~रसिक रमण~
हर्के आज बिहानैदेखि फुरुङ्ग छ । दारी काटेर पुरानै भए पनि धोएर सफा पारिएको कमेज सुरुवाल लगाउदै हातमा नागरिकता बोकेर बजार प्रस्थानको निम्ति डेग सार्दै छ । पुलकित मुहारमा आभा भर्दै आज बजार जानुको प्रयोजन सम्झन्छ । गाविस सचिवले भनेझैं पाँच प्रति फोटो खिच्नु , नागरिकताको छाया प्रति निकाली भूकम्प पीडितलाई सरकारद्वारा दिन खोजिएको पुनः निर्माणको रकमको फाराम भर्नु !खिइएका चप्पलबाट बाहिर निस्किएको बुढी औंलाले वेदनाको सञ्चार मस्तिष्कमा पुर्याएपछी बल्ल ठेस लागेको पिडा सङ्गालेर सोच्छ बाबुले बनाएको पुरानै भए पनि ०७२ सालको महा भूकम्पलाई पराजित गरी जिर्ण मुहार लिएर ठडिएको छाप्रो , त्यही छाप्रोले ढाकेको दुई आना जमिन , सरकारले दिन लगेको दुई लाख रकम , गाविसले तोकेको पुनर्निर्माण सम्बन्धी मापदण्ड………सबै सम्झदै गर्दा पुनः टोलाउछ ऊ मानौँ अर्ध निद्रामा छ ।
दैनिक छाक टार्न भारी बोक्नुपर्ने विवशता , लालाबालाका आकाङ्क्षा पुरा गर्न नसकी रोएको आत्मा , अनि सरकारले बाड्न लागेको आकाशको अङ्गुर एक निमेषमा नियाल्छ । झुप्रो नमासी अर्को ठड्याउन नसकिने यथार्थ , मास्दा खुला आकाशलाई छानो मानी जीवन गुजार्नुको पिडा , सरकारद्वारा देखाइएको आकाशे फल , अर्को छाप्रो उभ्याउन लाग्ने खर्च कल्पना गर्दैमा उसका आँखा तिरमिराउन थाल्छन् , खुट्टाले भर दिन छाड्ला जस्तो महसुस भो अनि हातमा रहेको पुनर्निर्माणको ललिपपको फाराम बाटामै मिल्काउदै स्याललाइ अङ्गुर अमिलो लागेको कहानी सम्झियो र सरासर जिर्ण झुप्रोतर्फ लम्कियो । बाटामा लागेको समय सम्झन नभ्याउदै छाप्रोमा पुगी चिसो मझेरीमा लम्पसार पर्यो ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )