~महेश क्षितिज~
फेरी अायो
हरितालिका तीज
अर्थात्
शङ्कास्पद व्यक्तिको
आरोपमा
मेरो खसमलाई
गोलीले उडाउँदा
मेरो पोते चुडिएको
अनि
मेरो छोरो सेताम्मै भएको
कालो दिन ।
पन्ध्र वटा वर्ष अगाडि
फलामको छातीमा
मुटु राखेर पत्थरको
सुरक्षाको नाउमा
असुरक्षा बाँड्नेहरूबाट
रजस्वलै नभएकी
बलात्कृत मेरी
बाह« वर्षकी छोरी
मारेर बाँसघारीमा फालिएको
कालो तिथि ।
अहिले
पाकेर मेरो कपाल
भएको छ सेताम्मै
चाहुरिएर गालाहरू
परेका छन् दश मुजा
सिलिभरे भाँडोजस्तेै
कुचिनु र थिचिनुको सँस्कृतिमा
हेजेमोनाइज्ड भएकी छु
वसन्तमै शिशिर सहने
मौन रुखजस्तै ।
छिमेकीका घरमा
पाक्दा मिठो मसिनो
उडेर आएको बासनाले
गला लाग्छ मलाई
अनि
उघारेर मूल ढोका
हेर्छु सबैतिर
यी आँखाहरू मोती विन्दुको सिकार भएछन्
देख्दिनँ केही
बरु सुन्छु
गाउँमा गुञ्जिरहेछ
तीजको लहर आयो बरिलै ।
गाँउमा सबैका छोरीहरू
बुहारीहरू
छड्के तिलहरी लगाएर
मस्त नाचिरहेको अनुभूतिले
मेरो खाटा बसेको
घाउ कोटिन्छ
अनि
अगेनाको डिलमा बसेर
सल्काउँदै पाते बिँडी
सम्झन्छु तिथि
यही हरितालिकाको दिन हो
मेरो छोरालाई
बिद्रोहीको आरोपमा
मान्छे भन्न नमिल्ने
मान्छेहरूले
मेरै पोल्टोबाट
खोसेर जबर्जस्ती लगेका
र मैलै पनि
बलात्कार सहनु परेको
कालो दिन ।
उसमा थियो विचार
नदीको
चाहन्थ्यो ऊ बगाउन
विसङ्गतको दुर्गन्ध
उसमा थियो भावना
चराको
चाहन्थ्यो ऊ पुग्न
खुला आकाशमा
र चाहन्थ्यो ल्याउन
मखमली स्वर्गीय खुसी
चाहना थियो उसको
मेट्ने
टुप्पाबाट लेखिएको
सम्भ्रान्तीय इतिहास
र चाहन्थ्यो लेख्न
फेदबाट
सीमान्तकृत इतिहास ।
ढुक्क थिएँ म
केही थान उसका सपना
पूरा हुन्छन् भन्ने कुरामा
विश्वस्त थिएँ म
मेरो देशको सरकारले
मेरो छोरालाई
विद्रोही देख्दैन भन्ने कुरामा
काला कुराको समर्थन
नगर्दा मेरो छोरालाई
मेरो देशको सरकारले
ठान्यो विद्रोही
र पड्कायो गोली
अरुणको बगरमा
त्यतिबेला
बलात्कृत शरीर सम्हाल्दै
मैले सोधेकी थिएँ
आफैसँग प्रश्न
त्यो गोलीले
कुन चाहिँ निर्दोषको
जिजीविषा भुटिदियो हँ?
फाटेको फरिया
दश खाप टालेको चोलो
दुलै दुला परेको मजेत्रो
फेरिने आशाभन्दा पनि
मैले
कन्तुरमा राखेको
गीता र रामायणलाई
छोएर भनेकी थिएँ
म सरकार विहीन देशकी मान्छे हुँ
भगवान मेरो प्रमिथसलाई बचाऊ
ऊ बाच्यो भने
ल्याउने छ
सन्तोषको दुई मुठी सास
बगाउनेछ उसले
कालो कानुनको लेदो
र झुल्क्याउनेछ
सीमान्त छिँडीमा
प्रजातन्त्रको चन्द्रमा
अनि
म बूढी पनि नाच्छु तीजमा ।
कयौ ऋतु फेरिए
कुप्रेर शरीर मेरो
नुँघेको बाँस भो
मैले सुनेको कथामा
चोरेर स्वर्गको आगो
प्रमिथस आएको थियो
तर आएन लिएर
मेरो प्रमिथस
क्रान्ति गीत
उसले किनेको रेडियोले
श्री ५ को सरकारको सट्टा
नेपाल सरकार भन्न थालेको छ
श्रीमान गम्भीर नेपाली
गाउन छाडेर
सयौँ थुङ्गा गाउन थालेको छ
तर
मसँग छ पुरानै मुटु
पुरानै घाउ
पुरानै आँसुको टाटो
पुरानै चीरहरणको
मेरो कथा
सरकार म केही
देख्दिनँ नयाँ
त्यो बेला अरुण घाटमा
पड्किएको तिम्रो बन्दुकले
अब
मलाई बिद्रोही देखोस्
र मारोस्
एउटी आमा
होइन भने
तिमीले फिर्ता
दिन सक्नुपर्छ
मेरो सतित्व
जुन तिमीले नै लुटेकाछौ
र
फिर्ता दिन सक्नुपर्छ
बिद्रोहीको नाममा
तिमीले यही तीजमा
दर बनाएर खाएका
मेरा खसम र छोराछोरीहरू ।
(स्रोत : Everestdainik.com )