~चन्द्रप्रसाद न्यौपाने~
वृन्दावनमा माछामासुका पसल, होटलहरू त्यति पाइँदैनन् । अधिकांश मानिसहरु शाकाहारी देखिन्छन् । राधा र कृष्णको खुवै प्रशंसा हुने वृनदावनका अधिकांश मन्दिरहरु राधाकृष्णकै सम्झनामा स्थापित छन् ।
भारतका तीर्थस्थलको यात्रामा क्रममा इलाहवादको वासपछि हामी सोही नगरको एकाछेउमा पर्ने प्रयागराज त्रिवेणी घाटतर्फ लाग्यौँ । बाह्रै महिना तीर्थालुहरुको घुइँचो लाग्ने प्रयागमा माघ महिनामाचाहिँ विशेष मेला लाग्ने गर्दछ । प्रयागराज गंगा, जमुना र सरस्वती तीन नदीको संगमस्थल हो ।
यहाँ नुहाएपछि पाप पखालिन्छ भन्ने धार्मिक धारणा छ । घाटमा पुग्नेले त्यहीँ नुहाउँछन् र अलिकति जल पिउँछन् । नपुग्नेका लागि त्रिवेणी घाटको जलले सेचन गरे पवित्र हुन्छ भन्ने विश्वासले स-साना प्लाष्टिकका भाँडामा जल लिएर आ-आˆना घरसम्म लाने चलन पनि छ । धर्म त्यही हो जहाँ विश्वास छ । विश्वास अदृश्य हुन्छ । विश्वासभित्र जिन्दगी हिँडेको छ । विश्वासमै धर्ती बचेको छ अनि विश्वासमै सिङ्गो ब्रम्हाण्ड र सृष्टि सिर्जना चलेको छ ।
प्रयागराज त्रिवेणीघाटमा नुहाएपछि हामी किनारामा अवस्थित अक्षयवट पातालपुरीतर्फ लाग्यौँ । यो ठाउँ प्राचीन शाषकहरुको ठूलो दरवारिया कम्पाउण्डभित्र अवस्थित छ । यो प्राचीन शैलीको राजभवन हो । नदीको किनारामा अवस्थित यो ठाउँ हेर्नै लायकको देखिन्छ ।
सन् ६४४ मा एक चिनियाँ यात्री व्हेन साँग यहाँ आइपुगेका रहेछन् । उनले त्यस ठाउँमा आएपछि लेखेका केही कुरा त्यहाँको शिलालेखमा प्रदर्शन गरिएको छ । उनको भनाइअनुसार त्यसबेला त्यहाँ एउटा ठूलो वटवृक्ष थियो । सो रुख आजसम्म रहेको भन्ने भनाइ छ । त्यो ठाउँ जमिनमाथि र जमिनमुनि दुई तला छ । रमाइलो कुरा के छ भने त्यहाको वटवृक्षको आधा भाग तल्लो तलामा र आधा भाग माथिल्लो तलामा रहेको देखिन्छ ।
त्यहाँ लेखिएको एक हरफ यस्तो थियो- ‘प्राचीन इतिहास व चीनी यात्री व्हेनसारा अनुसार अक्षयवट औ दश हात दक्षिण शूलकटेश्वर थे जो भी आज भी हे ।’
चिनियाँ यात्री व्हेन साँगकाअनुसार त्यो प्राचीन राजभवन वादशाह शाह आलमको हो । उनले युद्धमा हारेपछि सो ठाउँ छाडेर अन्यत्र गएका रहेछन् । व्हेनले त्यस ठाउँमा केही समय बसेका र नयाँ अनुसन्धान गरेर हिँडेका रहेछन् । इतिहासअनुसार चिनियाँ यात्री व्हेन साँगले सामो समयसम्म यात्रा गरेको कुरा पाइन्छ । उनी नेपाल पनि आएका थिए । प्रयागराजको किनारामा अवस्थित अक्षयवट पातालपुरीका विषयमा उनले भनेका छन्- ‘यो ठाउँ हिन्दुहरुले टेक्नैपर्ने ठाउँ हो ।’ हामी केहीबेर वटवृक्ष पातालपुरीमा अड्यौँ र कानपुरतर्फ लाग्यौँ ।
इलाहवादबाट कानपुर जाने बाटो पनि त्यतिकै रमणीय छ । भारतको भूमि विशाल छ । नदीहरु सबै जग्गामा पुगेका छैनन् । नहरले पनि सबै जग्गा भिजाउन सकेको छैन । त्यहाँका करोडौँकरोडौँले नदीको अनुहारै देखेका छैनन् होला । भारतका अधिकांश ठाउँहरु नदीविहीन छन् । यतिखेर यातायातको विकास छ, तर प्राचीन भारतका मानिसहरु नदी हेर्नका लागि महिनौ लगाएर घुम्नुपथ्र्यो ।
इलाहवादबाट कानपुरतिर जाने बाटोमा हुइँकिँदै गर्दा मेरा मनमा अनेकन कुराहरु खेल्न थाले । अयोध्याका राम र हस्तिनापुरका कौरव पाण्डवदेखिको इतिहास हामीले पढेका छौँ । त्यतिबेला पानीको अभाव हुने ठाउँका मानिसले देखेभेटेका नदीलाई सम्मान गरे र तीर्थका रुपमा माने । पानीलाई जीवन ठाने । ती-ती ठाउँहरुलाई पवित्र स्थल वा तीर्थको रुपमा विकास विस्तार गर्दै आए । अझ दोभान परेका ठाउँलाई तीर्थकेन्दि्रत गराए । नदीका किनारैकिनार गए र मुहान भेट्टाए अनि ती-ती ठाउँमा ईश्वरको वास रहेको देखे ।
नदीका मुहान भनेको शिखर, हिमालमा हुन्छ । प्रकृतिका विभिन्न कलाले भरिपूर्ण र मनमोहक ! वास्तवमा त्यही ठाउँ नै स्वर्ग हो । जो जल्ले जे कुरा पत्ता लगायो उसलाई मेरो सलाम छ ।
घुम्नेहरुमा केही पढालेखा र जान्नेबुझ्ने हुन्थे र ती ऋषिमुनिका नामले कहलिए । हिन्दुहरुको सारा धार्मिक इतिहास ऋषिमुनिले लेखेका हुन् । ऋषि भनेका प्राचीन कविहरु हुन् । देखेका कुरा कवितामा उतारे । संस्कृत भाषाका अधिकांश प्राचीन ग्रन्थहरु कवितामा लेखिएका छन् । अहिले पनि जानिफकारहरु नै बढी घुमन्ते बनेका छन् । कुनै व्यक्ति घुमन्ते नबनी जानीफकार पनि हुँदैन ।
गुड्दागुड्दै हामी कानपुर प्रवेशक्षेत्रमा पुगिसकेछौ । कानपुर प्रवेशक्षेत्रमा २४ किमि लामो फोर लेनको सुक्खा पुल रहेछ । यो पुल मार्ग विकासको एउटा उदाहरणीय नमुना लाग्यो । यो आकाशे पुल हो । भारतमा बनेका मोटरका बाटाहरु र पुलहरुले जति जग्गा ओगटेका छन्, तिनलाई एकै ठाउँमा जम्मा गर्ने हो भने शायद नेपालको सिङ्गो भूमिजति ओगटेको होला । रेलवेको त कुरै छाडौँ ।
कानपुर शहरको वाईपासबाट गाडी वृन्दावनतर्फ लाग्यो । भरेको हाम्रो वास वृन्न्दावनमा हुनेछ । कानपुरबाट सिकन्दपुर नपुग्दै बीचमा चित्तरौढ आउँछ । चित्तरौढ एउटा ऐतिहासिक गढी पनि हो । नेपालका शाह वंशीय राजाहरुको इतिहासमा चित्तरौढको साइनो जोडिएको छ ।
चित्तरौढबाट नेपाल पसेका भट्टारकहरु नै शाहवंशीय राजखान्दान हुन् । आर्य ऋषिराज भट्टारकको ४३ औँ पुस्ताका राजा कुलमण्डन हुन् । पुस्त्यौली गणनाअनुसार राजा वीरेन्द्र ६६ औँ पुस्तामा आइपुग्छन् । भारताखण्ड अर्थात् भारताकाश भारतबाट देखिने आकाश विशाल थियो । जुन आकाशभित्र नेपाल पनि अटाएका थिए । नेपाल र भारतको धर्म, संस्कार, संस्कृति, रहनसहन वातावरण आदि धेरै कुराले मेल खान्छ । त्यसैले भारतले नेपालप्रति गाड्ने आँखा क्रूर छ । बेलाबेलामा सिमाना मिच्छ ।
हामी चित्तरौढबाट अगाडि बढिसकेका छौँ । सिकन्दा सहरको नजिक छौँ । सिकन्दा शहरको पनि आˆनै कथा छ । अरेबियन मुलुकबाट युद्ध गर्दै भारत आइपुगेका सिकन्दरको नामले बनेको सिकन्दा शहर हो । यही शहरमा सिकन्दरले केही समय शासन गरेका थिए । सिकन्दरबाट सिकन्दा भएको रे ।
सिकन्दरको घोडाको बखान रमाइलो छ । सिकन्दरले चढ्ने घोडा वायुपङ्खी थियो । जस्तोसुकै अप्ठेरोमा पनि ऊ पार गथ्र्यो । खोलाहरु फटकफटक नाघ्थ्यो र सिकन्दरको दिग्विजयको ऊ अस्त्र सावित थियो । भनिन्छ, सिकन्दर भारत आक्रमणमा आउदँा चढेको त्यो घोडा मरेपछि चिन्ताले सिकन्दर पनि मरेका हुन् ।
ठूल्दाजुले र मैले सिकन्दरको बारेमा केही कुरा गर्यौँ र उनको प्रशंसा पनि । ठूल्दाजुलाई इतिहासका बारेमा सामान्य जानकारी छ । उनले मलाई केटाकेटीमा नेपाल र भारतको इतिहासका धेरै कथाहरु सुनाएका थिए । जो आजसम्म पनि मेरो मानसपटलमा ताजै छ । यिनै कथाहरु पनि उनको मुखबाट उहिल्यै सुनेको हुँ । आज सोही ठाउँमा फेरि पुनर्ताजगी भयो मेरा लागि । यतिखेर मलाई माल्दाजुको निकै सम्झना आइराखेको छ । माल्दाजु पनि साथमा भैदिएको भए कति रमाइलो हुन्थ्यो होला । उनलाई महाभारतको कथा मात्रै होइन दर्जनौ धार्मिक ग्रन्थका कथाहरु एक रौँ नबिराई कण्ठ आउँछ ।
तीर्थयात्राको छुट्टै आनन्द छ । मन शान्त छ अनि मीठो आस्था । इलाहवाद, चित्तरौढ, सिकन्दा, कानपुर, आगरा र मथुरा हुँदै हामी वृन्दावन पुगेर वासको तरखरमा लाग्यौँ । वृन्दावनको एउटा धर्मशालामा हाम्रो वास भयो । यस रात पनि गर्मीले ज्यादै सतायो । हामी बसेको धर्मशालामा नुनिलो पानीको धारो थियो । नुहाउँदा पनि जिउमा च्यापच्याप लाग्ने र चिलाउने गथ्र्यो । धर्मशालाको सुताइ उस्तै हो । छिँढीको सिमेण्टको चिसो भुइँमा न हावा छ न सास फेर्ने ठाउँ नै । उकुसमुकुस हुन्थ्यो । दिनभरि गाडीमा गुडेको थकित शरीरलाई भइँमा पल्टाइयो । कतिखेर निदाइयो पत्तै पाइएन । धन्य तीर्थ यात्रा ।
वृन्दावनमा दुई रात बसियो । भोलिपल्ट विहान अर्थात् असार १६ गते वृन्दावनका अनेकन मठ मन्दिरहरु हेरियो । भारतको उत्तर प्रदेशको सबैभन्दा ठूलो श्री रंगनाथको मन्दिर परिसर घुम्दा छुट्टै अनुभूति भएको थियो । यो मन्दिरले ठूलो क्षेत्रफल ओगटेको छ । यहाँ पनि हिन्दु र मुसलमानबीच बेलाबेलामा झडप भइरहने गर्छ ।
वृन्दावन हिन्दुहरुको आस्थाका प्रतिक श्रीकृष्णको प्रशासनिक क्षेत्र हो । श्रीकृष्णको क्रीडा क्षेत्र, कर्मक्षेत्र जे भने पनि यो ठाउँ कृष्णविशेष हो । कृष्णले यहीँ बसेर अनेक लीला रचे । माया प्रेमको अद्वितीय नमूना देखाए । जमुना नदीको तीरमा अवस्थित वृन्दावन मन्दिरैमन्दिर भएको शहर पनि हो । यहाँ साना ठूला गरी ५ हजारभन्दा बढी मठ मन्दिरहरु छन् । सबै मठमन्दिरमा पुग्न घुम्न एकडेड महिना लाग्न सक्दछ ।
आजभन्दा करिब ४५०० वर्ष अगाडिको भारत सभ्यतामा श्रीकृष्ण अत्यन्त चर्चित मानिस थिए । तात्कालीन धार्मिक, साहित्यको अध्ययन गर्दा कृष्ण सर्वश्रेष्ठ सर्वमान्य बन्न सफल भएका देखिन्छन् । त्यो बेलाका श्रीकृष्ण सर्वपुजित थिए भन्ने कुरा त्यहीँका विद्वान्हरुले लेखिदिएका हुन् । भारताकाशमा जन्मिएका महान् व्यक्तिहरुमा श्रीकृष्णको नाम अग्रपंक्तिमा छ या यतिखेरको दक्षिण एशियामा सुनिएका धार्मिक व्यक्तित्वहरुमा गौतम बुद्धभन्दा अगाडि जन्मिएकामा सबैभन्दा नाम चलेका श्रीकृष्ण नै हुन् । उनकै कारणले विशाल महाभारत जन्मन पुग्यो । जुन पुस्तक काव्यविधामा सबैभन्दा बढी श्लोक र कथा भएको आजको विश्वको सर्वश्रेष्ठ र सबैभन्दा ठूलो मानिन्छ । श्रीकृष्णको नाम एक अरबभन्दा बढी मान्छेले लिने गर्छन् । हिन्दुधर्मप्रति विश्वास राख्ने दुनियाँका निम्ति श्रीकृष्ण आस्थाका प्रतिक हुन् । हिन्दु मात्र नभई अन्य धर्मप्रति आस्थावान् व्यक्तिहरुले पनि श्रीकृष्णको नाम खुलेर लिएको पाइन्छ ।
वृन्दावन धार्मिक सहर हो । यहाँ माछामासुका पसल, होटलहरु त्यति पाइँदैनन् । अधिकांश मानिसहरु शाकाहारी देखिन्छन् । राधा र कृष्णको खुवै प्रशंसा हुने वृनदावनका अधिकांश मन्दिरहरु राधाकृष्णकै सम्झनामा स्थापित भएका देखिन्छन् ।
वृन्दावनका मन्दिरमध्ये सबैभन्दा ठूलो मन्दिर श्री रंगनाथजीको मन्दिर हो । हामीले डेड दुई घण्टा लगाएर यस मन्दिरका केही भागको अवलोकन गर्यौँ । यस मन्दिरभित्र ३३ करोड देवीदेवताका मूर्तिहरु राखिएका छन् भनिन्थ्यो । हामीलाई गाइड गर्ने स्थानीय एक पण्डा थिए । मन्दिरका विषयमा उनले निकै गफ छाँटे । मन्दिरभित्र सुनका हात्ती घोडा पलङ आदि भएको कुरा बताए र हामीलाई देखाए पनि । परिसरभित्र धेरै मन्दिरहरु, धर्मशाला, पानीका पोखरी, रंगशाला, ठाउँठाउँमा आकर्षक चोकहरु पनि छन् । सुनको गजुर भएकोे उक्त कलात्मक मन्दिर आकर्षक एवम् मनमोहक देखिन्छ ।
बिहानको खाना खाएपछि हामी आगरातर्फ लाग्यौँ । आगराका बारेमा मैले केटाकेटीमै धेरै कथा सुनेको थिएँ । अकबर वादशाह र बीरबलका रमाइला रमाइला कथाहरु पढिएका थिए । बीरबल ज्यादै बाठा थिए । वीरबल अकबरका प्रधानमन्त्री थिए । ती दुईमा खुवै मिलाप पनि थियो । अकबर मुसलमान थिए भने बीरबल हिन्दु । मुसलमान र हिन्दुबीच सौहार्द्रता थियो ।
हाम्रो आगरा जानुको मुख्य उद्देश्य भनेको ताजमहल हेर्नु हो । विश्वका सात आश्चर्यमध्य ताजमहल पनि एक हो । यसको बनावट चमत्कारित छ । महल वरिपरि आकर्षक उद्यानहरु छन् । यमुना नदीको किनारमा अवस्थित यो महान् वस्तुकलाकृति हो । यो ताजमहल आनन्द लाग्ने ठाउँमा छ । यो महल बन्नुमा एउटा छुट्टै प्रेमकथा छ । प्रेमको साङ्ली छ । प्रेमकै कारण संसारमा आश्चर्यजनक कामहरु हुने गर्छन् । यो महल केवल मुमताजप्रति शाहशाहँले दर्शाएको प्रेम मात्र हेइन संसारका हरेक मानिसको प्रेमको प्रतीक हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले २०१३ सालमा ‘शाहजहाँको इच्छा’ नामक वेजोडको कविता लेखेका छन् । यतिखेर मलाई देवकोटाको कविताले सम्झाइराखेको छ ।
रानी मुमताजको मृत्युको शोकमा राजा शहाबुद्दीन शाहशाहँ शाहजहाँ वादशाह अत्यन्त पीडित भए । उनले रानीको चिहानमा उक्त महल बनाउन लगाएका हुन् । पछि शाहजहाँको लास पनि रानी मुमताजसितै जोडेर राखिएको हो । महलको छिँढीमा शालिकका रुपमा राजारानीको लासलाई लम्पसार पारेर राखिएको छ ।
महलको वनावट आश्चर्यजनक चमत्कारित एवम् तिलस्मी ढङ्गको छ । भनिन्छ, त्यो महल बनाउने कालिगडीका नायकलाई महल बनाइसकेपछि शाहजहाँले पुरस्कार स्वरुप दुवै हात काटिदिएका थिए । जसको कारण यस्तै महल संसारमा अर्को नबनोस् भन्ने थियो । हात काटिनुपूर्व कालीगडीलाई सोधिएको थियो- महल निर्माण कार्यमा केही काम बाँकी छ ? उत्तरमा उनले महलको गजुरमा उक्लेर हथौडा र छिनुले तीनपल्ट ठोकेका थिए रे ! त्यहाँ एउटा सानो छिद्र छ, जुन छिद्रबाट छिरेको पानीको थोपा छिँढीमा रहेको रानीको लासको मुखमा पर्दछ ।
ताजमहल प्रेमको अमिट प्रतिक हो । रानीको मृत्युशोकमा परेका शाहजहाँले ताजमहलको निर्माण गर्न लाउनु पनि एउटा संयोग हो । जुन महल आज संसारका सात आश्चर्यमध्य एक आश्चर्य बन्न पुगेको छ ।
जून ३० का दिन हामी ताजमहल घुम्न पुगेका थियौँ । संयोगवश यस दिन ताजमहल पस्ने सबै ढोकाहरु खुल्ला र निःशुल्क गरिएका थिए । ब्यानरहरुमा लेखिएको थियो- ‘बली शहाबुद्दीन शाहशाहँ शाहजहाँ वादशाह का ३५६ वाँ उर्स मुबारक के मौके पर गेट के समस्त कनवेसर क अिोर से उर्स मुबारक’ । सबैलाई निःशुल्क प्रवेश दिइएको हो । हजारौँ मानिसहरुको लाइन थियो । लाइन पार गरेर भित्र प्रवेश गर्न हामीलाई तीन घण्टाभन्दा पनि बढी समय लागेको थियो । महलको बनावट र सजावट देखेर आश्चर्य त लाग्ने नै थियो तर त्यहाँभित्रको कथाले एउटा छुट्टै अनुभूति गराउँथ्यो । मुस्लिमहरुको पवित्र स्थल ताजमहल र शाहजहाँको आˆनी जीवनसँगिनीप्रतिको अमिट मायाँ प्रेम, धन्य छ ।
(स्रोत : शब्द-संयोजन असोज २०६८ अङ्क ८९ )