्नु पर्छ
केही तिमीले केही मैले संझौता गर्नैपर्छ।

हेरन! जीवनको हरेकपल महत्वपूर्ण हुन्छ
अलिकति ढिला गरे पछि पछुताउनु पर्छ
समयको गतिसंगै चल्न सक्नु पर्छ
यस्तै हो जीवन यात्रा यसैमा रम्नु पर्छ।

March 20, 2009

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.