कविता : ‘गङ्गालाल’सँग एक दिन

~सौरभ कार्की~Saurav Karki

परबाट आयो – हावाको एक झोक्का ।
त्यहीबाट उदायो – एक टुक्रा घाम ।
अनि म रङ्गिए सातै रङ्गमा
सायद सदियौंदेखि
म यहाँ उभिनुको अर्थ यही थियो ।

छि !
हेर त त्यहाँ – लाजपचेको मनुष्य
मेरै छेउ, मैले देख्नेगरी
एकाबिहानै – मुतेर गयो ।
अनि त्यो पल्लो चियापसलमा
सभ्यताको गफ छाँटिरहेछ ।

ती भरिया दाई
सबेरै उठ्छन् – सुम्सुम्याउछन् – बालक झै छेवैमा सुतेको कुकुर ।
अनि हल्लाउदै हिड्छन् हातमा
सधै सधै ,त्यो डोरीको त्यान्द्रो जस्तै लहरो ,त्यो फाटेको नाम्लो ।

यस्तो र्दुगन्ध
कहाँबाटी ल्याँउछ ?
के बोकी ल्याँउछ यो गाडी ?
र सधै पर्छाछ – मेरै छेउमा – एकाविहानै ?
छ्या – सुकिला आवरणका दुर्घन्धित मान्छेहरु ।

कच्याक कच्याक
त्यो फोहोरको आहालमा
पौडी खेलेझै – के खोज्दैछ ऊ ?
प्लास्टिक कि खजाना ?
साला कुकुरहरु मिलेर भुक्छन्
र पाएपछि लुछाचुडी गर्छन – मान्छेहरुजस्तै !
उसले ढुङ्गो उचाल्यो ।

के भेट्टायो उसले
यो काठमान्डौले फालेको – काठमान्डौभित्र ?
र हुदैछ हर्षित ?
अनि मेट्दैछ भोक जीवनभरको !
जस्तो कि जीवनभरिको लागि – अघाउनेछ ऊ यत्तिले ?
हुनपनि जिन्दगी – उही एकपल – बाँच्नु न हो ।

पहिलोपटक उसलाई त्यो निम्छरो साँझ देखेथे ।
त्यहीसाँझदेखि – फैलाएर हात
गुजारा गर्छ ऊ –, पापी पेटको भोक ।
टिप्दै – बटुल्दै, बटुल्दै – टिप्दै
फालेका सिक्काहरु !
के उसलाई थाहा होला र मेरो नाम ?

एकाबिहानै
सुल्फा समात्छन् विद्यार्थी
र भर्छन चुरोट भित्र अनेक थरी ।

छुट्टी भएर कलेज
एकजोडी आए
र लठ्ठिदै गए – अंगालो कसेर !
के पढ्छन् कुन्नि ?

के हुन्छ आजकालका
आधुनिक भनिने
परिर्वतनका संवाहक – युवा–युवतीलाई ?
र पिईदिन्छन् विष – फगत पे्रमका खातिर ?

त्यो बूढो बाजे टोलाईरहेछ
र झोक्रयाइरहेछ उसैको छोरा – हस्पिटलअगाडी ।
डाक्टर र नर्सहरुको हड्ताल पो छ रे !
मुर्कट्टा जिन्दगी , साँच्चै सास रहुन्जेल आश हुदोरै’छ ।

मृगौला र्फेने
सहयोगको अपिलसगै कटौरा
लिएर बसेको छ ऊ – महिनौदेखि – माग्न कि बाँच्न ?

त्यो सानो केटो
बिहान देखि साँझ
भाँडा माझ्छ कि सपना ?

ती बूढी आमै
फैलाएर बस्छिन् – नाङलोभरि भरि – आफ्नो बुढ्यौलीको ट्रेलर ।
र दिनैभरि बेच्छिन्
आफ्नो उमेरभन्दा बढी – यी खिल्लिहरु चुरोटका ।
साला एउटा चोर
प्वाल पर्‍या नाङ्लोमा – नअडिएका÷मुस्किलले अडिएका
थोपाहरु लुट्छ पसिनाका !
र बाँडीचुडी खान्छ – त्यो डन्डा बोक्ने – बुट टल्काएको – पेस्तोल भिरेको – भद्रभलाद्मीसँग !

सधै–सधै त्यहाँ
एउटा लक्का जवान ठिटो
ओछ्याएर सर्टिफिकेट – पालिस र्गछ जुत्ता ।
भन्दै’थ्यो एकदिन
हुनैर्पदो रै’छ – बाध्यता भन्दा पनि रहर बढी !

आजकाल यस्ता हुल
मृत झै लाग्ने – जीवीत मानिसका जमात
सधैजसो आउछन् – गाडीका गाडी , ट्रक भरि भरि – र उत्रिन्छन यही ।
ऊ त्यहाँ माथिबाट
सुकिला मान्छेहरु – फरक फरक लबजमा
रोजगार भन्छन् , न्याय भन्छन् , अधिकार भन्छन् ।
अनि संबिधान त झन् धेरै – धेरै भन्छन् ।
समग्रमा भन्दा सपनाहरु बाँड्छन् ।
दिउँसै सपना देख्न तम्तयार जमात
खाली पेटमै बजाउछ ताली
र अघाउछ सपनाहरु पिएर – मुर्ख मानवका जमातहरु !

दिनै भरि भरि
कपडा र तरकारी
मोलमोलाई र्गछन
र जवानी बेच्छन् रात–रातैभरी ।
यी चेलीहरु – आखिर कति दिनसम्म ?

त्यो पापी चरो – कहाँबाटी आउँछ ?
सधै–सधै
र विष्ट्याएर जान्छ – मेरै टाउकोमाथि ?
सायद बर्षौदेखि – म यहाँ उभिनुको अर्थ यही थियो ।
यथार्थ – यही थियो सायद – म शहीद हुनुको !

सौरभ कार्की
झुले – ४, दोलखा
हालः बुध्द एयर, चन्द्रगढी, झापा

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.