~द्वारिका नेपाल~
पटक पटक आफ्ना गालाहरूमा
रालोको थप्पड खाएर
वर्षौँदेखि चिच्याइरहेछ
मन्दिरको एउटा घण्ट ।
हरेक दिन एकाबिहानै
पुजारी आउँछन्
र
राति पूरा हुन नसकेका सपनाहरूलाई
साक्षी राखेर
मन्दिरभित्र र मन्दिरबाहिरका
देवताहरूलाई ब्युँझाउन
जोडजोडले बजाउँछन् घण्टका गाला,
एकैछिनमा देखिन्छ
घण्टप्रेमी भक्तहरूको भीड,
सकीनसकी हल्लाएको रालोबाट निस्कने
मधुर आवाजमा सन्तुष्ट छिन् एउटी वृद्धा,
ऋण गरेर विदेश गएको छोरोले
रेमिट्यान्स नपठाएपछि
देवतासँग गुनासो पोख्दै
घण्ट बजाउँछ एउटा लाचार बाउ,
कर्जाको पैसा जोगाएर
देवतालाई चढाउन आएको एउटा गरिब
त्यही घण्ट बजाएर सम्पन्नताको भीख माग्छ,
स्कुलको घण्टीलाई झुक्याउँदै
नायक नायिकासँग प्रतिस्पर्धा गरेर
सिनेमालोकको प्रेम आफूमा आरोपण गर्ने
एक जोडी स्कुले विद्यार्थी
लामो समय घण्ट बजाएर
आफ्नो प्रेमको दीर्घायु चाहन्छ,
पूजाका लागि लाइनमा उभिएका भक्तहरूको
गहना र खल्ती नियाल्दै एउटा पाकेटमार
आफ्नो पेसाको सुरक्षाका लागि
मूर्तीलाई घुस खुवाएर घण्ट बजाउँछ,
एउटा बेरोजगार केटो
विशिष्ट श्रेणीको मार्कसिटले
जागिर नपाएको झोकमा
रालोले जोडले पिट्छ हाकिमको गालामा
र सन्तुष्टिको लामो सुस्केरा हाल्छ,
डेटिड•बाट हतारहतार परीक्षा हलमा छिरेर
केही लेख्न नसकेकी एउटी छात्रा
रिजल्टको अघिल्लो दिन
प्रेमीलाई मायाले सुमसुम्याए झैँ
सुस्तरी बजाउँछे त्यही घण्ट,
एउटा किसान
समयमै मलजलको आस गरेर
घण्ट बजाएर सुनाउँछ आफ्नो गुनासो,
बजारिया व्यापारी
नाफाको प्रतिशत बढाउने बिन्तीको दक्षिणा चढाउँदै
घण्टको स्वरमा स्वर मिलाएर चिच्याउँछ,
बिचरो ! मन्दिरको घण्ट
कयौँ रहरहरूको साक्षी बस्दाबस्दै
आफ्नै रहर मारेर बजिरहेछ निरन्तर ,
ठूलो स्वरले हल्ला गर्न सक्ने भएर पनि
साइकलमा उल्टो यात्रा गर्ने विकासे कुखुरा झैँ
उल्टो झुण्डिएर उल्टो दुनियाँ देखिरहे पनि
सबैको प्रिय बनिरहेछ ,
बज्दाबज्दै अनेकौँ पटक सोच्दो हो घण्ट
जसलाई सुनाउन ऊ वर्षौँदेखि बजिरहेछ
सन्देशबाहक भएर कटवाल कराइरहेछ
पत्थर हृदय पगाल्न क्रन्दन गरिरहेछ
जसको सुरक्षाका लागि चौकिदारी गरिरहेछ
उही ईश्वर आएर
रालोको थप्पडले रन्थनिएका उसका गाला
किन सुम्सुम्याएन अहिलेसम्म ?
हनुमानढोका नजिकैको
एउटा ठूलो घण्ट योजना बनाउँदै छ
आफ्नै नेतृत्वमा
सारा मन्दिरका घण्टहरू जम्मा भएर
एउटा पार्टी खोले भने
चोकमा टायर बाल्न थाले भने
जिन्दावाद र मुर्दावादका नारा लाउन थाले भने
घण्टहरूको विरोध थेग्न नसकेर
हरेक मन्दिरका ईश्वरहरू,ईश्वरीहरू
घोप्टिँदै आउनुपर्छ सडकमा
र माफी माग्नुपर्छ घण्टहरूसँग ,
पटक पटक आफ्ना गालाहरूमा
रालोको थप्पड खाएर
वर्षौँदेखि चिच्याइरहेछ
मन्दिरको एउटा घण्ट ।
द्वारिका नेपाल
भरतपुर-१०, चितवन
(स्रोत : Malayanepal.net)