~बिकल आचार्य~
पोहोर
धानबाली सुकेदेखि
थलिएको गाउँ
थलिएका साइला धोब्वा
असक्त बूढी धोमा
सुकाएको साग र खोले।
अब त
चुल्हो बल्न मुस्किल छ।
हामी मौन छौं
देशै मौन देख्छु
किन?
समितिले निरीक्षण गर्याे
गाविसले सिफारिस गर्याे
किसान सङ्घले आन्दोलन गर्याे
अधुरो सपना, भोको पेट
उधारो बिस्केट, रित्तो भाँडावर्तन
हामीमा आशा
धैर्यता बाध्यता
तर आज?
जब एकदिन
क्षतिपूर्तिलाई राहत भने
सयकडा पच्चीस दोष थपे
समितिको प्रतिवेदनले
गाउँलेलाई गँवार बनाए।
हिसाबमा ४/५, दिने एकमुरी?
धुटोभन्दा कम मूल्य?
त्यसदिन धोब्वा धोमाहरू
परिवारै थलिए।
बीउ बिक्रेता कबुल गर्ने
विज्ञहरू लुकामारी खेल्ने?
२ वर्षे म्याद नाघेको
कोल्डस्टोरमा राखेको
उसले कबुल गर्याे
विज्ञहरू कान पाकेका?
कसले अनुमति दिए?
कसले बेचे?
किन्ने दोषी?
वरिष्ठ र विज्ञहरू
किन मोटाउँछन्
प्रस्ट रहस्य?
त्यसैले त बिक्रेताहरू
जेलमा रहन परेनन्
न खोसिए लाइसेन्स
झन हौसिएर बेच्दैछन्
खै आँखा? खै राज्य?
के हो न्याय?
धोब्वा धोमाजस्तै
सपरिवार थलिएको गाउँ
बेखबर बालुवाटार।
बहिराको अभिनय गर्दै
किसानलाई भुलेका?
दलहरू ‘ठूला’ ‘ठूला’
जनता भोकै मर्ने बेला
एउटै डुलामा पसेका?
यद्यपि आज सन्नाटा छ
चारैतिर किन मौन छ
हावाहुरी चल्दैन?
न असिना बर्सिंछ
धुलो कसिङ्गर उदाउँदैन
किन धुँवा धूलो पखालिन्न?
आज पूरै गाउँ
व्यग्र प्रतिक्षारत छन्
बिग्रेको धानको क्ष्तिपूर्ति पाउन
अपराधीलाई जेलमा हाल्न
बहिरालाई धमाका मच्चाउन।
बिहानीले आह्वान गरिरहेछ
चारैतिर यही सुनाइरहेछ
किसानलाई राहत होइन
बजार मूल्यमा, रोपनीमा १२ मुरी
क्षतिपूर्ति चाहिएको छ।
(धोब्वा, धोमाः नेपालभाषामा वृद्ध र वृद्धालाई गरिने सम्बोधन)
(स्रोत : मजदुर दैनिक)