~ओमप्रसाद घायल~
कुनै दिन फुर्सदमा
जब तिमीले पढ्नेछौ मेरो कविताका हरेक अनुच्छेद
त्यति खेर तिमीले आफैं सम्झिनेछौ
मेरो गुज्रिएको वास्तविक जीवनकथा।
रगतको आँसुझरीमा
निथ्रुक्क भिजेर लेखिएका
जिन्दगीका तिनै आल्हादित पंक्तिहरूमा
म बौलाएको हुनेछु धेरैपटक
र हरेक क्षण गरिरहेको हुनेछु अस्वाभाविक आत्महत्या।
तिमीले देख्दा मलाई कसरी देख्यौ थाहा छैन
तिमीले बुझ्दा मलाई कसरी बुझ्यौ त्यो पनि थाहा छैन
तर, परिचितहरूको अपरिचित सम्बन्ध-अनुभूतिमा
मैले धेरैपटक सामना गरेको छु
आफ्नैहरूसँगको घातक युद्ध
र, बेहोरेको छु कयौंपटक अप्राकृतिक पराजय।
प्रिय मित्र,
सपनाहरूको रङ्गशालामा
देख्न त मैले पनि देखेको थिएँ धेरै थरी सपना
र, तिनै नक्कली सपनाको हवाईजहाज चढेर
उडिरहेको थिएँ दिनप्रतिदिन
जीवनको उही नाटकीय आकाशमा…।
तर देखेर पनि कुनै सपनाहरू
रूपान्तरण गर्न सकिँदो रहेनछ विपनामा
र, उडेर कल्पनाको हवाईजहाज
छिचोल्न सकिँदो रहेनछ जीवनको एक कोष यात्रा।
खुसीको बर्खिलापमा जिन्दगीको हरेक पल
यसरी नै हस्ताक्षर गरेको छु मैले
र आत्मसमर्पण गरेको छु भोकसँग।
सायद यही भोकको भुमरीमा
धेरैपटक गरेको छु आफ्नै जिन्दगीको सिकार।
र विवशत् खाएको छु आफ्नै मासुलाई कचकची ….।
कुनै वियोगान्त नाटकको कथाजस्तो
मेरा जिन्दगीका हरेक अध्यायहरू
यसरी नै समाप्त भएका छन्।
फेरि पनि बेकार जिन्दगीको उपसंहारमा
मैले लेखिरहेको छु यतिखेर
सायद एउटा शोककाव्य।
पढेर पनि आफैंलाई पढ्न छुटाएजस्तो
लेखेर पनि आफैंलाई लेख्न छुटाएजस्तो
धेरै अपूरो÷धेरै अधुरो
दर्दनाक अक्षरहरूको वर्णमाला
तिमीलाई छोडेर आएको छु
कुनै दिन फुर्सदमा
जब तिमीले पढ्नेछौ मेरो कविताका हरेक अनुच्छेद
त्यति खेर तिमीले आफैं सम्झिनेछौ
मेरो गुज्रिएको वास्तविक जीवनकथा।
बलेवा, बागलुङ
(स्रोत : अन्नपूर्णपोस्ट)