समीक्षा : योजनगन्धाको सुगन्ध

~ डा. कपिल लामिछाने~book cover - Yojangandha - Binod Prasad Dhital

नेपाली उपन्यास जगतमा उज्यालो हुनुअघि (२०२८) जस्तो आञ्चलिक उपन्यास लेखेर ख्याति कमाएका साहित्यकार विनोदप्रसाद धिताल (१९८०) को दोस्रो उपन्यासका रूपमा योजनगन्धा (२०५२) देखापरेको छ । काव्य–कविताको रचना, उपन्यासलेखन र अनुवादबाट तिखारिइआएको धितालको परिपक्व लेखनीबाट सिर्जित प्रस्तुत उपन्यास नेपाली उपन्यास जगतमा एक थप प्राप्ति भएर उभिएको छ ।

योजनगन्धाको कथावस्तु मुख्यतः महाभारतमा र अंशतः हरिवंश पुराण र देवीभागवतमा आधारित छ । पात्रबहुल विशालकाय ग्रन्थ महाभारतको विशालताभित्र ओझेलमा परेका असङ्ख्य चरित्रमध्ये योजनगन्धा पनि एक हो । हिन्दू पौराणिक स्त्रीपात्र योजनगन्धाको महाभारतमै पनि उल्लेख्य स्थान छ भने उपान्यासकार धितालले त प्रस्तुत उपन्यासमा योजनगन्धालाई प्रमुख चरित्रका रूपमा उभ्याएका छन् । योजनगन्धाDr. Kapil Dev Lamichhane नै यस उपन्यासकी प्रमुख पात्र हो । उसकै नामबाट उपन्यासको शीर्षक चयन भएको छ ।

स्वर्गकी अप्सरा अद्रिका मत्र्यलोकमा आई कालिन्दी (यमुना)मा निर्वस्त्र जलक्रीडा गरिरहँदा उसको हात सन्ध्योपासनामा संलग्न तपस्वी ब्राह्मणको खुट्टामा पुग्न गयो । स्वर्गमा झैं ब्राह्मणलाई तान्दा रिसले चुर भएका ब्राह्मणले यही माछी जस्तै भएस् भनी श्राप दिए । चेदिराज उपरिचरवसुको वीर्य र श्रापित मत्स्यरूप अद्रिकाको गर्भगृहको विचित्र संयोगबाट मत्स्यकन्याका रूपमा योजनगन्धाको जन्म भएको वृत्तान्त उपन्यासका सुरुका पच्छिेदमा दिइएको छ । सो कन्या र साथमा मत्स्य नामक पुत्रलाई जुम्ल्याहा रूपमा जन्माएपछि श्रापमुक्त भई अद्रिका स्वर्गतिर लाग्छे । तिनको लालनपालनको सर्वाधिकार दासराज नामक माझी मुखियालाई प्राप्त हुन्छ । सँगै जन्मेको मत्स्यलाई निस्सन्तान चेदिनरेश उपरिचरवसुले धर्मपुत्रका रूपमा ग्रहण गर्दछन् र मत्स्यगन्धा कन्या र गनाउने भएकीले नरेशद्वारा तिरस्कृत भई दासराजद्वारा नै पालित हुन पुग्छे । दासराज सम्मुख त केही बोल्न सक्दैनन्, तर छोरीप्रति राजाले देखाएको व्यवहारबाट चिन्तित अवश्य हुन्छन् । त्यही चिन्तन मत्स्यगन्धालाई एक आदर्श नारीका रूपमा विकसित गर्न सामल हुनपुग्यो । दासराजले आफ्नो सम्पूर्ण शक्ति लगाएर मत्स्यगन्धालाई पालनपोषण गरे र विशिष्ट विद्वान्द्वारा शिक्षादीक्षा दिन लगाई सम्पूर्ण विद्यामा पारङ्गत तुल्याए । दासराजको प्रबल इच्छाशक्ति र अथक प्रयासले नै मत्स्यगन्धालाई एक विशिष्ट नारीका रूपमा स्थानापन्न गरेको पाइन्छ । त्यही मत्स्यगन्धा गुरु पराशरका कृपाले योजनगन्धा बन्न पुग्छे । उसको जीवनमा पराशरको कृपाले एक बेग्लै मोड प्रदान गरेको पाइन्छ । माझीकी छोरीलाई रानी हुने मार्ग खुल्दछ । गुरु पराशरलाई डुड्डाबाट यमुना पार गराउँदा उसको रूपलावण्यले पराशर जस्ता ब्रह्मनिष्ठ ऋृषिको कठोर मनलाई पगालिदियो । गुरु पराशरले माछाको गन्धको सट्टा अपूर्व सुगन्ध एक योजनको दूरीसम्म मत्स्यगन्धाका शरीरबाट फैलिने, ऊ पछिसम्म नै कुमारीको कुमारी नै रहने, जन्मेको सन्तानको जिम्मा आफूले लिने, अनि यो सब कुरा अरू कसैलाई थाहा नहुने आदि वर र आश्वासन प्रदान गरेपछि कुहिरो लाग्छ र दुवैको समागम हुन्छ । त्यही समागमबाट महाभारतका रचयिता कृष्ण द्वैपायन व्यासको जन्म हुन्छ । पछि योजनगन्धाको गन्धबाट र शीलस्वभाव तथा सौन्दर्यबाट मुग्ध भई राजा शन्तनुले उसलाई रानीका रूपमा पाउने ठूलो आग्रह गर्दछन् । राजा शन्तनु एक योग्यपुत्र देवव्रतका बाबु भएकाले योजनगन्धालाई त्यत्तिकै सुम्पन दासराज हिचकिचाउनु स्वाभाविकै हो । दासराज माझी भईकन पनि अत्यन्त चतुर र व्यवहारकुशल व्यक्तित्वका रूपमा उपन्यासमा उभ्याइएका छन् । योजनगन्धाको पुत्र नै राजा हुने प्रतिबद्धता राजा शन्तनुबाट जाहेर भएमात्र कन्या दिने उनको सर्त भएकाले शन्तनुलाई पर्नु पीर परेको पाइन्छ । उता अनन्य पितृभक्त देवव्रत पिता महाराज शन्तनुको पीडाको कारण बुझेपछि दासराजकहाँ पुग्छन् र बाबुका लागि योजनगन्धा माग्दछन् । दासराजको सर्त उनी स्विकार्छन् । असीम पितृभक्तिका कारण अप्mनै खुट्टामा बन्चरो हान्ने जस्तो भयानक प्रतिज्ञा गरकैले तिनको नाउँ भीष्म रहन गएको हो । राजा शन्तनु देवव्रतको पितृभक्तिबाट अत्यन्त प्रभावित हुन्छन् । त्यही मत्स्यगन्धा–योजनगन्धा माझीपुत्री राजदरबारकी पटरानी सत्यवती नामले प्रख्यात हुन पुग्छे । यही योजनगन्धाको यो पूर्वकथा र राजदरबारमा पुगेपछि उसले गरेको शासन–सुशासन आदिको विस्तृत चित्र नै प्रस्तुत उपन्यासको कथावस्तु हो । योजनगन्धाको जन्म प्रक्रियादेखि उसको सारा जीवन र वानप्रस्थ यात्रासम्मको सम्यक् कथावस्तु भएको हुँदा उपन्यास योजनगन्धामै केन्द्रित देखिन्छ ।

योजनगन्धाको जीवनमा आधारित, उसकै जीवन र चरित्रमा केन्द्रित प्रस्तुत उपन्यास योजनगन्धाको आत्मकथा पो हो । सारा विषयलाई आत्मपरक शैलीमा आत्मकथनात्मक ढङ्गमा पस्किइएको छ । कालिन्दी(यमुना)सित भनिएको ढाँचामा योजनगन्धाले आत्मकथा कथन गरेकी छे । यस्तो आत्मपरक शैली बढी प्रभावकारी हुुन्छ । कालिन्दीसित भनिएको भए पनि संवाद होइन, एकालाप छ । कालिन्दी त मौन श्रोतामात्र बनाइएकी छ ।

उपन्यासमा योजनगन्धालाई महाभारतकी आदिस्रोतका रूपमा चित्रण गरिएको छ । त्यतिमात्र होइन, योजनगन्धालाई अत्यन्त चतुर, शिक्षित, कुशल राजनीतिज्ञ, शक्तिपिपासु र व्यावहारिक व्यक्तित्वका रूपमा चित्रण गरिएको छ । निजामती सेवामा लामो समय बिताएका र सचिव जस्तो उच्च ओहदामा पुगेका उपन्यासकार धिताल पञ्चायतकालीन दरबारिया शक्तिसन्तुलनका बारेमा निश्चय नै परिचित छन् । त्यसको प्रतिबिम्बन यस उपन्यासमा पनि भएको छ । सारा राज्यसत्तालाई स्वयम् सञ्चालन गर्ने विशिष्ट शक्तिकेन्द्र बन्न सफल योजनगन्धाको चरित्रले हामीलाई किंवा पाठकलाई २०४७ पूर्वकी एक नेपाली नारीलाई स्मरण गराउँछ । यो यस उपन्यासको गहन संरचनाभित्रको एक पक्ष हो ।

स्वयम् विधवा भएर पनि आफ्नी विधवा भाइबुहारीसितको समागमबाट सन्तान उत्पादन गर्ने मामिलामा व्यासलाई निर्देशित गर्नमा होस् कि महान् शक्तिशाली सत्यव्रती देवव्रत भीष्मलाई भुसुनासरह आफ्नो इच्छाअनुुसार राज्यसञ्चालन गर्नमा कजाउनमा होस् योजनगन्धाको व्यवहार निपुणता, कूुटनैनिकता तथा शक्तिआर्जन गर्न सक्ने क्षमता प्रदर्शित भएको पाइन्छ ।

योजनगन्धालाई उच्च शिक्षादीक्षा दिइएको प्रसङ्ग लगायत केही मसिना भिन्नता बाहेक कथावस्तुमा महाभारत र योजनगन्धा उपन्यासमा खास अन्तर छैन, तर महाभारतको त्यही शुष्क कथावस्तुलाई यहाँ उपन्यासकार धितालले पूर्ण जीवन र सरसता प्रदान गरेका छन् । उपन्यासकारको यो खुबी सराहनीय छ । सडककिनारमा वर्षांैदेखि त्यसै मिल्किएको प्रस्तरलाई धितालले कुँदेर एक सुन्दर दर्शनीय प्रतिमा बनाएका छन् । त्यसैले त साहित्य कला हो भनिन्छ ।

योजनगन्धाका केन्द्रीयतामा देवव्रत, दासराज आदि विभिन्न चरित्रको चित्रण पनि उपन्यासमा भएको छ, तर योजनगन्धाको विराट् र विस्तृत चरित्रसामु तिनीहरू बामपुड्के नै देखिन पुगेका छन् ।

पौराणिक कथावस्तुमा आधारित थोरै नेपाली उपन्यासका शृङ्खलामा योजनगन्धा थपिन आएको छ । यसले एकातिर नेपाली उपन्यास जगतमा सम्पन्नताको एक इँट थपेको छ भने अर्कातिर पौराणिक उपन्यास लेखनको गतिलाई थप गति प्रदान गरेको छ । विराट् परिवेश ओगटेर पनि सुरुदेखि अन्तसम्म उपन्यास रोचक लागिरहनु, पढौँँपढौँँ लागिरहनु यस कृतिको खास साख हो ।

योजनगन्धा कोरा उपन्यास होइन, यो त हिन्दू संस्कृतिको पूर्व झलक पनि हो । हिन्दू संस्कार र संस्कृतिलाई यसले मनग्गे चित्रण गरेको छ । भाषा सरल र सलल्ल बगेको छ, तर अनुमानै गर्न नसकिने गरी ‘नघबराए’(पृ.१२२, हिन्दी क्रियारूप), ‘ढाढस (पृ. १३७,१३८), ‘ताजुप (पृ. १३९), ‘मजाल’ (पृ.२६४), ‘मुस्तेज’ (पृ.३३३), ‘दोबहरबाद’ (पृ. १४०, २२१…) जस्ता हिन्दी, उर्दू, फारसी शब्द र क्रियारूपको प्रयोग भएको पाइन्छ । यसले झिनुवा चामलको भात खाँदा दाँतमा दर्शनढुङ्गा लागे जस्तो बनाएको छ ।

अन्तमा सानातिना कमीकमजोरीतर्फ आँखा चिम्लेर भन्ने हो भने विनोदप्रसाद धितालद्वारा लिखित ४९ परिच्छेदमा विभिक्त योजनगन्धा उपन्यास एक थप उपलब्धि हो । मदनमणि दीक्षितको माधवी झन्डै यस्तै उपन्यास भए पनि त्यो उच्च बौद्धिक पाठकको मात्र वशको विषय बनेको छ भने यो सामान्य पाठकका लागि पनि पाठ्य–खुराँक सिद्ध हुने देखिन्छ । दुवै विशिष्ट छन्, तर माधवी हाडे ओखर हो भने यो योजनगन्धा दाँतेओखर । मीठो अनि सरल, सुपाठ्य र सुबोध्य पनि योजनगन्धाको आफ्नै विशिष्ट पहिचान हो, सुगन्ध हो ।

(स्रोत : समकालीन साहित्य)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.