कविता : तिम्रा यादहरु

~कर्मठ सुवेदी~Karmath Subedi

तिमीलाई भुल्न खोज्नु पनि
बेकार रहेछ,
तिमीजस्तै जिद्घी छन् तिम्रा यादहरु पनि
तिमीलाई भुलेर नयाँ जीवन ज्यूँन चाहन्छु म
तर तिम्रो याद त भुल्न नसक्ने म
तिमीलाई खै कसरी भुँलू ?

त्यसैले अब तिम्रा यादहरु सँगै
प्रेम गर्न थालेँ मैँले,
तिमी मेरी नभए पनि
तिम्रो याद त मेरो आफ्नो हो
तिमीलाई प्रेम गर्ने अधिकार नहुन सक्छ मेरो
तर तिम्रा यादहरु माथि केवल
मेरो अधिकार छ,
अनि मेरो एकान्तको ।

अब तिम्रो झल्को आउने
कुनै चीजसँग पनि प्रेम गर्ने कोसिस गर्दिन म
तिम्रो याद ताजा गर्नु मात्र नै त हो
तर बासी नै कहिले पो हुन्छन् र तिम्रा यादहरु ?
म तिमी बिना बाँच्न नसक्ने होइन
तर तिम्रो याद बिना
जीवन कसरी सम्भव छ ?
म तिमी नहुँदा हाँस्न नसक्ने होइन
तर तिम्रो याद बिना
आँशु कसरी सम्भव छ ?
तिम्रो नाम बिनाको ढुकढुकी नचल्ने होइन
तर तिम्रो याद बिना
साँस फेर्न कसरी सम्भव छ ?

हो, आँशु मैले रोँजे
तर तिमीले हाँसो पनि त दिइनौ
मेरो मुटु म आफैले जलाँए
तर तिमीले शीतलता पनि त दिइनौ
हो, यो मेरो पागलपन हो
तर तिम्रा यादहरु कति कमजोर छन्
मलाई पागल पनि त हुन दिँदैनन् ।

त्यसैले,
म हाँस्छु
म पागल हुन्न
म बाँच्छु
म आँशु पनि बगाउन्न
तर तिम्रा यादहरु,
के तिमी, तिमीसँगै लान सक्छ्यौ ?
के तिमी मेरो अस्तित्व
तिम्रा यादहरु बिना कल्पना गर्न सक्छ्यौ ?

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.