~देविका खुलिमुली~
सबको आवाज बुलन्द गर्दै
आज म चिच्याइरहेछु
म कराइरहेछु
म गुहारिरहेछु
मेरो अस्तित्वमा कुनै दाग छैन
जसरी गङ्गा पवित्र छिन्
मेरो सोचाइमा कुनै स्वार्थ छैन।
आजको युग हाम्रो हो
आजका राम दश वर्ष वनवास गई
त्यसको मूल्य हामीसँग चुकाउँछ
आजको कृष्ण
कंशसँगै मित्रताको हात अगाडि बढाउँछ
हो, हामी बुद्धु छौं, लाटो छौं
अरुले खाएको टुलुटुलु हेरी बस्ने
हामी थोत्रा क्यारेमबोर्डका
गोटी हौं
अरुको इसारामा नाच्ने
अरुको सहारामा बाँच्ने
त्यसैले, आजकी सीताले अग्निपरीक्षा दिन स्वीकार्नु हुन्न
कौडामा आफूलाई बन्धकी राखिनुहुन्न
आजकी द्रौपडीले
अन्याय र अत्याचारदेखि
माग्ने बेला छैन अब
एकजुट भई लड्न सिकौं
अन्यायदेखि जुध्न सिकौं।
हो आमा,
अब चुप रहनुहुन्न
भित्रभित्रै दबिएको आवाज
आज हामीले प्रस्फुटन गर्नु छ
रामलाई सम्झाउनु छ
कृष्णलाई रोक्नु छ
सीता अनि द्रौपडीलाई
आफ्नो अस्तित्वको अवगत गराउनु छ
अब चुप रहनुहुन्न ।
(स्रोत : मजदुर दैनिक)