कविता : मेरो प्यारो गाउँ

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

स्वच्छ हिमालको पंति, देखिएको सिरानमा ।
हरियाली सबै तर्फ, बसेको हिमकाखमा ।।
स्वच्छ निर्मल ती खोला, बगेका कल्कलाउँदै ।
हिमाली सिर्सिरे हावा, बगेको बहलाउँदै ।। १ ।।

पहाड ती रमाईला, सेतो हिमालको मुनि ।
बगेका छन् नदी नाला, सिँच्दै धर्ती कयौं जुनी ।।
रमेका वनका जन्तु, पाई प्रकृति बास यो ।
नडर्राई घुमेका छन् डर भागेछ दूर त्यो ।। २ ।।

यही प्रकृतिको माझ, बस्ती सानो मनोहर ।
छरिएका सबै तर्फ साना ती खरका घर ।।
सादा, स्वच्छ सबै मान्छे, हँसिला छन् सधै भर ।
लाग्छ र्स्वर्ग यही नै हो, घुमी हेर्दा सबैतिर ।। ३ ।।

इन्द्रेणीले दियो रंग, हिमालले दियो धुरी ।
निर्मलता नदी दिन्छिन्, दिन्छ वासन कस्तुरी ।।
मयूरको परी नाँच, झरनाको मिठो धुनी ।
गीत भर्छन् चरा सारा, सँगै बसी जुनी जुनी ।। ४ ।।

वसन्तले दिने सज्जा, गृष्ममा झन् निखारियो ।
धूलो, मैलो, हिलो सारा, बर्षाले नै पखालियो ।।
शरद ऋतुकी रानी, सबै सफा भई बसे ।
दशैं, तिहार ती आई, रंग अझै नयाँ घसे ।। ५ ।।

रमाईलो जता जाउँ, उमंग छ मनै भरी ।
मिठो पापा, नयाँ नाना, सबै तर्फखुसी छरी ।।
दुःख, पीडा सबै भाग्यो, हँसिला छन् सबैजना ।
खुसीयाली सधैँ छाओस्, यहि छ शुभकामना ।। ६ ।।

डा. हेमनाथ घिमिरे
बाहुन डाँडा, लमजुङ् ।

(स्रोत : Elamjung.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.