~कृष्ण केसी~
समयको बहावसँगै म कति बहन सके वा सकिन त्यो नीलीमालाई सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज बिबाहमा दुबोको माला लगाएर औंठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ । धुलैधुलो, माकुराको जालोले झन्डै छोपिएको अवस्थाको त्यो फोटो कसरी रहन गयो यो खालि घरको भित्तामा थाहा छैन ।
फोटो अगाढी ठिङ्ग उभिएर एक टकले हेरिरहे । छोउँछोउँ लाग्यो अह सकिन । फोटो नजिकै रहेको पुरानो खाटमा थ्याच्च बसेँ । आँखा रसाएर, बिगत मडारिएर फनफनी नाच्न थाल्यो, त्यसै त अप्ठ्यारो कोठा झन् अप्ठ्यारो हुदै गयो । मन थाम्न सकिन । कोठाबाट बाहिरिए र नियाले आफ्नो नामको घर बारी गोठ लगायतका जग्गा जमिनहरु ।
आगनको तुलसीको मठ भत्किएर निसाना पनि थिएन, गोठ पनि भत्किएर भताभुङ्ग भएको थियो, घरै मुनिको मकैबारी उजाड थियो यी सबैले मलाई नै हेरेर खुच्चिङ्ग गरे जस्तो लाग्यो । अट्टाहस हासोमा खिज्याई रहे जस्तो लाग्यो । सकिन आफ्नै घर आँगनमा पनि पलभर अडिन । झल्यास्स सम्झिए आरुबोटे कान्छी भाउजुलाई ।
बारिमुनिको खोल्सापारी खरले छाएको सानो घरमा आफ्ना दुइ टुहुरा छोराहरुलाई लिएर जेनतेन आफ्नो जिविका चलाएर बसेकी थिइन् कान्छी भाउजु । कारगिलको लडाइमा आफ्नो ज्यान गुमाएका कान्छा दाजुको पेन्सनका भरमा आप्mना टुहुरा छोराहरुलाई हुर्काएर बस्थिन । तिनै कान्छी भाउजुले नीलीमाको हात मेरो हातमा थमाइदिएकी थिइन् । बुढा बा र एक्लो छोरामात्र भएको घरमा दुख नहोला त नि भनेर आफ्नो माइती गाउकी नीलीमालाई मेरो घरमा भित्र्याएकी थिइन् ।
विवाहको ६–७ महिना मेलापात, हाँसो ठट्टामा हामी नयाँ जोडी कस्तो रमाएका थिएनौं यो घरमा । वृद्ध बाको सेवाबाहेक हामीसँग के नै जिम्मेवारी थियो र । थियो भने केवल हातमुख जोड्नेको समस्या । लाउँलाउँ र खाउँखाउँ उमेरका दुवै हट्टा–कठ्ठा जोडी कसैको मेला मजुरी गर्दा पनि राम्रैसंग पुग्थ्यो । आरुबोटे कान्छी भाउजु पनि खुसी थिइन् हाम्रो जोडीको घरबार देखेर । कहिलेकाही आउँथिन र अगेनाको छेवैमा बसेर फत्फताउँथिन–
‘हैन यिनीहरुले बच्चा बनाउँदैनन् कि क्या हो’ यो सुनेर निलीमा लाजले रातोपिरो बन्दै सकेजत्तिको मलाई चिमोटेर बाहिरतिर भागी हाल्थिन ।
‘खै भाउजु होलान् नि भगवानले चाहँदाका बखत टारी दिन्थे यस्तै यस्तै भनेर । मानवीय जीवनका भोगाइहरु क्रमिक रुपले भोगिँदै थिए । कहिले खुसी कहिले निरासाका दिनहरु ढुन्मुनिदै आउँथे । सके जति मिलेर बाँड्थ्यांै नसकेकालाई मिलेर पनछाउँथ्यौ । चाहना र आकांक्षाका मिठामिठा कल्पनाहरु कल्पिन्थ्यौ र भबिष्य बुन्थ्यौ एक आपसमा उपयोग गर्ने लालसा राखेर । घरका भित्ताहरू रंगाउथ्यौं सपनाहरूका रंगहरू बटुलेर, ओछ्यानहरू सजाउँथ्यौ आशातित फल प्राप्तिको आकांक्षा लिएर, आँगन सिंगाथ्र्यौं आगन्तुक पाहुनाको क्रिडास्थल सम्झेर ।
दिनहरू बित्दै जान्थे स्वाभाविक क्रमबद्धतामा हामीहरू रम्थ्यौ आफ्नै रोमान्चकतामा । कमरेड हामी आयौं । एक साँझ गाउँ निदाउँदै थियो । चकमन्न अँध्यारोमा एक हूल मानिसहरू हेलिए हाम्रो घरमा । क्रान्ति, समाजवाद, माकर््स. लेनिन, माओ, पुरानो सत्ता,नयाँ सत्ताका लामा लामा भाषण र सपना बाँडे हामी दुबैको रित्ता र चोखा दिमागमा अनि बाध्यकारी निर्णय सुनाइयो ‘एक घर एक सेना’ ।
सुनिरह्यौं, हेरिरह्यौं । त्यो अँध्यारो रातमा पनि टाउकोमा बाँधिएका राता कपडाका सेता अक्षरहरू टल्किरहेका थिए । हतियारका नालहरू चम्किरहेका थिए । बुढोबा खोकिरहनुभएको थियो । छोरा–बुहारीलाई मेरो कोखबाट नछुटाउनु भनेर बिन्ती बिसाएका हातहरू जोडी रहनुभएको थियो । डायरी पल्टियो कमाण्डरको अनि निर्णय सार्वजनिक गरियो । बूढाबाको रेखदेख गर्न कमरेड किरणलाई घरमै राख्ने र कमरेड नीलिमालाई लडाइँको मोर्चामा सामेल गराउने भनेर ।
हिजोसम्मका हाम्रा सपनाहरू निमेषभरमै उडेर भताभुङ्ग हुँदै थिए, आशातित कल्पनाका रोमाञ्चित क्षणहरू बन्दुकका नालहरूमा कैद हुँदै थिए । बाध्यकारी निर्णयहरू गलपासो बनेर घाँटीमा झुन्डिरहेका थिए । विरोध र नाइँनास्ती कमरेडहरूको राता किताबमा छैनन् भन्ने सुन्दै आएको हो । त्यसैले बोल्नुको कुनै अर्थ थिएन ।
पुलुक्क नीलिमाको मुखमा हेरेँ डर र त्रासले निलिमा रातको त्यो अँध्यारोमा पनि कालिमा बनेर टल्किरहेकी थिइन् । खुट्टाको थरथर कमाइले जानुपर्दाको विकल्प खोजिरहेका थिए । सकी नसकी कमाण्डरमा बिन्ती बिसाए । ‘कमरेड देश र जनताका लागि क्रान्तिमा जानु गर्वकै कुरा हो तर निर्णयलाई अलिकति सच्याउन अनुरोध गर्छु यो मानेमा कि निलीमा दुई जिउकि छन् त्यसैले निलिमालाई घरमै छाडेर म जाँदा राम्रो हुने थियो कि ।
यति भन्नासाथ पेस्तोल भिरेकी महिला कमान्डर बोलि हालिन् – ‘कमरेड किरण तपाईंको माग ज्यादै उचित छ । महिलाको स्वास्थ्य र अवस्थाको हामीले विचार नगरे कसले गर्छ । त्यसैले कमरेड चिन्ता नलिनुस् निलिमा कमरेड हाललाई घरमै बस्न सक्नुहुन्छ बरु छिटो तपाइँ आफ्नो तैयारी गरिहाल्नुस । समय समयमा नीलिमालाई भेट्न हामी तपाइलाई पठाई दिनेछौ ।’
यति सुन्नासाथ मैले लामो सास फेरें । उता नीलिमा भने सुक्सुकाउँदै थिइन् । तयारीको बहानामा मैले नीलिमालाई आफूले ढाँट्नु परेको यथार्थबोध गराए र आफू छिट्टै आउने वाचाका साथ बिदाइका हात हल्लाउँदै लागे युद्धको मोर्चामा जहाँको मोर्चामा म र म जस्तै धेरै बाध्यताका लडाकुहरू कैद गरिएका थिए । वरिपरि लालसेना बीचमा म बन्दुकबाट घेरिएको थिएँ, विचारबाट बाँधिएको थिएँ । पछि फर्केर हेरेँ नीलिमालाई उनी शान्त थिइन्, शिर निहुरेको थियो । बूढो बा रोगग्रस्त शरीर लिएर पछिसम्म फत्फताउँदै आइरहनुभयो । मैले सुनिनँ मेरा बाका कारुणिक बिन्तिहरू र सुन्नु पनि थिएन किनकि माया प्रेम र सद्भाव जस्ता आदर्शवादी शब्दहरू अब मेरा लागि केवल सुनिने तर भन्न नसकिने शब्दहरूमा गणना भैसकेका थिए ।
दिनहरू आफ्नै गतिमा बित्दै बर्षमा परिणत भए अहँ मैले निलिमा र बूढो बालाई भेट्न पाइनँ । हरेक पटक गरेका गुनासाहरू निरासामा परिणत हुन्थे । समय समयको पल्टन सरुवामा नयाँनयाँ स्थानका जंगल, झाडी, पहरा र कन्दराहरू टाउको लुकाउने ओत बन्थे । करिब एक बर्षको पारिवारिक बिछोडपछि थाहा पाएँ नीलिमा र मेरो विछोडमा मैले ढाँटेको कुरालाई ठूलो विषय बनाएर कारबाही स्वरुप परिवारसँगको भेटबाट बञ्चित गरिएको रहेछ । जिन्दगीका सबै अपनत्वलाई माइतीको दलानमा बिसाएर अपरिचित पराइसँग जीवनका बाँकी दिनहरूलाई दाउमा राखेर बिताउन बाध्य एउटी कल्कलाउँदी महिला जसले पराइको व्यक्तिसँग भर्खरै आफ्ना भावना, इच्छा र चाहनाहरूलाई एकै चाहनाको कोसेली सम्झेर नफुक्ने गरी गाँठो पारेर कस्दै थिई, प्राप्त प्राकृतिक उपहारलाई माया प्रेमको जाल बनाएर सुन्दर रुप दिएर बुन्दै थिई । त्यस्ती निरपराध, अबोध मेरो आफ्नै जीवनकी हिस्सेदार मेरो आफ्नै नीलिमालाई मेरै आँखाको अगाडि बन्दुक भिराएर कसैको स्वार्थको लागि नपठाउनु के मेरो गल्ति थियो र ?
‘अंकल अंकल तपाई किरण अंकल हो’ भर्खर जुँगाको रेखी ओठमाथि सल्बलाउँदै गरेको पातलो गोरो वर्णको युवक मेरै अगाडि आएर मेरो परिचय सोधीखोजी गर्दा म झसङ्ग भएँ । ‘किन र बाबु मैले त तिमीलाई चिनेन नि ‘आरुबोटे कान्छी भाउजुलाई चिन्नुहुन्छ होला नि’ अँ साँच्चै कान्छी भाउजु कहाँ हुनुहुन्छ । मैले त यहाँ कतै देखिन नि ।’ आश्चर्यचकित भावमा सोध्दा उसका आँखा रसाएर बलिन्द्र धारामा परिणत भैसकेका थिए । माम्री परिसकेको घाउ कोट्याएँछु सायद त्यसैले रुँदै सुक्सुकाउँदै उनी भन्दै गए– ‘अंकल हाम्री आमालाई सुराकीको आरोपमा पुलिसले पक्रेर मारिसके ।
म उहाँको कान्छो छोरो विराज हुँ । ठूलो दाजु धीरजलाई नीलीमा आन्टीले आफ्नो लोग्नेसंग कतारमा नोकरी गर्न पठाउनुभएको छ म घरमा एक्लै बस्न नसकेर बजारतिर बस्ने गरेको छु । नीलीमा आन्टीले आफू जाँदा मलाई तपाईंको बाकस जिम्मा लगाएर जानुभएको छ । किरण अंकल आएपछि बुझाइदिनु बाँकी केही नभन्नु भनेर जानुभएको थियो । वर्षौ भैसक्यो मेरो भेट पनि भएको छैन । सेतो सारीको पहिरनकी कान्छी भाउजु, ती बेलाका नाङ्गै दगुर्न टुहुरा बालक अनि आँखामा राखेर पनि नबिझाउने नीलीमा सबै सबै मेरै आँखा अगाडि नाच्न थाले ।
शरीर शिथिल हँुदै गयो, जमिन भसिएजस्तो लाग्यो, आकास खसेर मैलाई थिचे जस्तो लाग्यो । म रोइरहेँ । उसले हेरिरह्यो । लडाइँको मैदानमा लड्दा थिलथिलो भएर गलेको शरीर मैले थाम्नै सकिन । फर्की आफ्नै घरको दलानमा आएर बसेँ जहाँ नीलीमाले आफ्नो जीवनलाई कसैको जिम्मा लगाएर जाँदा सम्झनास्वरुप राखिएको तस्बिर मात्र झुन्डिएर रहेको थियो । विराज आफ्नो बाटो लागेपछि म थ्याच्च बसेँ । झुण्डिएको निलिमाको फोटोनिर । सम्झिए वर्षौ पहिले मरेकी मेरी आमालाई ।
किताब कापी राख्न हुन्छ भनेर आफूले माइतीबाट ल्याएको बाकस मलाई दिनुभएको थियो । नीलीमासँग विवाह भएपछि मसँग रहेको आमाको त्यही चिनोलाई नीलीमालाई जिम्मा लगाएको थिएँ । त्यो दिन निलिमा सारै खुसी भएकी थिइन् । साँचोसहितको बाकस जिम्मा पाउँदा उनलाई सम्पतीको साँचो पाएको अनुभूति भएको र्थियो ।
विवाहमा लगाइएका आफना लुगालत्ता, विवाहमा खिचिएका तस्बिरहरू र माइतीबाट पाएका अनमोल सम्झनाका चिनोहरू त्यही बाकसमा चाबी लगाएर राख्ने गर्थिन । बिछौनामा पल्टिनुअघि जहिले पनि बाकसलाई खोलेर आफ्ना सामानहरूलाई एकपटक हेर्ने गर्थिन । कति प्यारो थियो त्यो बाकस मेरी निलीमालाई । मानसपटलभरि अतित एक–एक गरी घुम्दै गए । विगत र वर्तमानमा देखिएको खाडलका ठूलाठूला भ्वाङहरूले आफैंलाई तर्साउन थाले अनि सही र गलत के थियो छुट्याउन नसक्दाको परिणामले आफंैलाई बर्साउन थाले । ‘अंकल यी लिनुस् तपाईंको बाकस र साँचो म अहिले लाग्छु पनि भोलि आउँछु र भेटौला ।’ म बसेको छेवैमा निलिमाको बाकस राखिदिएर उनी लागे आफ्नै गन्तव्यतिर ।
बाकस र नीलीमाको तस्बिरलाई पालैसँग हेर्दै गए जतिपटक नीलीमालाई हेर्थेँ त्यति नै पटक नीलीमा मसँग रिसाएर हेरे जस्तो लाग्थ्यो । संयमित भई बाकसलाई खोली हेरेँ । जग्गाको लालपुर्जा, विवाहका तस्बिरहरू, र त्यही विवाहमा लगाइएका हामी दुबैका एक–एक जोर लुगाका साथमा राखिएको चिठ्ठीको बन्दी खामबाहेक केही थिएन । होस् पनि के र जे दिएको थिए ती सबै थिए । डरले काम्दै चिठ्ठीको खामलाई खोलेँ । चिठ्ठी मेरै नाममा झन्डै एक बर्षअगाडि लेखिएको रहेछ जुन चिठीमा यस्तो लेखिएको थियो – मेरो प्राण ! अभागिनी नीलीमाको तर्फबाट धेरै धेरै सम्झना ! सर्वप्रथम माफी चाहन्छु तपाइले जिम्मा लगाएर गएका चिज वस्तुहरू सम्हाल्न नसकेकोमा ।
तपाईं गएपछि बाबा बिरामीले थला पर्नु भयो । उपचार गर्न उपाए पनि भएन । बाध्यता भयो जानीबुझी बुझ पचाउन । थेग्न सक्नु भएन हामीमाथिको बज्रपातलाई रुँदैरुँदै मेरो कोखमा बित्नुभयो । पराइकी नै सही यो घरमा छोरीको दर्ज दिनुभएको थियो । बाबा बित्दा सिंगो गाउँ पुरुषविहिन थियो । सक्ने लडाइँको मैदानमा थिए बाँकी सबै खाडी मुलुक भासिएका थिए । त्यो कठिन परिस्थितिमा पनि बाबाको अन्तिम दाहसंस्कार मेरै हातबाट दागबत्ती दिएर गरे यसलाई अन्यथा नसोच्नुहोला ।
पत्र पढ्दै थिएँ, आँखाले बोझ थेग्न सकेन कायरता देखाइहाल्यो । आँसु चुहिएर पत्रलाई भिजाउँदै जान्थ्यो । पत्रमा केवल शब्दहरू थिए । वास्तविक यथार्थता उनीमा थिए । भित्तामा झुण्डिएको उनको तस्बिर पत्रको साक्षी थियो, वातावरण शून्य स्तब्ध थियो । पुनः दोहो¥याएर सुरुबाटै पढेँ जहाँ एउटी महिलाका परिस्थितिजन्य बाध्यता र अप्ठ्याराहरू विवशतामा जकडिएका थिए ।
मेरो राजा, कोसिस मैले सबै गरेको हो, तपाईंको आगमनको प्रतिक्षाका लागि । गलत र सही, राम्रो र नराम्रो केहीको प्रवाह नगरी माइतिको आँगनमा स्वतन्त्रतापूर्वक खेलेर हुर्किएकी एउटी नारी कसैको बाहुपासमा बाँधिएपछि जीवन अन्जानमै भारी बन्दो रहेछ । ती सबै भारीका पहाडहरूलाई सुस्तसुस्त बिसाउँदै जाँदा पराइको मान्छे पनि आफ्नो बन्दो रहेछ ।
कसैको देखेर,अलिकन सुनेर भए पनि केहि कुरा पचाइँदो रहेछ । त्यसैले त होला विवाहमा लगाएको रातो साडी पनि फाट्न नपाउँदै पराइ पनि आफ्नो सबैभन्दा नजिकको बन्दो रहेछ । पत्रलाई अगाडि बढाउनै सकिनँ जुरुक्क उठेर नीलीमाको तस्बिरलाइ सुम्सुमाएँ अनि चिच्चाउँदै भनें– मेरी नीलीमा तिमी महान हौ, मैले तिम्रो भावनाको कदर गर्न जानिनँ, सक्छ्यौ भने मेरो सामू आएर मलाई माफी दmेउ । म तिम्रो जिन्दगीसँग खेलवाड गर्ने नामर्द पुरुष हुँ । बफादारिताको चंगुलमा फसेर तिमी जस्तै अनगिन्ति नारीहरूको स्थितिको वास्तविकता बोध गर्न नसकेकोमा मलाई क्षमा देऊ ।
भन्न त धेरै लागेको थियो तर त्यहाँ सुनिदिने कोहि थिएन । पत्रलाई फेरि पढ्दै गएँ । लेखिएको थियो – एउटी नारी यौवनाताले भरिएपछि धन–दौलत, सम्पत्तिको सीमित घेराभित्र मात्र बाँधिन नसक्दो रहिछ । उमेरको विकाससँगै आमा बन्ने तृप्त अभिलाषाले जतिखेर पनि गिजोलिराख्दो रहेछ, त्यसैले पनि होला मैले तपाईंको प्रतीक्षा गर्न सकिन ।
मैले तपाई गएपछि देखें– रंगरोगन र मर्मत सम्भार गर्न नसकेपछि बस्ने घर पनि भुतबंगला बन्दो रहेछ अनि देखेँ पाखुराका बलले नखोर्सिँदासम्म खेतबारी पनि उजाड उजाड बन्दो रहेछ । जसरी घरलाई सुन्दर बनाउन रंगरोगन र मर्मत सम्भारको, अनि हराभरा बनाउन खेताबारीलाई श्रम र पसिनाको आवश्यकता छ, त्यसैगरी हाम्रो जीवन सुन्दर बनाउन पनि हामी दुईको आवश्यकता छ भनेर तपाईंले बुझ्न सक्नु भएन । यौवनताले भरिएको मेरो यो शरीरलाई कहिलेसम्म तपाईंको प्रतिक्षामा फकाइरहन सक्थेँ र सकिन । त्यसैले पनि म बाध्य भएँ जिन्दगीका अगाडिका बाटो पहिल्याउनमा, क्षमा चाहन्छु ।
मेरो यो अवस्था र समयलाई थेग्न बाँधको आवश्यकता महसुस गरेँ । यसो भनेर तपाईंको बाध्यता र विवशतालाई मैले अबमूल्यन गरेको नठान्नुहोला । यहाँ मेरो मन भुलाउने बाटो नै केही रहेन ।
बाबा बित्नु भयो मेरो कोखमा, कान्छी दिदी पनि खोसिनुभयो मेरै आँखाका अगाडि । अब आफंै भन्नुस् म कसरी के को आशामा बसुँ । त्यसैले मेरो राजा नचाहेर पनि म जान बाध्य भएँ । फेरि अर्को नयाँ जिन्दगी सुरुवातका लागि । तपाईंको चिनो बाकस भतिज विराजको जिम्मा लगाएकी छु । तपाईंको बाँकी जीवन पनि सुन्दर तरिकाले बिताउनु होला ।
पत्रको अन्त्य भएको थिएन । सायद मुटुभित्र गाँठो परेर बसेका अनगिन्ति वेदनाका छालहरू लेख्नु थियो । नलेखिएकोमा नै मैले राम्रो ठानँे किनकि लेखिएका भावनाहरूको न मैले सम्मान गर्नसक्थेँ न त समाधान । शारीरिक रुपमा म अपाङ्ग थिए भने मानसिक रुपले म विक्षिप्त थिएँ । १० वर्षसम्म राज्य पक्षसँग लड्दा देखेका सपनाहरू सबै भताभुङ्ग भएर गइसकेका थिए ।
अपाङ्ग लडाकुको नाममा दुई लाखको चेकमा मेरो विगत र वर्तमानको मूल्यांकन गरिएको थियो । आफूसँग रहेको दुई लाखको चेकलाई निकालेर हेरिरहेँ न त्यहाँ मेरो बा हुनुहुन्थ्यो न मेरो जीवनलाई चलायमान बनाउने मेरी नीलीमा थिइन् । पत्रलाई सम्हालेर राखे आउँदा दिनको बाटो सम्झेर र सलाम गरेँ मेरी नीलीमाको उच्च भावनालाई ।
भित्तामा झुण्डिएर रहेको नीलीमाको तस्बिरलाई मनभित्रको आँचल निकालेर पुछेँ अनि सजाएँ छातीभित्रको मुटुरुपी फ्रेममा कहिल्यै कहिल्यै दाग नलाग्ने गरेर…।
(स्रोत : श्री रुपरेखा)