कथा : समयको बेग्लै रङ्ग

~रामचन्द्र श्रेष्ठ~

के समयको रङ्ग हुन्छ?

हो, समयको रङ्ग हुन्छ। समयका भिन्न–भिन्न क्षणहरू समयका बेग्ला–बेग्लै रङ्ग बनिदिन्छन्। हत्या, बलात्कार, भ्रष्टाचार वा अपराधको समय शायद कालो हुन्छ होला। निष्काम कर्मको समय शायद सेतो हुन्छ होला। परिवर्तनको समय रातो हुन्छ होला। जब समयको अविराम गतिमा मानव जीवनका डोबहरू अङ्कित हुन्छन् त्यसले बेग्लै रङ्ग लिन्छ। चाहे त्यो कालो होस् वा सेतो वा रातो नै किन नहोस्। त्यस्तै समयको एउटा बेग्लै रङ्ग सृजित भयो गत चैत ४ गते।

४ गते बिहान सात बजेतिर बुटवलको शिरानतिरको बुटवल बहुुमुखी क्याम्पसमा एक हुल केटीहरू सल्बलाए। तिनीहरू कक्षाबाट निस्किए। तिनीहरूको पाउका चाल अरु दिनको भन्दा अलि फरक थियो। केही अप्ठ्यारोजस्तो, केही अल्झे जस्तो, कता–कता हिच्किचाहट जस्तो। ती केटीहरूमध्ये केहीले प्लेकार्ड बोकेर लाम लाग्न थाले। केही अन्य कक्षा–कक्षामा जान थाले। अरु साथीहरूलाई पनि लाममा लाग्न अनुरोध गर्न थाले। ठ्याक्कै त्यस्तै बेला, त्यस्तै दृश्य बुटवलको माझतिरको लुम्बिनी वाणिज्य क्याम्पसमा पनि देखिएको थियो। कक्षा–कक्षामा पुगेर केटीहरूले जुलुसमा लाग्न प्रेरित गर्दै थिए, आह्वान गर्दै थिए। हो, समयको गतिशील इतिहासमा एउटा नयाँ रङ्ग पोतिदै थियो। त्यो रङ्ग थियो ― महिला हिंसाविरुद्धको रङ्ग।

साढे सात बजेतिर दुवै क्याम्पसबाट त्यो लाम जुलुसमा परिवर्तन भएर जोडदार नाराका साथ हिंड्न थाल्यो। जुलुसका प्रायः सहभागी केटीहरू थिए। यो दृश्य बुटवल बजारमा विरलै देखिने दृश्य थियो। केटीहरूको लाम पूजा–आजा र भजनमा देखिन्छ। शिवरात्रीको दिन सिद्धबाबामा केटीहरूको लामो लाम देखिन्छ। केटीहरूको लाम रमाइलो मेला भनिने प्रदर्शनीमा देखिन्छ। तर, अन्यायको विरोधमा, नारा, जुलुस र र्‍यालीमा केटीहरूको लाम विरलै भेट्टिन्छ। हो, स्कूल, कलेज, सङ्घ–संस्थाको विविध कार्यक्रमको प्रचारात्मक र्‍यालीमा कहिलेकाहीं केटीहरूको संख्या देखिन्छ, त्यो पनि सजावटको रूपमा, शृङ्गारको रूपमा, शोभाको रूपमा। तर यो जुलुस बेग्लै थियो। यो जुलुस केटीहरूले निरन्तर भोगिरहेको हिंसाको विरोधमा थियो। देशका विभिन्न भागमा घटिरहेको बलात्कार, एसिड प्रहारजस्ता घटनाको विरोधमा र सरकारी मौनताको विरोधमा थियो। र यी दुवै जुलुसको नेतृत्त्व नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका छात्राहरूले गरेका थिए।

जुलुस निकै संयमित थियो। दुई पङ्क्तिको लाम थियो। नारा सहितका प्लेकार्ड थिए। क्यापसे केटीहरूले बडो जोशका साथ अनुहार रातो पिरो पारेर आफ्नो आक्रोश पोखिरहेका थिए। समय केटीहरूको आवेगको रङ्गले रङ्गिएको थियो। प्ले कार्डका नाराहरू पनि अलि बेग्लै अर्थ बोकेका थिए। एउटा नारा थियो― “महिलाहरूलाई बिक्रीको वस्तु नबनाऊ”, अर्को नारा थियो― “जीव विज्ञान नारीजातिको नियति होइन”, अर्को थियो― “महिला हिंसाका जघन्य अपराधीलाई मृत्युदण्डको बन्दोबस्त गर”, अर्को थियो― “मलाईं एक्लै नहिंड् नभन, तिम्रो छोरालाई दुर्व्यवहार नगर्न भन” आदि, आदि।

जब दुवै जुलुस ट्राफिकचोकमा भेटिए सभा सुरु भयो। सभाका सञ्चालक केटी, वक्ताहरू पनि केटी नै। अचम्मको समयको रङ्ग रङ्गिदै थियो ट्राफिकचोकमा। वक्ताहरूले आफ्नो मनको वेदना र समाजको वास्तविकता कहन थाले। उनीहरूको शब्द–शब्दमा भोगाइको कटु यथार्थ थियो, उनीहरूका हरेक प्रश्नले समाजको सङ्कीर्ण मानसिकताको पर्खाल थरर्र काम्थ्यो। एक वक्ताले भनिन्― महिलामाथिको हिंसा सामन्ती सोचको उपज हो। महिलालाई खेलौना सम्झने गलत मानसिकताको पराकाष्ठा हो। तर परिवर्तनको बाटो सरल छैन। जस्तो कि आज हामी घर फर्किएपछि फेरि पनि शब्दका प्रहारहरू भोग्नुपर्नेछ तर जबसम्म हामी हाम्रो आक्रोश पोख्न सडकमा उत्रन्नौं हाम्रो मुक्ति सम्भव छैन।

केटीहरूको भाषण कमजोर थिएन। तिनीहरू कुनै रुवाबासी गरिरहेका थिएनन्। न त शब्दको लोलोपोतो नै। उनीहरू तथ्याङ्क बोलिरहेका थिए। कुन वर्ष कति बलात्कारका घटना भए, कति एसिड प्रहार भए। त्यस्तै उनीहरूले प्लेकार्डमा उल्लेखित नाराहरूको व्याख्या पनि प्रस्ट गरिरहेका थिए। एक वक्ताले भनिन्― महिलालाई जैविक हिसाबले नै कमजोर सम्झने गरिन्छ। यो दृष्टिकोण गलत हो। जीव विज्ञान नारीजातिको नियति होइन। महिला जैविक हिसाबले कमजोर छैनन्। बाघ र बघिनीमा बाघभन्दा बलियो बघिनी नै हुन्छे। तर, मानव समाजमा महिलालाई जैविक रूपले कमजोर भएको भ्रम छरिएको छ। मानव समाजमा महिला जैविक हिसाबले होइन सामाजिक हिसाबले कमजोर पारिएका छन्। जैविक यथार्थको परिवर्तन हुँदैन तर सामाजिक परिभाषा बदलिन्छ। त्यसैले महिला माथि लादिएको सामाजिक कमजोरपना बदलिन सक्छ।

पक्कै पनि महिलालाई कमजोर भएको भान पारिएको छ। त्यो जैविक नभई सामाजिक नै हो। समाजको गलत मान्यता, सोच र मानसिकताले महिलालाई पुरुषभन्दा कमजोर बनाइएको छ। सहाराको मानसिकता हुर्काइएको छ। जब महिलाहरू आफूमाथिको परम्परागत साङ्ग्लोलाई तोड्ने हिम्मत गर्छन् समयको नयाँ रङ्ग सृजित हुन्छ। त्यो मुक्तिको रङ्ग हुन्छ। अर्को नाराको व्याख्या गर्दै वक्ताहरूले भने― “सामन्ती समाजमा महिलालाई चुल्होको कैदी बनाइन्थ्यो। पूँजीवादी व्यवस्थामा महिलालाई सुन्दरताको नाममा, फेसनको नाममा बिक्रीको वस्तु बनाइएको छ। महिलाको सुन्दरतालाई, यौवन र इज्जतलाई व्यापारको वस्तु बनाइएको छ। पूँजीवादी व्यवस्थामा महिलाको स्थान झनै दयनीय हुन्छ।” एक पाइला अगाडि बढेर ती वक्ताले भनिन्― “सबैभन्दा ठूलो महिला हिंसा विज्ञापनको नाममा गरिने महिलाको शरीरको बिक्री हो।” वर्तमान समाजलाई उनले कठोर प्रश्न गरिन्, “के हरेक पोल–पोलमा महिलालाई नङ्ग्याएर पोष्टरिङ्ग गर्नु आफैमा महिला हिंसा होइन?” शायद उनको तितो शब्द नाफाखोरहरूलाई अपच होला तर यो यथार्थ हो। उनीहरूले प्राचीन इतिहासदेखि महिला दबाइएको चर्चा गरे र उदाहरणमा ल्याए― गार्गी र याज्ञवल्क्यको बहसको प्रसङ्ग। बुद्धिको क्षेत्र अब सङ्कीर्ण पुरुष र धनी महिलाहरूमा मात्र सीमित रहेन।

ती केटी वक्ताहरूले उग्रनारीवादीहरूले जस्तो छुद्रता प्रस्तुत गरेका थिएनन्। उनीहरू विचारमा प्रस्ट थिए। त्यसैले उनीहरूले वर्गीय रूपमा धनी महिलाले गरिब महिलालाई दबाउने सत्य भन्न छुटाएनन्, पटक–पटक दोहोर्‍याए। त्यस्तै पुरुषको उनीहरूले विरोध गरेनन् बरु प्रस्ट भने― महिलाको विरोधी पुरुष होइनन्, पुरुषप्रधान चिन्तन हो। जुन चिन्तन महिलामा पनि हुनसक्छ र कतिपय पुरुषमा नहुन पनि सक्छ। पुरुष महिलाभन्दा श्रेष्ठ छ र उसलाई महिलाभन्दा बढी अधिकार र सुविधा हुनुपर्छ भन्ने चिन्तन नै पुरुषप्रधान चिन्तन हो। त्यस्तै, उक्त जुलुस र सभामा महिला हिंसाका जघन्य अपराधीलाई ज्यान सजायको बन्दोबस्त हुनुपर्ने आवाज निकै चर्कियो। हुन त ‘आँखा आँखाको लागि’ सिद्धान्त त्यति प्रिय नहोला। तथापि बाटोमा बिझाउँने काँडालाई हटाउनैपर्छ। मानव समाजको पूर्णताको यात्राको लागि जघन्य अपराधी बाटोका काँडा हुन्। तिनलाई बाटोबाट हटाउनैपर्छ।

तर, यो जुलुस त्यति सजिलै निस्केको थिएन। सुुरुमा केटीहरू लाममा उभिन अप्ठ्यारो माने, हिच्किचाए। हजारौं वर्षको दमनको इतिहासले उनीहरूमा दमित मानसिकता निर्माण गरेको थियो। त्यसैले लडाईं त पहिले आफ्नै मनसँग थियो। एकजना लाममा उभिन अर्को साथी भयो। हरेक जना हरेक अर्कोको साथ र भरोसा बन्न थालेपछि फूलहरू मालामा उनिन थाले। तर, बुटवल बहुमुखी क्याम्पसमा एक हुल यस्ता केटाहरू देखिए तिनले केटीहरूको मानसिकतामा चोट पुर्‍याए। पक्कै पनि केही बुझेका र हिंसाविरोधी भावना भएका केटाहरू जुलुसमा सहभागी भए। तर, केही केटाहरूले जुलुसमा जाने केटीहरूलाई गिज्याउन थाले। “ऊ, गै, गै जुलुसमा गई…..”जस्ता शब्दहरूले गिज्याउँदा केटीहरूको पाइला केहीबेर धर्मराए। केटाहरू जुलुसमा जाँदा त्यो गौरवको विषय बन्छ। सिसा फोडेका र ढुंगा हानेका कुरापनि केटाहरू गौरवका साथ सुनाउँछन्। तर, युगौंदेखिको दमनको इतिहास तोड्न लम्केका पाइलालाई गिज्याइन्छ। यहीं हो पुरुषप्रधान मानसिकता। यो ठूलो चुनौति थियो केटीहरूलाई। उनीहरूका खुट्टा कामेका थिए। तर, केटीहरूले फेरि एकचोटि आफ्नै मनसँग सङ्घर्ष गरे। एकजना साथीले कक्षामा उनीहरूलाई भनेका थिए― यस्तो समय फेरि आउँदैन आक्रोश पोख्ने समय यही हो। मनका पीडाहरू मनमा खात लगाउनुहुँदैन, बोल्ने बेला यहीं हो। केटीहरूले आफुले भोगेका पीडालाई सम्भि्कए। मन अमिलो भयो। मुटु दह्रो पारे र लम्काए आफ्ना पाइलाहरू। सभामा एक वक्ताले भनेकी थिइन्― जसले मुक्ति चाहन्छ, मुक्का उसैले हान्नुपर्छ। हो त, केटीहरूले मुक्का चलाए। परम्परागत मान्यतामाथि। पक्कै पनि जब कामदार केटीहरू राजनैतिक हिसाबले सचेत र सङ्गठित हुन्छन् मुक्तिको द्वार खुल्छ। त्यो जुलुस पुरुषप्रधान चिन्तनमाथि गरिएको प्रहार थियो।

जुलुसले बजारमा राम्रै ‘मार्केट’ लियो। तर घरपरिवार र सङ्कीर्ण समाजमा यसको प्रभाव बेग्लै थियो। समाचारमा आफ्नी छोरीको नाम सुनेपछि एक अभिभावकको मुखबाट फुस्कियो― “छाडाहरू”। हो त, छोटा कपडामा नाङ्गिएर बहुराष्ट्रिय कम्पनीको नाफाको हतियार बन्दा छाडा भइन्न। स्वास्नीलाई बच्चा जन्माउने मेशिन सम्झने सङ्कीर्ण पुरुषसँग बिहेको पासोमा बाँधिदा छाडा भइन्न। रमाइलो मेलामा मस्की मस्की हिंड्दा छाडा भइन्न। गोपिनीहरूसँग पात्तिने कृष्णको कथा पढ्दा, सातवर्षे गोमासँग सत्तरी वर्षे पुरुषको बिहे गरेका कथा, ऋषि पत्नीसँग भगवान्का रोमान्सका कथा पढ्दा छाडा भइन्न। यौन कुण्ठाले ग्रसित भजनमा नाच्दा छाडा भइन्न। तर, युगौंदेखिको गलत चिन्तनको विरोधमा बोल्दा, महिला हिंसाप्रति सरकारी मौनताप्रति चिच्याउँदा छाडा भइन्छ। बिग्रेकी भइन्छ। केटी हो, तिमीहरू तथाकथित ‘सभ्य’ बन्ने कि ‘छाडा’? समयको यो अनौठो रङ्ग हो।

एक वक्तालाई कक्षामा शिक्षकले भनेछन्― “अब त तिमीलाई हामीले नमस्कार गर्नुपर्ने भयो। तिमीले ट्राफिक चोकमा भाषण गरेछौ।”

ती वक्ताले जवाफ दिइन्― “सर, मेरो ठाउँमा कुनै केटाले भाषण गरेका भए के तपाईं उसलाई यही शब्द भन्नुहुन्थ्यो?” सर नाजवाफ भए।

कक्षाका अन्य केटीहरूले भनेछन्― “सरको विचार पनि पुरुषप्रधान नै हो।” अब आफूलाई सच्याउने पालो सरको र बाँकी हामी सबै सङ्कीर्ण टाउको बोकेकाहरूको।

(स्रोत : मजदुर दैनिक)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.