~दिवाकर स्वप्नील~
छैन आमूल परिवर्तन छादेको
आफुबाट__तिमीसम्म पुगेकै हैन आश्रय माग्न!
जिजीबिषा खोज्दै
मात्र ओकल्छु जीउनुको पिडा !
अलिकति भेटिनुको पिडा
अलिकति छुटिनुको पिडा !
मिलनपछी बिछोड हुन्छ!
भेटिनु पिडा हैन र ?
अलिकति जन्मिनुको उल्लास
अलिकति मर्नुको उत्सव!
मृत्यु उत्सव हुन्छ तिम्रो देशमा?
मैले गरेर मेरो देश बनेको छैन
मैले नगरेर देश बिग्रेको हैन!
कि बिग्रियोस कि त सप्रियोस
अनि पो मज्जा आउँछ
आफु हुनुको आभास !
उफ् यो कस्तो बिडम्बना?
लोकमा हित गर्दै गरिनँ।
तिम्रो पदचालमा अघि सरिनँ ।
कैले आफ्नै लुगा च्यात्दै मध्यरातमा कराउँछु ।
चिथोर्छु के के भन्छु-भित्तालाइ र डराउँछु ।
थाहा छैन,
छिमेकी मलाइ हेर्थे कि निर्वस्त्र तन ?
सान्त्वना दिन्थे कि पागल भन्थे ?
आफैलाइ दारेर चुस्दैचुस्दै
बाँच्छु ।
जीत दाइजो दिएपछी तिमीलाई
हार मेरो साथी, हार मेरो जीवन,
हार मै बाँच्न अभ्यस्त भा’छु ।
तर,
तिमी हाँस्ने कुरामा म दुख्छु ।
जहाँ तिमी दुख्छौ म हाँस्छु !
सायद होला तिम्रो अर्थमा सार्थकता
पागल भनेकै कवि !
म बौलाएको छु र त कवि !
नत्र,
म बुझ्दिन तिम्रो कुरा
चलिरहन्छ छातीभरि छुरा ।
छैन लोकमा राम्रो छवी
फेरी अझै भन्छौ यो कवि !
चारपाने , झापा ।
swapneeldiwakar@gmail.com
(स्रोत : रचनाकारको ब्लगबाट सभार)