~सरोज गोसाईं~
शैशव कालमा हरेक दिन
विद्यालयको बिहानी प्रार्थनामा
झिमझिम ताराको गीत गाउँथ्यौं
ताराको अर्थसित मतलब नाईं !
कति आँखा आकासका रातमा
आँखा झिम्काउँदै जिस्काउँछ सगर
दिनमा कता गए आश्चर्य मनमा
तारा झरेरै भो कि जूनकिरी।
शरद्को आकासमा अनगिन्ती तारा
नभ–हीरा गन्नै नसकेर लज्जित हुन्थ्यौं
पुच्छ्र्रेतारा बिलाएकोमा जिल्लिन्थ्यौं
ध्रुवधारा खोज्न माथि माथि चढ्थ्यौं।
तारा र हीरा उस्तै रे चमकमा
धन्य छ हे आकास
तिम्रो पछ्र्यौरीभर हिरैहीरा
तै हीरा अर्थ्याउने मेसो बन्यो।
बरु जलेर सकिउँ भन्छ तारा
उज्यालो पार्नु छ संसार प्यारा
बुद्ध, मार्क्स, आइनस्टाइन नभमा
तिनकै प्रकाशमा उज्यालो सारा।
२०७० कार्तिक १३
(स्रोत : रचनाकारको ब्लगबाट सभार)