~एन.आर. शाक्य~
एकजना पहलमानलाई आफ्नो बलका बारेमा ठूलो घमण्ड थियो। उनको रिस पनि कडा थियो। तैपनि परेका बखत सबैलाई मद्दत गर्ने बानीका कारण उनी गाउँलेहरूबीच लोकप्रिय थिए।
पहलमानलाई एकदिन लाग्यो ‘यो संसारमा मैले पाउने र भोग्ने जति भोगिसकें, अब मैले स्वर्ग र नर्कका बारेमा जिज्ञासा राखंे। तर गाउँलेहरू उनका प्रश्नको जवाफ दिन सक्षम थिएनन्। त्यही ताका गाउँमा एकजना दुब्लो–पातलो साधु बास माग्न आइपुगे। गाउँलेले साधुलाई बास दिएर पहलमानलाई स्वर्ग र नर्कको कुरा बताइदिन आग्रह गरे। साधुले कोसिस गर्ने वचन दिए।
गाउँलेले पहलमानलाई साधुकहाँ पुर्याए। पहलमानले विनम्र भावमा स्वर्ग र नर्कसम्बन्धी आफ्नो प्रश्न दोहोर्याए। तर प्रश्न सुनेबित्तिकै साधु चिच्याउन थाले ‘तँ जस्तो मुस्तण्डलाई स्वर्गको बारेमा जान्ने कुनै अधिकार छैन। सुँगुरजस्तो मोटाउँदैमा र राँगोजस्तो बलियो हुँदैमा ठूलो मान्छे भइन्छ?’
पहलमान छक्क परे। उनका चेला चपेराहरू त साधुमाथि खनिइहाले। यतिकैमा साधुले भने, ‘यी यही हो नर्क यस्तै हुन्छ …. !’
पहलमानले चेला चपेटाहरूलाई रोके। साधुले थपे, नर्कको द्वार भनेको अहङ्कार हो, दुर्व्यवहार हो, दुर्वचन हो। दुर्व्यवहारले प्रतिशोध जन्माउँछ र प्रतिशोधले हिंसा। नर्कको प्रमुख चरित्र नै असहनशीलता र हिंसा हो। यही कुरा बुझाउन मैले अघि कडा वचन प्रयोग गरेको थिएँ। सायद नर्क कस्तो हुन्छ भन्ने तिमीले अब बुझ्यौ होला।
पहलमान छक्क परे। अनि सोधे ‘स्वर्ग चाहिं कस्तो हुन्छ त बाबा?’
साधुले भने ‘खासमा स्वर्ग र नर्क भनेको मानिसको व्यवहारले जन्माउने लोकहरू हुन्। असहनशीलता, दुर्वचन, दुर्व्यवहार, हिंसा, प्रतिशोध आदिलाई संसारबाट निकालिदिनुहोस्, स्वर्ग त्यहीं हो। पहलमानले साधुका पाउमा नतमस्तक हुँदै भने ‘छर्लङ्ग भयो प्रभु !’
स्वर्ग र नर्कको परिभाषा
(स्रोत : शिक्षक पत्रिका वर्ष ४ पूर्णाङ्क ४३/०६८)