कविता : अब म लाहुरे हुन्न दिदी

~शुष्मा रुपाबुङ~Sushma Rupabung

तेज गतिमा गुड्दा गुड्दैको गाडी घच्याक्क रोकिए जस्तो
फेर्दा फेर्दैको श्वास प्याट्ट रोकिए जस्तो
अनि चल्दा चल्दैको बतास टक्क अडिए जस्तो..
एक्कासी खङरङ्ग भए !!
जब मेरो सानो भाई छेउमा कुद्दै आएर एकै स्वास्मा भन्यो
‘अब म लाहुरे हुन्न दिदी’
एकपलको लागि लाग्यो म सपना देखिरहेछु
प्रथम श्रेणिमा एसलसी उतिर्ण गरेर
किताब कापी थन्काएर लाहुरे हुन
दिन रात शारिरिक ब्यायाम मा तल्लिन..
दुई पल्ट फेल भएर पनि उहीँ जोस उहीँ जागर
मत लाहुरे हुन्छु हुन्छु !!
सायद पुस्तक नथन्काएको भए
राम्रो अङ्क ल्याएर उच्च शिक्षा हासिल
गर्दै गरेको हुन्थ्यो उ यतिबेला..
सायद कुनै सरकारी सेवाको लागि होनहार
दाबेदार भैसक्थ्यो उ यतिबेला..
तर आज पनि उहीँ डोको बोकेर डोकोक्यारी
गर्नमै ब्यास्त
लाहुरेको सपनाले जहिको तहि..
सम्झाउदा बुझाउदा थाकिसकेको म
यति छिट्टै उस्को मुखबाट यस्तो वाक्व निस्केला
भनेर माया सोचेकै थिएन
यहि वाक्य सुन्न लाई त बर्षौ देखि लालयित
थिए यी कान हरु..
मानौ आज यस्तो लागिरहेछ..
त्यो माथी पहाडको कडा चट्टान बिच बाट चिरेर
एउटा सुन्दर फुल फुल्नलाई सुनौलो कोपिला
निस्किरहेछ…
तर बर्षौ देखिको उसको आगोको राप जस्तो
तातो लाहुरे हुने सपना
यति छिट्टै सेलाएर कसरी अधिर भयो ?
बेगले बगिरहहेको खोला कसरी एक्कासी
जमेर शान्त तलाउ भयो ?
मनमा औडाह हुँदै उस्लाई केही सोधौ भन्दैथिए
फटाफट आफै भन्न थाल्यो मानौ चैतको हुरिले
डडेलो सल्किदा एकैछिन नरोकिए जस्तो
मेरो अनुहारभरी प्रश्नचिन्हहरु प्रष्ट देख्यो सायद !!
दिदी आज सम्म मैले जुन देसको सपना देखे
जुन देशको लागि जिवनको सारा उर्जाशिल
हिस्सा दिन्छु भनेर आफुलाई योग्य बनाउन
रात दिन मेहनत गरे,
आज उनै देशको राजकुमार आएर
मेरो देसको घर आगनमा रमाएर खुसिले नाचिरहेको देख्दा
मेरो देसको मूल्य थाहा पाउदैछु
चाउरिएर मुजै मुजा परेको मेरि बुढी आमाको
अनुहार नियालेर नहेरेको म
आज उनै सुबिधा सम्पन्न राष्ट्रको राजकुमार
आएर छाप्रोमा आमा सङ दुख सुख साट्दा
ग्लानिले छाती पोल्यो दिदी
घरमा ढिडो र गुन्द्रुक खान लाज मानेर मोमो
र पिजा खोज्दै हिड्ने म
उनै राजकुमार आएर स्वादिष्ट मानी मानी खाएको देख्दा
औडाह भएर भत्भती मुटु पोल्छ दिदी
साकेला र रोदिमा कम्मर मर्काउदा पाखे भन्छ भनेर
डिस्कोमा चाक हल्लाउने म
उनै राजकुमार आएर मेरो साकेला र रोदिहरुमा
छमछमी नाचिदिदा
आत्माग्लानिले लपक्कै भिजेर
आफ्नो अनुहार ऐना सम्म हेर्न सकेको छैन…
म आफ्नो फेसबुकको भित्ताहरुमा
मान्छे र मेसिनले जबर्जस्ति बनाएका कितृम
सुन्दरता को बिच रहेको बेलायतको फोटो हालेर मेरो ड्रीम कन्ट्री भनेर क्याप्सन हाल्दै गर्दा
उता उनै देशको राजकुमार आफ्नो फेसबुकका आलिहरुमा मेरो देसको हरिया डाडा काडा मनोरम दृष्य हरुलाई सजाउदै
स्वर्गको सानो टुक्रा लेख्छ!!
के भनौ र दिदी साच्चै यतिबेला
भन्ने हो भने राजकुमार ह्यारी सङ्ग
आरिसले भित्र भित्रै जलिरहेछु
आत्माग्लानिले अलि अलि मरिरहेछु
ईतिहास चाहे जे सुकै होस!
कस्ले बेचे कस्ले किने फेरि दोहोर्याएर पढ्न
चाहन्न ती सुगौली सन्धिका हरफहरु..
बरु चाहन्छु अर्को अध्याय सुरु गर्न
बरु सके रच्छु अर्को नया ईतिहास!!
अब म आफ्नै देसको ह्यारी बन्न चाहन्छु
आज महशुस गर्दैछु म पनि एउटा कस्तुरी हु
जस्ले आफ्नो सुगन्ध थाहा नपाएर भौतारिरहेछु
त्येइ आफ्नो सुगन्ध खोज्न टाडा टाडा !!
हो आज देख्दैछु
मेरो आफ्नो देश भित्रको सम्भाब्यता
मौलिकता र सरलतामा बाच्नुको आनन्दता
अनि आफ्नो सङ दुख सुख साट्दै जिउनुको यथार्थता..
अब म जस्ता हजारौ हजार युवाहरुलाई
यहि देसको ह्यारी बन्न उत्प्रेरित गर्नेछु
अनि मिलेर
र यी देशका ठेकेदार नेताहरुको शरिरभित्र
ह्यारिको मुटु ट्रान्सप्लान्ट गर्न अप्रेशन गर्नेछौ

फेरि हामी जस्तो लाखौ युवाहरु आफ्नै देशको चिसो
स्वाच्छ ह्वाल ह्वाल्ती बगिरहेको खोलानाला छोडेर
अरबको तातो बालुवामा छट्पटिदै काकाकुल बन्नु पर्दैन
आफ्नो ज्यानको भन्दा गर्हौ गोलिगठ्ठा बोकेर अरुको रखुवाली गर्नु पर्दैन
आफ्नो परिवार सङ्ग अलग्गिएर एक्लै बिरानो
मुलुकमा दासी बन्नु पर्दैन
अब आफै देखि सुरुवात गर्दैछु
मेरो मनको अदालतमा आफ्नो स्वाभिमानको
इजलासले फैसला गरिसक्यो
“अब म लाहुरे हुन्न दिदी”
पत्याउनै नसकिने उनका शब्दहरु सुनेर अवाक !!
एकोहोरो चुपचाप चुपचाप उसैलाई हेरिरहे र
मनमनै भने
“थ्याङयु प्रीन्स ह्यारि !!
अब मेरो हजुर आमाले सुनाउने राजकुमारको
कथाको पात्र फेरिनेछ
मैले पछिल्लो पुस्तालाई सुनाउदा
त्यो राजकुमारको कथाको पात्र तिमी हुनेछौ !!!

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.