~भुषण श्रेष्ठ~
छात्तीभित्र मुटु मेरो ढुक्ढुकी चैँ तिम्रो ।
कति जाती हुन्थ्यो होला दिल मिले हाम्रो ।
परेलीमा आई बस उधारेर ढोका
त्यहीँबाट निँयालुँ म तिम्रा सारा शोभा
आँखाभित्र सागर मेरो गहिराइ चैँ तिम्रो
कति जाती हुन्थ्यो होला दिल मिले हाम्रो ।
मुटुभित्रै आई बस चिरेर छाती
त्यहीँ सधैं अंगालुँ म यही मायाले बाँधी
फूूलभित्र सुवास मेरो सौन्दर्य चैँ तिम्रो
कति जाती हुन्थ्यो होला दिल मिले हाम्रो ।
हृदयमा आई बस फुकाएर मन
त्यहीँ मात्रै पाउँछु म तिम्रो समर्पण
तिमीभित्र माया मेरो मभित्र चैँ तिम्रो
कति जाती हुन्थ्यो होला दिल मिले हाम्रो ।
-धनकुटा
(स्रोत : शब्द-संयोजन जेष्ठ २०६८, अङ्क ८५ )
यो गीत मलाई निक्कै मनले खायो. मैले यो गीत लै कोम्पोज गर्ने निधो गरि यसलाई सुहाउदो कर्ण प्रिये धुन पनि निकालेको छु . अब मा गीतकार को स्वीकृतिको लागि हार्दिक बिनम्र गर्दछु कि यो गीत लाई संगीत भरि रेकोर्ड गर्न सक्छु होला?
सादर धन्यवाद का साथ्.
रुपक कुमार
रुपक कुमार ज्यू,
श्रीमती भुषण श्रेष्ठ नेपालको इतिहासमा पहिलो महिला उपकुलपतिको रुपमा सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्छ । वहाँको सम्पर्क ठेगाना हामीसँग नभएकोले दिन असमर्थ भयौं तर भेट्टाएको खण्डमा पक्कै पनि तपाईंसँग बाँड्ने छौं ।
– आविष्कार
साहित्य संग्रहालय