~सुलोचना मानन्धर~
‘ह्वाइट केन’ दृष्टिविहीनका लागि स्वतन्त्रताको प्रतीक हो। स्वतन्त्र गमनशीलताको प्रतिविम्ब। यात्राको सहारा। अझ भनुँ जीवनकै सहारा। यही केन लिएर अन्नगिन्ती गल्ली, सडक, किनारा, खुट्किला, सिंढी सबैतिर उक्लिन्छु म।’
उद्धृत भनाइ साङ्ग्रिला पुस्तक प्रा.लि.द्वारा प्रकाशित मनीषा गौचनद्वारा लिखित दोस्रो उपन्यास ‘ह्वाइट केन’का मुख्य पात्र भास्वत्ले ह्वाइट केन दिवसमा व्यक्त गरेको अभिव्यक्ति हो। मन र मस्तिष्कले संसार देख्ने दृष्टिविहीनहरूप्रति केन्द्रित यस उपन्यासले एक दृष्टिविहीन पात्रको प्रेम, जीवन र सङ्घर्षलाई लेखकले खोतलेकी छिन्।
साहित्यिक संसारमा कविताको माध्यमबाट पाइला चालेकी मनिषा गौचनको पहिलो उपन्यास ‘बल्लीको डायरी’ एक वर्षअघि पढ्ने अवसर मिलेको थियो। पुरुष वेश्यावृत्तिको विषयमा लेखिएको यस उपन्यासको सफलतालगत्तै दोस्रो उपन्यास ‘ह्वाइट केन’ पाठकहरूमाझ आएको छ जुन पठनीय छ।
उपन्यास प्रतिगमनविरोधी आन्दोलन (२०६२/०६३) को सफलतानजिक र पछिको राजनीतिक परिवेश उतार्न सफल छ। गणतन्त्रको स्थापना पछाडि पनि देशको समस्या उस्तै र कुनै परिवर्तन नआएकोप्रति लेखिका विभिन्न पात्रहरूमार्फत चिन्ता व्यक्त गर्छिन्। त्यस्तै नेपालमा व्याप्त बेरोजगारी समस्याबाट लाखौं युवाहरू विदेशिनु परेको र नेपालमा रोजगारीको खोजीमा भौतारिरहेका युवाहरूको मानसिक तनाव र तिनीहरूको अन्योल भविष्यको बारेमा चित्रण गर्न सफल देखिन्छ।
उपन्यासमा ‘ह्वाइट केन’ उसको ‘आइडेन्टिटी कार्ड’ जस्तो मात्र लाग्छ। उसको जीवनमा एकपछि अर्काे महिला असली ह्वाइट केन बनेर आएका हुन्छन्। ह्वाइट केन उसको मुक्त जीवनको चिन्ह भएको छ। स्वतन्त्र, स्वावलम्बी र सक्षम यो पात्रले दृष्टिविहीनप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याएको छ। प्रकाशकको भनाइको सापटी लिंदै वास्तवमा उपन्यासका मुख्य पात्रले एकपछि अर्काे महिलाको साथ र सहयोग पाइरहेको हुन्छ।
सानैमा आफ्नै आमाबाले सिस्नुको झ्याङमा फालेको दृष्टिविहीन भास्वत्को सुलभा, जुनो, सीमा, दिया, मार्जरी, सुमिता मिस, बमौली आदिसँग नजिकको सम्बन्ध रहेको हुन्छ। यी पात्रहरू कोही साथीको रुपमा, कोही अभिभावको रुपमा त कोही प्रेसिका रुपमा चित्रित गरेको देखिन्छ।
लेखिका गौचनले एक जन्मजात दृष्टिविहीन पात्रको प्रेम र जीवनलाई मुख्य कथाको रुपमा उपन्यासमा उतारेकी छिन्। भास्वत र सुलभा प्रेमीप्रेमिका हुन्। तिनीहरू एक अर्काका ऊर्जाका स्रोत हुन्। देशको राजीतिक अस्थिरता, अशान्त परिवेश, बाटोमा जताततै भेटिने दुःख अभावमा बाँचेमा मान्छेहरूको दुःख, गरीब, दीन दुःखीहरूको जीवनशैलीबाट आजित सुलभाले ती पात्रहरूको छनौट गरी उपन्यास लेख्न पुग्छिन्। जसबाट उनीहरूबीचको सम्बन्ध पातलिंदै जान्छ। पछि सुलभा आफ्नो वास्तविक जीवन र भोगाइले भास्वत्सँगको सम्बन्ध असम्भव ठानी आफ्नो प्रेम सम्बन्धलाई मित्रताको सम्बन्धमा रुपान्तरण गर्छिन्।
सुलभाले आफ्नो उपन्यासमा छाप्रोमा बस्ने मान्छेहरूको कथा उतारेकी हुन्छिन्। यही समाजको समस्यालाई लिएर अर्को उपन्यासको पात्रको खोजी गर्दागर्दै आफै त्यस समस्यामा जेलिन पुग्छिन्। जुन महिला जो आफ्नो श्रीमानबाट पीडित छिन् तिनलाई उपन्यासको पात्र बनाउन प्रयास गर्दा सुलभा आफै बलात्कृत हुन पुग्छिन् र असफल प्रयास। अन्तमा बदलास्वरुप त्यस यौनपिपासु धनाढ्य व्यक्तिबाट सुलभाको मृत्यु हुन्छ। यसरी भास्वत् र सुलभाको प्रेमकथा अन्त्य हुन्छ।
यस प्रेमकथामा सुलभाले देशको अशान्ति, राजनीतिक अस्थिरता, भोक, गरिबी, बेरोजगारी, दुःख, समस्या, अभाव आदिका विषयमा चिन्तन गरेतापनि तिनीसँग समाधानका उपाय थिएन्। त्यसैले उपनयासमा नायिका सुलभालाई विद्रोही, उर्तसाहित र परिवर्तनशील नारीका रुपमा चित्रित गरेको भए उपन्यास अझ प्रभावकारी हुन्थ्यो। लेखिकाले यस उपन्यासमा एक दृष्टिविहीनको प्रेम, यौवन र आकर्षणलाई आवश्यकताभन्दा ज्यादा लेखेकी छिन्।
उपन्यासका मुख्य पात्र दृष्टिविहीन भए तापनि स्वावलम्बी, मेहनती, सक्षम र स्वतन्त्र छ। उनको जीवन सङ्घर्षको कथा पढ्दा झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ आत्मसंस्मरणको सम्झना हुन्छ। उपन्यासमा मनिषाले शिष्ट भाषामा नारी र पुरुषको बहुआयामिक सम्बन्धको चित्र प्रस्तुत गरेकी छिन्।
मनिषा गौचनले उपन्यासमा सरल र शिष्ट भाषाको प्रयोग गरेकी छिन्। साथै वार्तालापको माध्यमबाट उपन्यासलाई नटुटाइकन रुचिका साथ अध्ययन गर्ने मौका दिएकी छिन्। उपन्यासको छपाइ गुणस्तरीय छ, कभर पेज राम्रै छ।
लेखिकलाई साधुवाद !