~प्रेम श्रेष्ठ~
भारी बोकेर आएको एक गधा भीरबाट चिप्लेर खस्यो। खोचमा गएर चित्कार छोड्दै अन्तिम सास लियो। त्यस कारुणिक दृश्य देख्ने सँगै हिंडेका गधाहरू हेरेको हेर्यै भयो। सहकर्मीको चित्कार सुनेर त्यसले दुई थोपा आँसु चुहाउनुबाहेक केही गर्न सकेन।
भारी बोकेर हिंड्ने गधाहरूको इतिहासमा यो नौलो घटना थिएन। भारी बोकेर उकालो–ओरालो, भीर–पाखा, देउराली–भञ्ज्याङ हिंड्नु त दैनिकीजस्तै थियो। चिप्लेर लड्नु, हातखुट्टा भाँच्नु अनि कहिलेकाहीं मृत्युको काखमा पुग्नु स्वाभाविक घटनाजस्तै थियो। त्यस्तो घटना हुनु गधाहरूको लागि सह्य पीडा हुने भए पनि मालिकहरूको लागि केही होइन।
सहकर्मी साथी चिप्लेर लडेको र भीरबाट खस्दा देखेका एक एक दृश्य तथा मृतकको चिच्याहटले एक युवा गधा रातभर छटपट्टीले सुत्न सकेन। ती दृश्यहरू अगाडि आएर तर्साइरहेको जस्तो र चिच्याहटले कानै ठर्कने गरी गुञ्जिरहेको जस्तो भयो। छटपट्टिले घरी आफ्नो अभिशापको जिन्दगीबारे सोच्न पुग्थ्यो भने घरी आफ्नो मालिकको अत्याचारलाई देख्न पुग्थ्यो र मालिकको अधर्म र अत्याचार नै सहकर्मीको मृत्युको कारण सोच्न पुग्थ्यो।
गोठमा अरु धेरै गधाहरू पनि थिए। ती युवा गधा अरु गधाहरूलाई पुलुक्क पुलुक्क हेर्थे। अरु गधाहरू पनि शोकमै देखिएका थिए। तिनीहरूमध्ये एक अर्धवैसे गधा अलि बढी शोकमा देखिएका थिए। त्यस अर्धवैसे गधा अरु गधाभन्दा अलि बढी बुझ्ने र पाक्व थियो। असह्य पीडाले छटपटिएका युवा गधा त्यस अर्धवैसे गधाको छेउमा गयो। आँसु झार्दै गम्भीर भएर सोध्यो ‘दाइ ! हिजोको हाम्रो सहकर्मीको कारुणिक मृत्यु के मालिकको अधर्म र अत्याचार होइन? एक बुढो र अशक्त भनेर थाहा हुँदाहुँदै त्यस्तो गर्हौं भारी बोकाउनु अत्याचारको पराकाष्ठा होइन?’
हिजोको जस्तो मृत्यु धेरै देखिसकेको र लडेर अङ्गभङ्ग भई बाटोमा छोडेको धेरै घटना देखिसकेको अर्धवैसे गधा पनि सहकर्मीको मृत्युले आक्रोशित भयो। युवा गधाको प्रश्नले त्यो अकमकियो। आफ्नो होसलाई सम्हाल्दै जवाफ दियो ‘पापी र स्वार्थी मानिसहरूलाई के धर्म र के अधर्म? के ठीक र के बेठीक? के न्याय के अन्याय? केही सोच्न पनि सक्दैन। उनको स्वार्थले नै उनलाई विवेकहीन र मूर्ख बनाइदिएको हुन्छ। आफ्नो स्वार्थबाहेक केही देखेको हुँदैन।’ लामो सुस्केरा हाल्छ।
‘तिमी हामी काम गर्ने गधा हौं। अनि केही गर्न नसक्ने विवेकहीन पशु। हामीलाई अन्याय नै भए पनि हामी के गर्नसक्छौं र? हाम्रो हात खुट्टा बाँधिएका छन्। यो दया, धर्म नभएको र स्वार्थै स्वार्स्थले भरेको ठाउँमा हामीजस्ताले जति दुःख गरे पनि, मृत्युको काखमा जानु परे पनि सहानुभूति देखाउने कोही छैन। हामीले आँसु झार्नुबाहेक केही गर्नसक्दैन।’ भन्दाभन्दै आँसु झार्दै चुप लाग्छ। गोठका अरु गधाहरू साथै युवा गधा उसको कुरा सुनेर चुप लाग्छ।
(स्रोत : मजदुर दैनिक)