पुस्तक समीक्षा : तादी किनारको गीतः सरल भाषा, सशक्त प्रस्तुति

~जय सिंह महरा~Jay Singh Mahara

एउटा भनाइ छ- प्रत्येक मानिसका आ-आफ्ना कथा हुन्छन्, केहीले ती कथा संसारसामु ल्याउछन् शब्दहरूको बैशाखी टेकेर, र अमर बनाउछन् आफ्ना कथालाई जुगौँ जुगसम्म। तर केहीले आफ्ना कथा प्रस्तुत गर्न सक्दैनन् भाषाको घोडा चढेर र बिलाउछन्, खरानी बनाउछन्, वा माटोमा मिसाउँछन् आफ्ना कथाहरू आफ्नै लाशसँगै। कहिलेकाही यस्तो भैदिन्छ कथा भएका तर लय अनि भाषाको अभाव भएकाहरूका लागि श्री गणेश उपस्थित हुन्छन्, र भर्छन् लय अनि लेख्छन् तिनका कथा।

‘तादी किनारको गीत’ यस्तै समुदायको आवाज बनेको छ जसले आफ्ना पुस्तौँपुस्ताका कथाहरू भन्न bookc cover - Tadi Kinarko Geet - Mahesh Paudyalसकिरहेको थिएन। र उपन्यासकार महेश पौड्याल बनेका छन् तिनै श्री गणेश जसले लिपिवद्ध गरिदिएका छन् माझीहरूका दुख, कष्ट, शोक, भोक अनि गरिब भैकन पनि पैसाकै लागि इमान नबेच्ने, धर्म नछोड्ने बरु नदीका छालहरूसँगै केही धारा पसिना र एक जीवन बगाएर गुजारा गर्ने माझीहरूका कथाहरू। यसरी माझीहरूका कथाका सुनकोशी र इन्द्रावती, त्रिशूली र तादीबाट उबाएका छन् पौड्यालले साहित्य रस आफ्नो अञ्जुलीमा र बनेको छ उपन्यास ‘तादी किनारको गीत’।

उपन्यासमा समेटिएको कथावस्तु लखुम माझीको परिवारको हो, जसमा लखुमका दैनिक जीवनका छाल र भेलहरू बुनिएको छ। माझीको जीवनमा उकाली ओराली भन्दा पनि बर्खाका भेल र हिउँदे छालहरू मात्र आउँछन्, समथल त केवल सपना मात्र न हुन्। त्यसैले यो उपन्यासमा लखुम, उसकी पत्नी दुखिनी र छोरो बिकवाका जीन्दगीका भेल र छालहरूकै वर्णन गरिएको छ। साथमा अरु माझीजीवनहरूको पनि ब्याख्यान गरिएको छ, जसका कथाहरू लखुमका जोडिएका हुन्छन्।

लखुम माझीको दाम्पत्य जीवन सुरु सबैभन्दा ठूलो राता पखेटा भएको माछो पारेर ‘माछा मार्ने प्रतियोगिता’मा प्रथम हुदाँ दुखिनीले मन पराएबाट हुन्छ। यसअघि लखुमले जन्मेकै दिन मगनी भएकी जानुकीलाई अस्वीकार गरेर र दुखिनीले पनि उसका अभिभावकले मगनी गरेको केटो माबुलाई अस्वीकार गरी विद्रोह बोलेका हुन्छन्, माझीहरूको सानैमा बिहे गर्ने परम्पराविरुद्ध।

त्यसैगरी हजुरबुबा र बुवाले जिन्दगी गुजारेको थलो दोलालघाटबाट धेरैजसो माझीहरू बिहानीको भाले नबास्दै हिड्नुको कारण र कारुणीक क्षण पनि कम्ता पीडादायी छैन। अनि अन्तिममा बिकवा र मालश्रीको निश्चल प्रेमले कसका मनमुटु नहल्लाइरहन सक्ला र ! बिकवा र मालश्रीको बाल प्रेम यो उपन्यासको मुटु बनेको छ, हरेक पाठकका लागि अविश्मरणीय। साथै माझी समुदायमा रहेको बालबिबाहका ‘साइडइफेक्ट’ लाई पनि मिहिन ढंगले प्रस्तुत गरिएको छ।

यो उपन्यासले हरेक पाठक, जसको बालापन गाउँका खोला र नदीहरूमा पौडी खेलेर बितेको छ र नदी किनारहरूसँग लडिबुडी खेल्दै बितेको छ तिनलाई फेरि त्यै बालापनमा लैजान्छ। तिनका लागि सुन्दर विगत हेर्ने ऐना बन्छ। र जो वञ्चित भए तिनलाई पनि त्यो बालापनको आभास दिलाउनेछ। यो उपन्यास पढ्दा म काठमाडौंमा हैन, कि त मेरो गाँउ दार्चुलाको बार्कुमा थिए जहाँ मैले मेरो बालककाल बिताए कि तिनै नदी किनारहरूमा जहाँ लखुम माछा मारिरहेको हुन्थ्यो र बिकवा उसमी प्रेमिका मालश्रीको गीत सुन्दै र घामकिरी समात्दै खेलिरहेको अनि दुबै भविष्यमा गर्ने तिनीहरूको बिहेको चर्चा गरिरहेका हुन्थे।

उपन्यासको कथावस्तु काभ्रेको दोलालघाट र नुवाकोटको तादी अनि त्रिशूली नदीकिनार र माझीसमुदायको भए पनि यसले शहर र सरकारबाट टाढा रहेका बस्तीहरूको दैनन्दिक दुखहरू बोकेको छ। गाउँमा कतिपय आमा, दिदीबहिनीहरू आज पनि खेत, खलिहान, मेला, जंगल र गोठमा आफ्ना सन्तानलाई जन्माइरहेका छन् जसरी दुखिनीले बिकवालाई दोलालघाट बगरमा जन्माउँछिन् र आतेले मालश्रीलाई खेतमा जन्माउछिन्। अनि गाउँका ति निर्दोषहरूको कथा भन्छ जसले आफ्नो कामलाई र जन्मूमीलाई सधै पसिना र परिश्रमले सिञ्चित गर्छन्, कुनै गुनासो बेगर।

उपन्यासले सामान्य माझीको विषयलाई यति सरल भाषामा तर सशक्त रुपमा प्रस्तुत गरेकोले लाग्यो मेरो गाँउमा पनि यस्ता विषय त कति छन् कति, ती पनि कसैले नछोएका भर्जिन! र यो कृति पढिरहँदा यस्तो लाग्यो खास महेश पौड्यालजस्तै कोही हुँदा हुन् त मेरा गाउँमै पनि कति लेखिनै पर्ने कथाहरू मान्छे खरानी हुनुअघि नै अमर भैसक्थे। ती कथाहरू सती जाने थिएनन्, बल्कि दुनियाँमा चर्चित हुने थिए। महेश पौड्याललाई सलाम, ‘तादी किनारको गीत’ लाई सलाम !

पुस्तक : तादी किनारको गीत
विधाः उपन्यास
लेखक : महेश पौड्याल
प्रकाशक : बुकआर्ट नेपाल
मूल्य : २०५/-

(स्रोत : Pahilopost.com)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.