~अनुपम रोशी~
यहिनेर,
समयको एउटा भित्तामा लेखिदेउ
शताब्दीको यो अन्तिम युद्ध
किनकी तिम्रो मुठ्ठीमा पनि
टिक्ने छैन यो बलवान समय
एउटा साँझ सकिएर अर्को सूर्य उदाएको दिन
तिमीलाई पछार्दै तिम्रो मुठ्ठीबाट फुस्केर
समय आफै मुस्कुराउने छ
रगतले तिर्खा मेटिन्न भने
हावाले पेट भरिन्न भने
कसरी भरिन्छ सपनाले मात्र जीवन
कसरी मुस्कुराउछ दुखमा मात्रै मान्छे
एउटा अव्यवस्थित मुलुकको
समाजिक धरातलमा उभिएर
अनुभव गरिरहेछु स्वतन्त्रताको नौलो दमनतन्त्र
हुन सक्छ तिम्रो दृष्टीमा अझै जीतका सम्वेगहरु छन् ।
हुनसक्छ तिम्रो सपनामा अझै भ्रामक समर्थनहरु छन्
यथार्थमा
साझा सपनाको अन्त्य पोखिएको छ ।
ति शंकाग्रस्त मस्तिष्कले हेर्ने तृस्कार पोेखिएको छ ।
हो, आकाशमा ताराहरु चम्कि रहेकैछन्
यथावस्थामा जून र घाम पनि उदाइ रहेकैछन ।
फेरि पनि आकाशलाई रित्तो देख्छु म
जसरी क्रान्ति, सिद्धान्त र उच्च आदर्शको उपस्थिीतिमा
खाली लागीरहेको छ समयको गति
खाली लागीरहेको छ
जीवनलाई न्यायको जगमाथि उभ्याउने
ति राजनैतिक एजेन्डाहरु ।
भो, नदेखाउ ति रंगिन सपनाहरु अब
उः प..र..
धमिलो क्षितजतिर उड्दैछन्
जित्नुको नाममा हामीले हारेका
सपनाका रंगिन पुतलीहरु
पराजयको चितामा सुतीसकेको चेतनालाई ब्यूझाएर
आफ्नै योग्यताको परिचय खोज्न अब म जान सक्दिन
न उठेर जान सक्नेछन् फेरि युद्ध मैदान
सपनाको मृत्युमा शोकाकुल यी योद्धाहरु
यहिनेर
समयको एउटा कुनामा पुरीदेउँ
ति अनगिन्ती मान्छेको मृत्यु
रोपीदेऊ एउटा बोधीचित्त
तिमीले सहिद बनाउदैमा सहिद हुदैन यो बलवान समय
एउटा साँझ सकिएर अर्को सूर्य उदाएको दिन
तिमीलाई पछार्दै, तिम्रो मुठ्ठीबाट फुस्केर
समय आफै मुस्कुराउने छ ।
(स्रोत : Nayasamachar.com)