~विजय गिरी~
भक्तपुर कमलविनायक नजिकै एउटा पुरानो घरमा गौंथलीको गुँड बनाउन थालेको हुन्छ। परालका त्यान्द्रा र नल टिपेर मेहेनत गरेर त्यस सुधो चरोले केही समयमा गुँड पनि तयार गर्छ। समय बग्दै जान्छ नदीजस्तै, गौथलीको गुँडमा पहिले अण्डा र पछि स–साना चल्ला पनि देखापर्छन्।
चल्ला च्याँ च्याँ गर्दै भोकाएको सङ्केत दिइरहेका हुन्छन्। गांैथली चारो टिप्न भनि छेउकै घरको बिस्कुन नजिक उड्छ। सोही बिस्कुनको गुहालो लाग्दै गरेकी नेवार्नी आमाले हा..हा.. गरेर गौथलीलाई उडाइदिन्छिन्। चारो नभइनहुने भएकोले गौथली बिस्कुन खोज्दै अर्को घर अनि अर्को घर चहार्छ।
खोज्दै गर्दा गौंथली अलि टाढा पुग्छ। दिउँसोको कुरा हो, मध्यान्हतिरको, मानिसको चित्कार गौंथलीले स्पष्ट सुन्छ। घर लडेको देख्छ। धुँवा–धुलोको मुस्लो देखिन्छ। मान्छेहरू रोईकराई भागाभाग गर्न थाल्छन्। कति मान्छेलाई घरले छोप्छ। गौंथली यो सबै देखेर अत्तालिन्छ। उसलाई आफ्नो पर्खाइमा च्याँच्याँ गर्दै कुरिरहेका भोको चल्लाको याद आउँछ। उसलाई डर लाग्छ कतै उसका चल्ला पनि यी मान्छेजस्तै पुरिए कि भनी।
गौंथली भुर्रर उडेर आफ्ना गुँडतिर आउँछ। बाटामा मान्छेहरू जम्मा भएको देख्छ। कहीं चोटग्रस्त त कहीं मरेका। मान्छेहरू मलिन चेहरा दयाका भोका देखिन्छन्। गौंथली आफ्नो गुँड भएको घर नजिक पुग्न थाल्छ। त्यस घरका घरधनी बाहिर आएका हुन्छन्। उनीहरू डराएका आँखाले गांैथली अझ तर्सिन्छ। घरका सबै जनालाई देखेर गौंथलीको मन अलि सम्हालिन्छ। गौंथली पुग्छ आफ्नो गुँडमा र जताततै हेर्छ। अर्कै ठाउँमा पो पुगेछु कि भनी गौंथलीले सोच्छे। तर त्यो त्यही ठाउँ हुन्छ। त्यही घर जहाँ उसको पनि घर थियो। उसका साना बच्चा थिए। सब भताभुङ्ग हुन्छ। उजाड भएको हुन्छ। मेहनत गरेर बनाएको घर देख्दैन। न त आफ्ना चल्ला नै देख्छ।
गौंथलीको बेचैन हुन्छ। आफ्नो गुँड, आफ्ना चल्ला गौंथलीले खोज्छ। कहीं हुँदैनन्। साना चल्लाको च्याँ च्याँ आवाजतिर गौंथली उड्छ। कहीं भेटिंदैन। ‘मेरो गुँड कहाँ छ? मेरा चल्ला कहाँ छन्?’ भनी गौंथली कराउँदै, रुँदै उडिरहन्छ। मानिसहरू आत्तिएर भनिरहेका हुन्छन्, ‘भूकम्प आयो, घर लडायो, मान्छे मार्यो।’ तर विचरो गौंथली यो केही बुझ्दैन।
(स्रोत : मजदुर दैनिक)